नेपाली कांग्रसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकारले संघीयतामा विश्वास नगरेको आरोप लगाएका छन् ।
कांग्रेसको मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा बिस्काः जात्राका अवसरमा नगदेशमा आयोजित कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले प्रदेश र स्थानीयलाई दिनुपर्ने अधिकार आफैंमा राखेको आरोप लगाए । उनले संघीयता कमजोर बनाउन ओली नै लागेको दाबी पनि गरे । ‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेका बेला दुईतिहाइको सरकारले सबै अधिकार आफैं राख्ने प्रयत्न गर्दे छ जुन संघीयताविरोधी छ,' उनले भने, 'यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ ।’
कोइरालाले गुट-उपगुटले पार्टी कमजोर हुँदै गएको स्वीकार पनि गरे । उनले कांग्रेस एकतावद्ध भई अघि बढे आगामी चुनावमा मुलुकको ठूलो दल बन्ने दाबी गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले सञ्चार क्षेत्र र सुरक्षा सम्बन्धमा सरकारले पेस गरेको विधेयकले सरकार एकदलीय अधिनायकवादतर्फ उन्मुख भएको बताए ।