नेपालको लोकतान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिले लामो संघर्षको जीवन बिताउनु भयो। उहाँ आदर्शका धरोहर हुनुुहुन्छ। नयाँ पुस्ताले अनुशरण गर्नुुपर्ने उहाँका आदर्श भनेकै प्रजातन्त्रप्रतिको आस्था र अहिंसा एवं त्यसप्रतिको अडिगता हो। निधिको मौलिकता असाधारण पाएको छु। २००७ साल अगाडि कठोर निरंकुुश राणा शासनदेखि नै पार्टीमा निरन्तर लाग्नु भयो।
२००७ सालमा प्रजातन्त्र आउनुुअघि राणाकालमा स्वतन्त्रताका पक्षमा वकालत गर्ने चार जनालाई झुण्ड्याएर मारियो। निधिजी रामनारायण मिश्रजीहरुसँग मिलेर राष्ट्रिय स्वयंसेवक संघ बनाएर सत्याग्रही भएर स्वदेश फर्किनु भयो। किन उहाँलाई स्वतन्त्रताको चाहना भयो? त्यहीँदेखि निधिजीको वास्तविक जीवनयात्रा शुरु हुन्छ, अभिव्यक्ति स्वतन्त्रताको।
जुन उहाँको अन्तस्करणको आवाज थियो। किनकि व्यक्ति सर्वप्रथम स्वतन्त्र हुन चाहन्छ। त्यसपछि उसलाई संगठनको स्वतन्त्रता चाहिन्छ, वाक स्वतन्त्रता चाहिन्छ, घुमफिरको स्वतन्त्रता चाहिन्छ। सबै किसिमको मानव अधिकार सम्बन्धी स्वतन्त्रता चाहिन्छ। त्यसकारण उकुसमुकुसको बन्द समाजमा त्यो किसिमको स्वतन्त्रता थिएन। त्यति नै बेला त्यो एक जना युवाले आफूलाई समर्पण गर्यो स्वतन्त्रताका लागि। स्वतन्त्रताको लडाइमा पाइला हालेर मात्र त्यो पूरा हुने होइन। अन्तिम समयसम्म उहाँको त्यो मौलिकता पलपलमा, चरणचरणमा प्रखर र प्रबल भएको पाइन्छ। त्यस्तो व्यक्ति बिरलै पाइन्छ। पार्टीमा छ, तर पार्टीमा छैन जस्तो हुन्छ। पार्टीको नीति र नेतृत्वसँग असहमत छ, तर पार्टीमा सधैं उच्चस्थानमा छ। त्यस अर्थमा निधिजी नेताहरुको पनि नेता जस्तो हुनुहुन्थ्यो।
अन्तस्करणको कुरा गर्दा कतिपय कुरामा उहाँ वीपीसँग असहमत हुनुुहुन्थ्यो, गणेशमानसँग पनि असहमत हुनुुहुुन्थ्यो। उहाँले २०१८ सालको सशस्त्र क्रान्तिमा पनि भाग लिनु भएन। २०३०-०३१ सालको सशस्त्र क्रान्तिमा पनि भाग लिनुभएन। हिंसाको बाटोबाट सधैं टाढै रहनुभयो। अहिंसाको आरधना, साधना गरिरहनु भयो। त्यतिमात्र होइन, पार्टीले लिएका नीति तथा कार्यक्रममा पनि उहाँले छुुट्टै मत राख्दै जानुभयो। तर, पनि उहाँ उति नै सम्मानित हुनुुभयो, उति नै ग्राह्य हुनुुभयो। जुन कुरा अरुमा सम्भव देख्न सकिँदैन। त्यस्तो नेता निधिजीमात्र हुनुुभयो। किनकि नीति र नेतृत्वसँग संगतिपूर्ण विचार प्रवाहित हुनुुपर्दछ।
निधिजी यस्तो व्यक्ति हुनुुहुन्थ्यो, बैयक्तिक स्वतन्त्रता उहाँको लडाइ भएकाले जीवनभर कहिल्यै पनि आफ्नो अन्तस्करणले देखेको कुुरा छोड्नु भएन। पार्टीसँग, नेतासँग मिलोस् नमिलोस् उहाँले त्यसको कहिल्यै प्रवाह गर्नु भएन। अन्तस्करणको आवाजको व्यक्तिसँग त्यस्तो अभ्यास हुन्छ। जस्तो गान्धीजीले सत्यका लागि सत्याग्रह गर्नुभयो। त्यस्तै एक जना सच्चा सत्यग्रही हुनुुहुन्थ्यो, निधि। त्यो बहुत गाह्रो हुन्छ। अहिले हामी कहाँको पार्टीमा हेरौं त कति जनाले गर्न सक्नु भएको छ त्यस्तो? त्यसो गर्न नसकेर नै हाम्रा पार्टीहरुको आज यो दुुर्गती भएको हो। पार्टीमा भएपछि बधुँवा जस्तो हुनुु परेको छ। पार्टीभित्र पनि नागरिक स्वतन्त्रता हुनुुपर्छ। निधिजी बैयक्तिक स्वतन्त्रतामा सम्झौता नगरेर पार्टीमा पनि रहनुु भयो, पार्टीलाई नीति निर्देशन गर्नुभयो, नेतृत्व पनि गर्नुभयो। सर्वमान्यता पनि हासिल गर्नुभयो। कतिपय सन्दर्भमा राय पनि बझाउनुभयो।
स्वतन्त्रताका सच्चा पुजारी निधिले अन्तस्करणदेखि स्वतन्त्रताको महत्व बुुझ्नुभएको थियो। मान्छे स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। उसको विचारलाई कसैले पनि दमन गर्न पाउँदैन। त्यसैका लागि राज्य चाहिएको हो, समाज चाहिएको हो। संविधान चाहिएको हो, कानून चाहिएको हो। उहाँले पदको कहिल्यै लालसा गर्नुु भएन। २०१५ सालमा संसदको उपसभामुख हुनुुभयो। उहाँले कहिल्यै असन्तुुष्टि व्यक्त गर्नु भएन। २०४७ सालमा कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा रहनु भयो। मेरो सौभाग्य २०४८ को चुनावपछि म सभामुख थिएँ, निधिजी सदस्य हुनुुहुन्थ्यो। उहाँले पद र सुविधाका लागि कहिल्यै उछिनाउछिन गर्नु भएन। उहाँको आदर्श त्यहाँ पनि देखा पर्छ। किनभने उहाँले एउटा मिशनका लागि जीवन अर्पण गर्नु भएको थियो।
कतिपय मानिस आफूलाई लाभ हेरेर राजनीतिमा लाग्छन्, त्याग गर्छन्, बलिदान गर्छन्, जेल बस्छन्। तर, त्यसका पछाडि स्वतन्त्रताको कुरा छैन भने केही काम लाग्दैन। त्यो स्वार्थका लागि हुन्छ। निधिले राष्ट्रका लागि सधै दिनुभयो। किनभने उहाँभित्रको ज्वाला स्वतन्त्रताका लागि थियो। उहाँ जिन्दगीभर स्वतन्त्रताका लागि लड्नुभयो र आज त्यो आदर्श नयाँ पुस्तालाई दिन सक्नुपर्छ। नेपाली समाजमा आजका दिनमा त्यो आदर्श मरिरहेको छ।
गान्धीजीले सत्यवादीताका लागि, सत्याग्रहका लागि कठोर तपस्या गरेका कारण आज संसारले उहाँलाई सम्मान गरेको हो। किन सत्याग्रह गर्नुपर्छ भने राजनीतिक परिवर्तनसँगै त्यहाँ विकृति उत्तिकै फस्टाउँछन्। त्यसका विरुद्ध आवाज उठाइरहनु पर्दछ। अहिले हाम्रो दलभित्रको समस्या भनेको स्वतन्त्रताको सम्झौता गर्नुपर्छ। जतिसुकै विकृति होस्, जतिसुकै अनियमितता होस्, जतिसुकै संविधान विपरितको काम होस् चुप लागेर बस्नु पर्दछ। तर, निधिजी पार्टीको जिम्मेवारी पदमा रहेर पनि विकृतिविरुद्ध लडिरहनु भयो। यो नै निधिजीको जीवनको सबैभन्दा ठूलो सन्देश हो। आज निधिजीलाई स्मरण गर्दा हिजोको त्यो कठोर दिनमा उहाँले कसरी आफ्नो बैयक्तिक स्वतन्त्रता र रचनात्मक विचार लेखेर, बोलेर प्रवाह गर्नुभयो होला भन्ने लाग्न सक्छ कतिपयलाई। उहाँ त पार्टीको कुरा मात्र होइन राष्ट्रहितलाई हेरेर काम गर्नुहुन्थ्यो।
तराईको मान्छे भएर पनि पहाडलाई हेर्ने उहाँको एउटा दृष्टिकोण थियो। उहाँ राष्ट्रिय एकताको प्रतिक हुनुुहुुन्थ्यो। नेपालमा मात्र होइन, मित्र राष्ट्रसँग पनि उहाँको राय बाझिएको थियो। मधेसका नेतामध्ये पहाड र सिंगो देशको हिसाबले उहाँ राष्ट्रवादी, देशभक्त नेता हुनुहुन्थ्यो। भारतसामू पनि नेपाललाई हेर्ने दृष्टिकोण यो हुनुपर्छ भनेर राष्ट्रिय दृष्टिकोण राख्न सक्ने अन्तर्राष्ट्रिय तहको नेता हुनुहुन्थ्यो। बैयक्तिक स्वतन्त्रताको लडाइमा हामीले मर्यादा राख्न सक्यौं भने निधिजीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
निधिकाे ९७ औं जन्मजयन्तीका अबसरमा आयोजित कार्यक्रममा व्यक्त बिचारको संपादित अंश