बिप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहीबार मकवानपुरमा दिनभर नै प¥यो। साँझपख बन्दमा सहभागी भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
बन्द गराउँदै हिँडेको भन्दै थाहा नगरपालिकाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ। पक्राउ पर्नेमा सौगात विष्ट र ऋषिराज अधिकारी रहेका छन्।
उनीहरुलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। बन्दका क्रममा बिहिबार बिहानै मकवानपुरका विभिन्न स्थानमा दुईवटा सबारी साधनमा आगजनी गरिएको थियो भने हेटौँडा उपमहानगरपालिकाभित्रै र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा प्रेसर कुकर बमहरु राखिएका थिए।
पूर्वपश्चिम राजमार्गमा सबारी साधन निकै कम गुडेका देखिन्थे। कतिपय सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ समेत गरेको थियो। सकेसम्म यात्रुहरुलाई सहज हुनेगरी व्यवस्थापन गरिएको र बन्दकर्ताहरुलाई समात्नका लागि टोली परिचालन गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताए।