प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको स्पस्ट पारेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले वक्तव्य जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्री आफैं अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताएका छन् ।
'सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ', सल्लाहकार अर्यालद्वारा जारी वक्तव्यमा छ । प्रधानमन्त्रीको जानकारीमा नरहेको त्यस पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी हुनुभएको छ,’ वक्तव्यमा उल्लेख छ ।