भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनारसबाट चुनाव लड्दैछन् । उनीविरुद्ध कांग्रेसले कसलाई उतार्दैछ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर कंग्रेस महासचिव प्रियंका गान्धीले आफ्ना दाइ एव कंग्रेस अध्यक्ष राहुल गान्धीले भनेमा बनारसबाटै चुनाव लड्न तयार रहेको बताएकी छिन् ।
राहुलका लागि चुनाव प्रचारमा व्यस्त प्रियंकाले भनिन्,‘यदि कंग्रेस अध्यक्ष राहुल गान्धीले मलाई बनारसबाट चुनाव लड्न भनेमा म खुशीसाथ त्यहाँबाट चुनाव लड्न तयार छु।’
उनले देशको भाग्यको फैसला गर्न चुनाव महत्वपूर्ण हुने बताउँदै लोकतन्त्र बलियो बनाउन नयाँ भारतका लागि सबैले मतदान गर्नुपर्ने पनि बताइन् ।
कंग्रेसले हरियाणाका ५ उम्मेदवार तय गरेको छ । त्यसअनुसार पूर्व मुख्यमन्त्री भुपेन्द्रसिंह हड्डालाई सोनीपतबाट टिकट दिइएको छ भने कुलदीप शर्मालाई करनालबाट, निर्मल क्षेत्रलाई कुरुक्षेत्रबाट, भव्य विस्नोईलाई हिसारबाट टिकट दिइएको छ ।
परमाणु हतियार दिवालीका लागि बचाइएको होइन : मोदी
यसैबीच, प्रधानमन्त्री मोदीले भारत पाकिस्तानको परमाणुयुद्धको धम्कीबाट नडराउने बताएका छन् । राजस्थानको चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भारतको परमाणुहतियार दिवालीका लागि बचाएर नराखिएको बताए । उनले सन् १९७२ मा भएको सिमला सम्झौताका क्रममा कांग्रेस सरकारले ९० हजारभन्दा बढी पाकिस्तानी युद्धबन्दीलाई रिहा गरेको र कांग्रेस सरकारकै कारण भारतले कब्जामा लिएको पाकिस्तानको ठूलो भुभाग गुमाउनुपरेको बताए ।