नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारबाही गरेरै छाड्ने बताएका छन्।
नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने ‘ पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्छौँ। अनुशासन समितिले कारबाहीको प्रकृया अघि बढाइसकेको छ।’
उनले केपी ओली नेतृत्वको सरकार हत्या, हिंसा, बलात्कारका घटना न्यूनीकरणमा असफल भइसकेको दाबी गरे। ‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ सभापति देउवाले भने, ‘यो सरकार बलात्कारी र हत्यारालाई जोगाउन लागि परेको छ।’
देउवाले देशभर बढ्दो आपराधिक क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै एक बर्षको बीचमा ओली सरकारले जनताका पक्षमा केही पनि काम गर्न नसकेको बताए।
उनले सरकारले सुदूरपश्चिम विश्वविद्यालय लगायतका प्राज्ञिक क्षेत्रमा सरकारले हस्तक्षेप बढाएकोमा आपत्ति जनाउँदै सरकार शिक्षा क्षेत्रलाई धरासायी बनाउन उद्धत रहेको आरोप लगाए।