अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
विशेष अदालतको आदेशअनुसार उनी धरौटी बुझाएर छुटेका हुन् । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी आज विशेष अदालतमा उपस्थित भएका थिए ।
७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले पाठकविरुद्ध गत चैत १२ मा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।उनीमाथिको आरोप भने किनारा लागेको छैन। थुनामुक्त भएका पाठकले अब भने बाहिरै बसेर आफूमाथिको आरोपको प्रतिवाद गर्नुपर्नेछ।उनीसँगै प्रतिवादी बनाइएका नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपाने भने हाल फरार छन्।
पाठकमाथि भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेकाे छ ।पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।