आफ्नै श्रीमती निर्मला यादवलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शहिदनगर नगरपालिका–१ चिरैया टोल बस्ने २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको हो । निर्मलालार्ई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनालई बिहीबार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना सार्वजनिक गरेको छ । गोइतले गत वैशाख ५ गते निर्मला यादवको जिउमा पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए । निर्मलाको उपचारका क्रममा काठमाडौंस्थित किर्तिपुर अस्पतालमा बैशाख १६ गते मृत्यु भएको थियो । जिल्लाको कमला नगरपालिका वडा नं.५ बस्ने निर्मलाकी बिहे १० महिनाअघि मात्र मुकेशसँग भएको थियो ।
यसरी भयो हत्या:
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुकेश र उनकी भाउजू २५ वर्षीया श्यामाबीच विवाहपुर्वदेखि नै अनैतिक सम्बन्ध थियो । उनीहरुबीचको सम्बन्धबारे निर्मलाले थाहा पाएपछि उनको मुकेश र उनकी भाउजु श्यामासँग पटक पटक विवाद हुँदै आएको थियो ।
अनैतीक सम्बन्धकै बारेमा वैशाख ५ गते पनि निर्मला र श्यामाबीच झगडा भएको थियो । दुबै पक्षबीच झगडा हुन थालेपछि मुकेशले झगडा छुट्याई निर्मलालाई कुटपीट गर्दै उनको लुगाकपडा जलाउन बाहिर आँगनमा ल्याए । कपडा जलाउन पेट्रोल लिन उनले भाउजु श्यामाकी पसलमा पुगे । श्यामाले उनलाई सोधेका थिए, के गर्न पेट्रोल चाहीयो ? मुकेशले श्रीमतीलाई गाली गर्दै उसको सम्पुर्ण सामान जलाएर घरवाट निकालदिने जवाफ फर्काएपछि श्यामाले लुगाकपडा मात्र किन निर्मला समेतलाई पेट्रोल छर्की आगो लगाईदिन उस्काएकी थिइन् ।
प्रहरी उपरिक्षक खनालका अनुसार पसलमै श्यामाले मुकेशलाई भागी विहे गर्ने भनी वचन दिए । उनले विहे गर्ने वचन दिएपछि झोक्किएर मुकेशले मिनीरल वाटरको बोतलमा पेट्रोल बोकी श्रीमती निर्मला देवीको जिउ र आँगनमा जम्मा पारेको लुगाकपडा समेतमा पेट्रोल छर्की आगो लगाई फरार भए । जिल्ला प्रहरी कार्यालय धनुषा र ई.प्र.का. सबैलासमेतको प्रहरी टोली मुकेशको खोजतलासमा जुटे । विशेष सुचनाको आधारमा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्ने स्थानमा उनी लुकीछिपी बसेकोमा प्रहरीले मुकेशलाई गएको २५ गते पक्राउ गरे । मुकेशलाई पक्राउ गरिसकेपछि सोधपुक्ष गर्दा उनको बयानको आधारमा उनकी भाउजू श्यामालाई समेत पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको एसपी खनालले जानकारी दिए ।
यसरी निर्मलाले दम तोडिन:
गएको वैशाख ५ गते साँझ करिब ५ बजे निर्मला यादवको जिउमा खाना पकाउने क्रममा साडीमा आगो सल्की घाईते भएको सूचना प्रहरीलाई प्राप्त भयो । प्रहरीले चौकी खरीयानीका प्रहरी सहायक निरिक्षक सहितको टोली तत्कालै घटनास्थल पुगे ।
प्रहरी र स्थानीयहरु मिलेर घाईते निर्मलालाई उपचारकालागि जनकपुर अञ्चल अस्पताल अस्पताल पुरयाए । जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारकालागि उनलाई काठमाण्डौ शिक्षण अस्पताल रिफर गरिएको थियो । आगोबाट उनको शरिरको करिब ७० प्रतिशत भागको छाला जलि सकेका कारण त्यहाँ पनि उनको उपचार सम्भव भएन । पछि थप उपचारकालागि निर्मलालाई किर्तिपुर स्थित मोडेल अस्पतालमा पठाइयो । तर शरिरको अधिकांस भाग जलि सकेकाले उपचारकै क्रममा गएको वैशाख १६ गते उनले दम तोडिन् ।