ब्रिटिस फुटबल क्लब आर्सनलको खेल हेर्दै थिएँ । मैदानको छेउमा राखिएको बोर्डमा विज्ञापन स्क्रोल हुँदै थियो । खेलसँगै कहिलेकाहीँ त्यसमा पनि आँखा पुग्थे । एउटा विज्ञापन देखें– ‘भिजिट रुवान्डा’ । आर्सनल क्लबको माध्यमबाट रुवान्डाले पर्यटकलाई पो बोलाइरहेको छ त । रुवान्डा सुन्दै आएको नाम हो । मैले तस्बिरमा देखेको रुवान्डा एकदमै गरिबी, महामारी र राजनीतिक चपेटामा परेको देश थियो । विज्ञापनको शब्दले साँच्चै मलाई छोयो । इङलिस फुटबल त निकै ठूलो व्यापार हो । अर्बौं खर्च हुने थलो हो र त्यहाँ त्यत्रो लगानी गर्न सक्ने राज्य त होइन रुवान्डा भन्ने मेरो कल्पना थियो । यो देखेपछि मलाई रुवान्डाबारे जान्न मन लाग्यो । अध्ययन गर्दै जाँदा पो थाहा पाएँ म त आजसम्म भ्रममा पो रहेछु ।
सत्य के रहेछ भने, यो त अहिले विश्वको सबैभन्दा स्थिर र आर्थिक रुपमा एकदमै छिटो अगाडि बढिरहेको मुलुक रहेछ । यो अफ्रिकी महादेशकै सबैभन्दा शान्त र सुरक्षित वातावरण भएको देशमा पर्दोरहेछ । आखिर कसरी यस्तो भयो ? यो परिवर्तन कसरी सम्भव भयो ? के यसबाट नेपालले केही सिक्न सक्छ ?
रुवान्डा अफ्रिका महादेशको २६,३३८ बर्ग किमि क्षेत्रफल रहेको एउटा सानो देश हो । सन् १९९४ मा भीषण नरसंहार भएको रुवान्डा २ दशकपछि पुन तंग्रिएको छ । हुतु र तुत्सी जातिको त्यो युद्ध करिव १ सय दिन चलेको थियो र त्यसले ८ लाखभन्दा बढीको ज्यान लिएको थियो । ज्यान गुमाउनेमा अधिकांश तुत्सी जातिका मानिस थिए । आरपिएफ (रुवान्डन प्याट्रियोटिक फ्रन्ट) नामक विद्रोही संगठनले देशलाई कब्जामा लिएपछि नरसंहारको अन्त्य भएको थियो ।
आरपीएफ एक प्रशिक्षित सैन्य समूह थियो, तुत्सीहरू थिए । आरपीएफका तत्कालिन नेताहरू मध्ये एक पल कागामे रुवान्डाका वर्तमान राष्ट्रपति हुन् । उनी २००० मा रुवान्डाको राष्ट्रपति भएका थिए । पदमा पुग्नासाथ उनले रुवान्डालाई बदल्ने महाअभियान सुरु गरे । आफ्नो साहस र महत्वाकांक्षाले उनले रुवान्डालाई खरानीबाट सुनमा परिणत गरिरहेका छन् ।
आज १८ वर्षपछि पनि उनै कागामे रुवान्डाका राष्ट्रपति छन । २०१७ को निर्वाचन पछि उनी तेस्रो कार्यकालमा छन् ।
कागामेले सत्तामा पुग्नासाथ थुप्रै क्षेत्रका विज्ञ टोली सिर्जना गरेका थिए र तिनीहरूलाई चीन, थाइल्यान्ड र सिंगापुरको भ्रमणमा पठाएका थिए । राष्ट्रपति भएपछि उनले गरेको यात्राबाट प्राप्त अनुभब र विदेशी मुलुकमा त्यहाँका अर्थशास्त्री तथा राष्ट्रसेवक कर्मचारीका साथमा उनले पठाएको टोलीले गरेको छलफल नै रुवान्डाको संविधानको आधार बन्यो । कागामे सत्तामा आएपछि रुवान्डाले आफ्नो आय ३ गुणाले बढाएको छ र गरीबी घट्ने क्रम जारी छ ।
कागामेले २००१ मा ‘भिजन २०२०’ नामक एक सरकारी विकास कार्यक्रम सुरू गरेका थिए । यो कार्यक्रममा ४४ स्पष्ट र उत्तरदायी लक्ष्य छन् । कार्यक्रमको उद्देश्य रुवान्डालाई २०२० सम्ममा ज्ञानमा आधारित मध्यम अर्थतन्त्र भएका देशको सूचीमा लैजाने हो । गरिबी निर्मुल पार्ने र स्वास्थ्य सेवामा रहेका समस्या चिर्ने यो कार्यक्रमको मुख्य ध्येय हो । शिक्षा विकासका लागि रुवान्डामा ‘एक बच्चा एक ल्यापटप’ कार्यक्रम सुरु गरिएको छ । आज, रुवान्डा संसारमै १५औं सबैभन्दा छिटो बढ्दो अर्थव्यवस्था भएको मुलुकमा पर्दछ र यो अफ्रिकाको सिंगापुर बन्ने लक्ष्यका साथ तीव्र गतिमा अगाडि बढिरहेको छ ।
व्यावसायिक रूपमा सिंगापुर सफल हुनु पछाडि तीनवटा कारकलाई लिन सकिन्छ । भौगोलिक रुपमा केन्द्रमा रहनु, राजनैतिक स्थिरता र व्यापार गर्ने सहज बाताबरण । कागामेको लक्ष्य पनि यी तीन कारकहरूको सुधार गरेर राष्ट्रलाई समृद्धतर्फ लैजानु हो । सिंगापुर भौगोलिक रुपमा केन्द्रमा रहेको छ र यो फाइदा रुवान्डालाई पनि पक्कै छ । केही घण्टाको यात्रामा सहज रुपमा त्यहाँ पुग्न सकिएन भने भौगोलिक रूपमा केन्द्रमा रहनुको अर्थ छैन । त्यसैले, यो कुरालाई ध्यानमा राखेर सिंगापुरले आफ्नो एयरलाइन्सको विकास गरेको छ र यो एयरलाइन्स आज विश्वकै उत्कृष्टमध्ये पर्छ । दोहा र दुबई आज प्रभावशाली व्यापार केन्द्र हुनु पछाडि त्यहाँको एयरलाइन्सको ठूलो हात छ ।
रुवान्डाले यो स्पष्ट रूपमा देखेको छ र रुवान्डाको सरकारी एयरलाइन्स रुवान्डा एयरको विकासमा लागिपरेको छ । क्षेत्रीय रुपमा उडान भर्ने गरेको यो एयरलाइन्स आज पूरा अफ्रिकी महादेशभर नै सञ्चालित छ । नयाँ विमान थप्दै, रुवान्डालाई सीधा चीन र संयुक्त राज्य अमेरिकासँग जोड्ने योजनासहित अगाडि बढेको छ ।
सिंगापुर एक राजनीतिक रूपमा स्थिर देश हो र यही कारणले गर्दा विश्वका २० ठूला कम्पनीमध्ये १५ वटाका शाखा सिंगापुरमा छन् । कम्पनीहरू त्यस्तो स्थानमा काम गर्न चाहन्छन् जुन राजनीतिक रूपमा चाँडै परिवर्तन हुने छैन किनकि वातावरणमा परिवर्तन भए लागत बढ्दै जाने सम्भावना धेरै रहन्छ । रुवान्डा अफ्रिकी महादेशको सबैभन्दा स्थिर देशमध्ये एक हो । कागामे सन् २००० देखि सत्तामा छन् र हालैको संविधान संशोधनको प्रावधानले उनलाई २०३४ सम्म सत्तामा रहन सक्ने बनाएको छ । व्यापारिक केन्द्रहरू पनि यस्तै स्थिति चाहन्छन् ।
सिंगापुरमा व्यापार गर्न सजिलो छ, कम्पनी खोल्ने र चलाउने राम्रो वातावरण बनाउन सिंगापुर सफल छ । विश्व बैंकले व्यापार गर्न कुन देशमा कति सजिलो छ भन्ने जाँचेर ‘इज अफ् डुइङ बिजनेस’ भन्ने सुचकांक निकाल्ने गरेको छ । यसले १० फरक–फरक कारकहरू हेर्ने गर्छ । सिंगापुर यो सूचकांकमा दोस्रोमा पर्दछ । त्यसैगरी रुवान्डा पनि २९ औं स्थानमा पर्दछ । यो अफ्रिकी राष्ट्रमै उच्च स्थान हो । रुवान्डालाई अर्को अफ्रिकी मुलुक मोरक्कोले पछ्याएको छ, जुन ६० औं स्थानमा छ । रुवान्डाले व्यवसायअनुकूल वातावरण निर्माण गर्न ध्यान केन्द्रित गरेको छ र आधारभूत संरचनाको विकासमा उनीहरू तल्लीन भएर लागेका छन् ।
अन्य देशहरूमा कुनै कम्पनि खोल्नु परे कागजी काम तथा सम्झौतासम्बन्धी सम्पुर्ण प्रक्रिया मिलाउन हप्तौं वा महिनौंसम्म लाग्छ । तर रुवान्डामा यस्तो काम बढीमा दुई दिनमै सकिन्छ । रुवान्डाको कर्मचारीतन्त्र निकै चुस्त छ र यो सम्पूर्ण विश्वका लागि उदाहरण नै हो । यसले रुवान्डामा कम्पनीहरूको संख्या बढाउन ठुलो मद्दत गरेको छ । चीन र अमेरिकाबाट दिनहुँ यहाँ करोडौँको लगानी भित्रिरहेको छ । २०१९ को ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ को भ्रष्टाचारसम्बन्धी तथ्यांकअनुसार रुवान्डा ४८औं स्थानमा रहेको थियो । यो अफ्रिकी राष्ट्रमध्येमा निकै कम हो ।
रुवान्डामा सामान्य मानिसहरूबाट उठाइएको कर समुचित तवरले उचित ठाउँमा मात्र खर्चने गरिन्छ । बजेटको ठूलो हिस्सा कृषि विकासका काममा लगाउने गरिन्छ । किनभने रुबान्डाको ८० प्रतिशत जनसंख्या आज पनि खेतीमा संलग्न छन् । कृषि क्षेत्रबाट रुवान्डाको कुल गार्हस्थ उत्पादनमा ३३ प्रतिशत योगदान छ । रुवान्डाले गुणस्तरीय कफी निर्यात गर्दै आइरहेको छ ।
देशमा अन्तर्राष्ट्रिय लगानीको प्रोत्साहनका लागि रुवान्डाको पहल जारी छ । २००५ मा रुवान्डामा १०.५ मिलियन डलर वैदेशिक लगानी भित्रिएको थियो, त्यो संख्या २०१७ मा २९३ मिलियन डलर पुगिसकेको छ ।
रुवान्डाले व्यापार बढाउन तथा स्वरोजगार निर्माणका लागि उद्यमी विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । युवा तथा महिला सशक्तीकरण कार्यक्रमहरू तथा अन्य प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालनमा छन् । यसले नव–विचारको सिर्जना र सकारात्मक मनोवृत्ति विकासका लागि सहयोग गरेको छ ।
रुवान्डा लैंगिक समस्याहरू समाधान गर्न सक्षम भएको छ । रुवान्डाको संसद विश्वकै सबैभन्दा धेरै महिलाहरूको सहभागिता रहेको संसद हो । वर्तमान संसदको ५६ प्रतिशत सिटमा महिला सम्मिलित छन् । रुवान्डाको संविधानले ५० प्रतिशत सरकारी पदहरूमा महिलाको साहभागिता सुनिश्चित गरेको छ । २०१८ मा रुवान्डाको कुल गार्हस्थ उत्पादन (जीडीपी ) वृद्धिदर प्रति वर्ष ७.५ प्रतिशतभन्दा बढी थियो । यो अन्य अफ्रिकी मुलुकको तुलनामा सबैभन्दा उत्कृष्ट हो । विश्लेषकहरूले अनुमान गरेका छन्, आगामी वर्षमा उक्त दर ८ प्रतिशतभन्दा उकालो लाग्ने छ । त्यहाँका मानिसहरूको जीवनस्तर बढेको छ र गरिबीको दरमा उल्लेखनीय कमी आएको छ । रुवान्डाको राजधानी किगाली संसारको सफा सहरहरूमध्ये एक हो र यो ठाउँ वसोवासको निम्ति संसारकै सुरक्षित स्थानमध्ये पर्छ । दुई दशकअघिको भयानक नरसंहारबाट तहसनहस भएको यो मुलुक आज राजनीतिक र आर्थिक रूपमा निकै अगाडि बढेको छ ।
आज त्यहाँका जनताले देशप्रतिको आफ्नो कर्तव्यलाई बुझेका छन् । व्यापारले देशलाई ठूलो फाइदा दिइरहेको छ र सम्पूर्ण देश समृद्धिको दिशामा लम्किरहेको छ ।
तितो इतिहासका बावजुद केही दशकभित्रै एउटा देशले कस्तो परिवर्तन गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो रुवान्डा । नेपालजस्तै विकासको मार्गमा लम्कन खोल्ने हरेक देशले रुवान्डाको राजनीतिक र आर्थिक विकासबाट धेरै कुराहरू सिक्नुपर्छ । रुवान्डाद्वारा अपनाइएको आर्थिक मोडल माटो सुहाउँदो र उपयुक्त छ । हामीले पनि व्यवसायको आफ्नै स्वदेशी प्रणाली विकास गर्न सिक्नुपर्छ । उद्यमशीलता विकासका कुरा रुवान्डाबाट सिक्नुपर्छ । २१औँ शताब्दीमा आइसक्दा पनि हामी अझै पाखुरा कै बल बेचिरहेका छौं । तर अब हामीले बुद्धि बेच्न सिक्नुपर्छ । उत्पादनशील विकासले प्रगति ल्याउँछ । यो कुरा अब हामीले मनन गर्नुपर्ने बेला आएको छ ।
हाम्रो कर्मचारीतन्त्र भ्रष्टाचार, नातावाद र कृपावादले ग्रसित छ । यसलाई चुस्त बनाउन नसकेसम्म समृद्धि सम्भव छैन । हामीसँग थुप्रै स्रोतसाधन छन् । तर त्यसलाई महत्व दिएका छैनौँ । यस्ता वस्तु छनोट गरी, प्रभावकारी र कुशलतापूर्वक सदुपयोग गर्दै समृद्धि प्राप्तिका निम्ति काम गर्दै अघि बढ्यौं भने अवश्य पनि नयाँ युगमा प्रवेश गर्न सकिन्छ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साँच्चै हाँसिल गर्न सकिन्छ ।