७ नम्बर प्रदेशको राजधानी र नामांकरणका लागि गठित समितिको म्याद फेरि पाँच दिन थप गरिएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मंगलबार समितिको म्याद पाँच दिन थप गरेका हुन्।
समितिका ज्येष्ठ सदस्य श्यामलाल रानाको संयोजकत्वमा बसेको बैठकले सोमबार म्याद थपका लागि सभामुख समक्ष निवेदन पेश गरेको थियो। ‘साँझ पाँच बजेपछि समितिको बैठक बस्यो र रातिनै सभामुख समक्ष निवेदन पेश गरिएको थियो। प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले समितिको म्याद पाच दिन थपिएको जानकारी दिए।
समितिका ज्येष्ठ सदस्य राना थारुले सोमबार समितिको बैठकबाट म्याद थपका लागि निवेदन दिएका थिए। उनका अनुसार समितिले भदौ २ गतेसम्मका लागि समय माग गरेको छ। साउन १४ गते गठित समितिलाई शुरुमा सात दिनको म्याद दिइएको थियो भने साउन २१ गतेसम्म समितिले नाम र राजधानीका विषयमा टुङ्गो लगाउन नसकेपछि पुनः सदनबाट सभामुखले २८ गतेसम्मका लागि म्याद थप गरेका थिए।
सोमबार सदन नचलेपछि समितिले बैठक बसेर सभामुख समक्ष निवेदन पेश गरि मंगलबारदेखि पाँच दिनका लागि म्याद थप गरेको सभामुख अर्जुनबहादुर थापाले बताए।
तर, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले समिति सदनबाट गठित भएकाले सदनबाटै म्याद थप हुनुपर्ने बताएका छन्।