२५६३ औं बुद्ध जयन्ती र लुम्बिनी भ्रमण बर्ष उद्घाटनका अवसरमा लुम्विनीमा बिशेष तयारी गरिएको छ । बुद्धजयन्ती भोलि मुल समारोह आयोजना गरी मनाइने भएपनि लुम्विनीमा आजदेखि नै बिशेष कार्यक्रम हुँदैछ । सरसफाई रंगरोगन लगायतका कार्य सम्पन्न भईसकेका छन । मायादेवी मन्दिरमा शुक्रबारदेखि ३ दिनसम्म बिशेष पुजा गरिँदैछ । त्यस्तै लुम्विनीस्थित बिभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन । यसपटकको बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको पनि औपचारिक शुभारम्भ गरिँदै छ ।
बुद्धजयन्तीका अवसरमा भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी भोलि बिहान लुम्विनी आउने कार्यक्रम तय भएको लुम्विनी बिकास कोषका निमित्त सचिव तथा योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।
लुम्बिनी भ्रमण वर्ष उद्घाटन मूल समारोह शनिवार भए पनि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार नै लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली लुम्विनी आएपश्चात राजा शुद्धोधनको दरबारमा रहेको कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रमा अवलोकन गर्न जाने भट्टराईले जानकारी दिए । प्रधानमन्त्री साँझ लुम्बिनीमै फर्केर दीप प्रज्वलन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती र लुम्विनी भ्रमण वर्ष उदघाटनको अघिल्लिो दिन आज लुम्विनीमा सुजाता खीर उत्सव हुँदै छ ।
जेठ ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइने कार्यक्रम रहेको छ । सुजाता खीर उत्सवका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ छुट्याएको छ ।
लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा बनाएको छ । १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरिएकामा त्यो रकम अपुग भएकाले ८ लाख थप गरी साढे १८ लाखमा अग्लो राष्ट्रिय झण्डा बनाइएको र भोलि त्यसको पनि उदघाटन गरिने लुम्निी भ्रमण वर्षका सचिवालयका सदस्य सचिव टुकराज पाण्डेले जानकारी दिए ।
लुम्विनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।