नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई नक्कल गरेर पास नभइने भएकाले आफ्नो नक्कल नगर्न सुझाव दिएका छन्।
‘मेरो नक्कल केही साथीहरुले गर्न खोजेका छन्,’ पेरिसडाँडामा बिहीबार सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘नक्कल गरेर होइन सक्कल गर्दामात्रै पास भइन्छ। अहिले आएर मेरो नक्कल गर्नु भनेको दुःख पाउनु बाहेक अर्को केही काम हुँदैन।’
उनले अर्को प्रचण्ड बन्न सजिलो नभएको पनि बताए। ‘हामीसँगै जनयुद्ध लडेका साथीहरु अहिले जसरी फेरि त्यही दिशामा फर्किन खोज्नु भएको छ। त्यो अहिले सफल हुँदैन,’ उनले भने,‘अर्को प्रचण्ड बन्न अहिले सजिलो छैन। न त देशमा राजतन्त्र छ न त यो २०५२ साल नै हो।’
प्रचण्डले हिजोसँगै लडेका साथीहरु सरकारमा भएकाले त्यो परिस्थिति हेर्न पनि विप्लवलाई सुझाव दिए। उनले नयाँ प्रचण्ड बन्न नयाँ बाटो नै खोज्नु पर्ने बताए। उनले भने,‘प्रचण्डकै नक्कल गरेर अर्को प्रचण्ड बन्छु भन्ने भ्रम छ भने हटाए हुन्छ। भ्रमले कहीँ पुगिदैन। त्यो दूर्भाग्यपूर्णमात्रै हुन्छ।’