रुपन्देहीको शंकरपुर नाकामा बिहीबार साँझ गोली चलेको छ ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । ‘प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए’, डीएसपी भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’
प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। प्रहरी स्रोतका अनुसार उनी भारत महाराजगंज जिल्ला फरेन्दाका झिनाउ धोबी हुन्। उनी हतियार कारोबारी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते भने पक्राउ परेका धोबीका भतिज दिलिप धोवी भएको दावी गरिएको छ । प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ ।