प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरणमा रोक लगाइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । बिहीवार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मधेसीलाई नागरिकता वितरणमा सुनयोजित रुपले रोक लगाएको भन्दै आक्रोश पोखे ।
बैठकको विशेष समयमा बोल्दै राजपा सांसद उपेन्द्र महतोले मुलुकमा नागरिकताको विषय उठदा जहिलेपनि मधेसीलाई भारतीय भनेर अपहेलना गरिएकोप्रति आपत्ति जनाए । ‘हामीले नागरिकता दोस्रो देश भारतीय वा अन्य देशका व्यक्तिकालागि कहिल्यै मागेको होइन तर सबै नेपालीले नागरिकता पाउनुपर्छ,’ उनले भने, ‘हाम्रो अनुहार भारतीयसँग मिल्छ भने हाम्रो के दोष ? कसैको अनुहार चीनसँग पनि मिल्छ हामी केही भन्दैनो तर हामीलाई होच्याइन्छ ।’ जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिन कहिले गृह मन्त्रालय त कहिले अदालतले रोक लगाउने निर्णय गर्दै आएकाले भन्दै उनले नागरिरकता बारे गृहमन्त्रालय र न्यायालयबीच सेटिङ्ग भएको आरोप लगाए ।
सांसद महताले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका मधेसीहरुलाई भारतीय भनेर समाजिक सदभाग भडकाउन खोजेको भन्दै समाजिक सदभाव विगार्न खोज्ने जोकोहीलाई अबिलम्ब कारबाहीको माग गरे । सदनमा उठाएका प्रश्नहरुको सरकारको तर्फबाट कहिल्यै जवाफ नआएकोप्रति सरकारलाई ध्यानाकर्ष गराउँदै यस्ता प्रवृति अन्त गर्न सरकारलाई सुझाव दिए । ‘सदनमा हामीले प्रशन उठाउँदा केही भएको छ ? आजसम्म कुनै प्रश्नको सामाधान हुन सकेको छैन यो परम्परा अन्त हुनुपर्छ,’उनले थपे ।
राजपाकी अर्की सांसद रानी शर्मा तिवारीले मधेसीलाई नागरिकता वितरण गर्दा विहारीलाई नागरिकता दिइएको भनेर अफवाह फैलाइएको भन्दै भारतीयलाई नागरिकता वितरण गर्ने व्यक्तिमाथि कार्वाहीको माग गरिन् । ‘भारतीय नागरिकलाई नागरिकता दिने व्यक्ति को थिए ? उनलाई कार्वाही किन गरिएन,’ उनले प्रश्न गरिन । सांसद तिवारीले पनि सदनमा उठाएका कुरा सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरिन् ।
जनकपुर–भिड्ढमोड सडकखण्डमा गुणस्तरहीन काम भैरहेको विषयमा सदनमा चार पटक कुरा उठाइ सकेपनि अहिलेसम्म प्रदेश सरकारले किन जवाफ नदिएको उनको प्रश्न थियो । ‘ओभरसियरले गुणस्तरहीन काम भएको कुरा उठाउँदा उनलाई दुव्र्यवहार गरियो, धुलोबाट बच्न सडकमा सधैँ पानी छर्किनुपर्ने भनेर सम्झौता भएपनि धुलो ज्युकोत्यु छ,’ उनले भनिन् । महिलाहरुकालागि अगामी बजेटबाट सरकारले प्रदेशको हरेक जिल्लामा सेफ हाउस निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले सदनमा घोचपेचको ठाउँले सकरात्मक मुद्दालाई बाहिर धकेलेको भन्दै सदनलाई ध्यानाकर्षण गराए । सदन सुचारु गर्न सरकार र प्रतिपक्षबीच भएको सहमतीलाई सत्तापक्षका सांसदहरुले अपव्याख्या गरेको उनले आरोप लगाए ।
सांसद चौधरीले तीनवटा मुख्य मुद्दा जनता आवास, विपी उद्यान र बजेट संशोधन गर्न सदन अबरुद्ध गरिएको बताउँदै यी मुद्दाबारे भएको भद्र सहमती कार्यन्वयन नभएपछिे बाध्य भएर सदन अवरुद्ध गर्नु परेको तर्क गरे । उनले सत्तापक्षकै सांदहरुले करोडौँको योजना दिन सहमती भएपछि सदन सुचारु भएको भनी गरेको टिप्पणीप्रति लक्षित गदै निर्वाचन क्षेत्रमा एक अर्वको बजेट जाँदा उनीहरुलाई नपचको टिप्पणी गरे । ‘सत्तापक्षले उपभोक्ता समिती गठन गरि बाँडेकै रकमबाट अनियमतिता भयो र अहिले तीन जना जेलमा छन् यसबारे पनि सत्तापक्षले बोल्नुपर्छ,’ उनले भने ।
यस्तै नेकपा सांसद डिल्ली प्रसाद उप्रेतीले राष्ट्रिय गौरबका योजना निजगढ अन्तरराष्ट्रिय विमानस्थालबारे परिचालित व्यक्तिहरुले नकारात्मक टिकाटिप्पणी गर्दै आइरहेकाले प्रदेशसभाबाट समिती गठन गरी डिपीआर अध्ययन गर्नुपर्ने बताए । उनले समृद्ध प्रदेश बनाउन सुनकोशी मरिनडाइभर्सबारे दुइ र तीन नम्बर प्रदेश दुबै मिलेर समन्वय गरी अघि बढ्नुपर्ने बताए ।
नेकपा सांसद मोची लुङ्गेलीले प्रदेश २ का राष्ट्रिय गौरवको आयोजना बर्दिवासदेखि सिमरादेखिको योजना द्रुत गतिमा चलेपनि किसानले पाउने मुआब्जाको मुल्याङकन अत्यन्त कम गरिएकोप्रति आपत्ति जनाइन् । न्युन मुआब्जा वितरणले किसानहरु मारमा परेकाले उचित मुल्यांकनकालागि संघीय सरकारलाई उनले ध्यानाकर्षण गराएकी थिइन् ।
समाजवादी पार्टीकी सांसद करिमा बेगमले एभी न्युज टेलिभिजनका पत्रकारले कार्यक्रममा उपेन्द्र यादवसँग अशिष्टताका साथ कुरा गरेपछि केही वीरगंज कार्यालयमा भएको तोडफोडमा हिरासतमा लिइएका व्यक्तिहरुको संलग्ता नरहेको दावी गरिन् । ‘विरगंजमा केही केटाहरुले तोडफोड गरेपछि वडाध्यक्ष लगायत ६ जनाविरुद्ध मुद्दा लगाइएको छ ती मुद्दा फिर्ता नलिए त्याहाँका युवाहरु आन्दोलनमा उत्रिने छ,’ उनले भनिन्, ‘ उनीहरुमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिनुपर्छ । ’
राजपा सांसद बाबुलाल साहले बाढीको बखत बागमती र लालबकैया नदीले रौतहट उच्च जोखिममा रहेकाले रौतहट, सर्लाही बारा पर्सा जोड्ने पुल निर्माणमा तिब्रता दिन संघीय सरकारलाई ध्यानाकर्षण गराए । उनले वर्षायामको बेलाकालागि विपद व्यवस्थापनकालागि तयार भएर बस्नुपर्ने आवश्यक्ता औल्याए ।