प्रदेश ३ को वर्षे अधिवेशन आजदेखि सुरु हुँदै छ।
हिउँदे अधिवेशन सकिएको २५ दिनपछि प्रदेश ३ सभाले वर्षे अधिवेशन आह्वान गरेको हो। वर्षे अधिवेशन आज दिउँसाे १ बजेका लागि आह्वान गरिएको छ। आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अधिवेशनमा विधेयकसहित आठवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए।
वर्षे अधिवेशनमा पनि प्रदेश राजधानीको विषयले प्रवेश पाउने वा नपाउनेबारे कुनै निर्णय भएको छैन। प्रदेश सरकारले हिउँदे अधिवेशनमै राजधानी र नामकरण टुंग्याउने दाबी गरेको थियो।
छोटो समयमै हिउँदे अधिवेशन टुंगिएको र राजधानीको विषय प्रदेश सभामा पेस गर्ने तयारी पूरा नभएको जनाउँदै वर्षे अधिवेशका लागि सरकारले भाका सारेको थियो। तर, वर्षे अधिवेशनको पहिलो बैठकमा पनि राजधानी र नामकरणको विषय प्रवेश नहुने सभामुख श्रेष्ठले बताए। एक सातापछि मात्र राजधानीको विषय प्रवेश गराउन सकिने उनको भनाइ छ।
वर्षे अधिवेशनको सुरु बैठकमा राजधानीबारे कुनै प्रक्रिया अघि नबढ्ने संकेत सरकारले देखाएपछि प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गर्ने संकेत गरेको छ। हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए पनि प्रवेश नपाएपछि प्रतिपक्षी कांग्रेस सांसद रुष्ट बनेको थियो।