प्रदेश २ को प्रदेशसभा बैठकमा सरकार र प्रतिपक्षबीच भएको सहमतीबारे पुनः चर्चा पाएको छ ।
बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा सांसद सुन्दर बहादुर विश्वकर्माले सरकार र प्रतिपक्षीबीच भएको सहमतीबारे सदन सुचारु भइसकेपछि विभिन्न तरिकाबाट गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाए । ‘के जिम्मेवार प्रतिपक्षीको काम सधैँ सदन अबरुद्ध गर्ने हो त ? सरकारको आफ्नै काम छ हाम्रो पनि आफ्नै काम’, उनले भने ।
विश्वकर्माले प्रदेशको बजेट खर्च न्युन रहेकाले यसमा गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताए । उनले सरकारले सांसदलाई योजना दिएर १ अर्ब रुपैँया फ्रिज हुनबाट जोगिएको भन्दै अब प्रत्येक सांसदलाई रु.२/२ करोडको योजना दिई रु.दुइ अर्बको बजेट फ्रिज हुननदिन सुझाव दिए ।
नेपाली काँग्रेसका प्रदेसभा सदस्य शेख रसिद अलीले प्रदेश सरकार असफल भएको आरोप लगाए । सरकार चलाउने तरिका विल्कुलै गलत रहेकाले सतारुढ दल पनि सरकार विरुद्धमा उभेको भन्दै उनले सरकार असफल भइसकेको दावी गरे । ‘सरकार गठन भएको १५ महिना पुग्न लाग्यो तर प्रदेशको नाम के हुने राजधानी कहाँ हुने तोकिएको छैन,’ उनले भने, ‘अब यीनीहरुलाई सरकारमा बसिरहने कुनै हक छैन् ।’
अन्य प्रदेशभन्दा प्रदेश २ मा शिक्षाको स्तर निकै कमजोर रहेपनि यसकालािग प्रदेश सरकारले कुनै कदम उठाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । ‘शिक्षको स्तर कमजोर रहेकाले मानव सूचाकांकमा प्रदेश २ अन्य सबै प्रदेशभन्दा पछाडी छ,’ उनले भने ‘प्रदेशमा जति मन्त्री छन सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढुन अनि मात्र सरकारी विद्यालयको स्तरमा सुधार आउँछ ।’
विपी कोइराला सारा नेपालीकालागि जिवनभर लडाइ लडेको भन्दै उनले विपी कोइरालालाई कुनै पार्टी वा धर्मको भन्न नहुने बताए । गजेन्द्र नरायण सिंहको विरोध पनि संघीयताको विरोध गर्नु रहेको उनको भनाई थियो ।
सत्तारुढ राजपाका प्रदेशसभा सदस्य बाबुलाल साहले सरकारले प्रतिपक्षीसँग गरेको भद्र सहमती किन कार्यन्वयन नगरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई घेरे । ‘सरकार र प्रतिपक्षीबीच भएको भद्र सहमती किन कार्यन्वयन भएन, मुख्यमन्त्री आज आफ्ना गल्ती स्वीकार गर्दै छन, सब कुरा जानकारी हुँदाहुँदै किन अघि बढ्नुभयो’, उनले प्रश्न गरे । सरकार गठन भएकोे १४ महिना वितिसक्दा समेत परिपक्वता नदेखाएको सांसद साहले आरोप लगाए । सरकार नीरिह भएर जनता आवास कार्यक्रममा प्रतिपक्षलाई समावेश गराएको उनको आरोप थियो ।
समाजवादी पार्टीका प्रदेशसभा सांसद पारस प्रसाद साहले सांसदहरु प्रदेश २ का प्रतिनिधीको रुपमा आएकाले कसैको दोष लगाउनुभन्दा यर्थात बुझ्न आग्रह गरे । जनता आवास कार्यक्रममा प्रतिपक्षीलाई समेत सहभागी भएर सरकार नीरिह रहेको राजपा सांसद बाबुलाल साहको टिप्पणीप्रति उनले सरकार नीरिह नभइ सबैलाई सँगैलैजने प्रयास गरेको जवाफ फर्काए ।
प्रतिपक्षीले सरकारलाई गरेको आलोचनाबारे बोल्दै यादवले प्रदेशले भोगेको चुनौती र अवस्था हेनुपर्ने बताए । ‘अहिले प्रदेश २ मा शासन सुवस्यस्थाको कुरा गर्दा प्रदेश सरकारले जाति संघर्ष गर्दै छ के ती सबै पाइसकेको अवस्था छ त ?’, उनले भने, ‘त्यो नहुँदाखेरीको अवस्थामा कुन अवस्थामा छौँ । कर्मचारी नरहेको अवस्थमा पनि सरकारले धैर्यतापुर्वक पाएका उपलब्धिलाई संस्थागत गर्दै आएकाले सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ ।’ नेकपाकै अर्का सांसद राम कुमार यादवले प्रदेशमा राष्ट्रियता र नागरिकताको अवस्था एकदमै गम्भीर रहेको बताए । उनले सिरहा स्थित बरियारपट्टीको दशगजामा भारतले पोल बनाइरहेकाले प्रदेश सरकारले त्यसलार्य गम्भीरतापुर्वक लिनुपर्ने बताए ।
सांसद यादवले ०६२/६३ सालमा जन्मका आधारमा नागरिकता पाएका सन्तानले नागरिकता पाउनुपर्ने भएपनि भारतबाट आएका व्यक्तिहरुले पनि धमाधम नागरिकता लिइरहेकोप्रति सरकारलाई ध्यानाकर्षण गराए ।
यस्तै सिरहामा मारुती सिमेन्ट फ्याक्ट्रीले एलानी जग्गा बयुरोक्रयाटको इशारामा भूमाफियाहरुले कब्जा गरिरहेकोप्रति समेत प्रदेश सरकारलाई ध्यानाकर्षण गराए । उनले सिमेन्ट फयाक्ट्रीको नाउमा रहेको जग्गा छानविन गर्न समेत माग गरे ।
यस्तै नेकपा सांसद डिल्ली प्रसाद उप्रेतीले निर्माणाधीन हुलाकी सडकमा गुणस्तरहीन रहेको बताए । ‘सड अनुगमन गर्ने संस्थाहरु चलायमान देखिरहेका छैनन्, ठेक्का भइसकोपछि डिजाइन बदलिन्छ त्यसकालागि प्रदेश सरकारले सहजीकरण वा पहल के गर्न सकिन्छ ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने । उनले चुरे संरक्षणकालागि सरकारलाई ठोस योजना बनाउन सुझाव दिए ।
नेकपा सांसद जयनुल राइनले प्रदेश २ मा दुइ महिनाको अवधिमा दाइजो नदिएका कारण ५ जना महिलालाई जलाइएको घटनाबारे सरकारलाई ध्यानाकर्षण गराए । उनले महिला हिंसा अन्त्य गर्न चल्नुपर्ने विषयमा गम्भीर हुनुपर्ने धारणा राखे ।