प्रदेश १ को स्थायी राजधानी विराटनगरमा हुनुपर्ने माग सहित राजनीतिक दलहरुले अनिश्चितकालिन बन्द आह्वान गरेका छन् ।
नेपाली कांग्रेस, समाजवादी फोरम, राजपा लगाएतका राजनीतिक दल र उनीहरुका भ्रातृ संस्थाहरुले आह्वान गरेको बन्दका कारण विराटनगरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण कल कारखाना, शिक्षण संस्था, बजार तथा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् ।
प्रदेश १ को राजधानी विराटनगर बनाउन सत्तारुढ दल नेकपा सहमत भए पनि संरचनाहरु छरिएर निर्माण गर्न लागिएको भन्दै त्यसको विरोधमा बन्द आह्वान गरिएको हो ।
प्रदेश १ को राजधानी विराटनगरमा बनाउने भनिए पनि संसद् भवन इटहरीमा, अन्य मन्त्रालय अन्य जिल्लाहरुमा बनाउने तयारी गरिएको खुलासा भएको थियो ।
सरकारी निकायहरु यसरी छरिएर बनाउँदा जनताले पनि सास्ती पाउने भएकाले सबै सरचनाहरु विराटनगरमा बनाउन माग गरेका हुन् । बन्दकर्ताहरुले विहानै देखि गुद्री चोक, देवकोटा चोक, शनी मन्दीर चोक, बर्घाची लगाएतका ठाउँमा टायर राखेर प्रदर्शन गरेका छन् ।
बन्दका कारण एम्बुलेन्सबाहेक अरु कुनै पनि सवारी साधन सञ्चलन भएका छैनन् । सरकारले आफूहरुका माग सम्बोधन नगरेसम्म बन्द जारी रहने र बन्दमा विराटनगरका राजनीतिक दलहरु, जनप्रतिनिधीहरु, उद्योगी व्यवासायीहरुको समेत समर्थन रहेको नेपाल विद्यार्थी संघका सह–महामन्त्री कृष्ण कार्कीले स्पेसखबरलाई बताए ।