पूर्व प्रधानमन्त्री तुलसी गिरिको ९३ वर्षको उमेरमा काठमाडौमा निधन भएको छ । तालिमले डाक्टर तुलसी गिरिले डाक्टरी प्राक्टिस भने कहिल्यै पनि गरेनन् । सिरहाको एउटा नामी र दामी जमिन्दार परिवारमा जन्मेका गिरिले राजनीतिक संस्कार रगतमै लिएर आएका थिए । उनका पिताजीका पालादेखि नै विराटनगरको अर्को नामी राजनीतिक घराना कोइराला परिवारसँग राम्रो सम्बन्ध थियो गिरिको । बिहार, लहेरियासरायको मेडिकल कलेजमा एमबीबीएस पढ्दादेखि नै यिनी कांग्रेसका मूर्धन्य नेता वीपी कोइरालाको सम्पर्कमा आइसकेका थिए । कालान्तरमा गएर त्यो सम्बन्ध अति नै प्रगाढ भयो । वीपीले पार्टीका अरू ठूला नेताहरूले यिनका बारेमा नकारात्मक कुरा गर्दागर्दै पनि यिनलाई निकटको विश्वासी व्यक्तिको दर्जा दिएका थिए । वीपीले यिनलाई पार्टीको महामन्त्री मात्र होइन आफ्नो क्याबिनेटमा परराष्ट्र मन्त्री पनि बनाएका थिए ।
वीपीको विश्वासमाथि तुलसी गिरिले यस्तो ठूलो घात गरे त्यसको समतुल्य विश्वासघात नेपालको राजनीतिक इतिहासमा शायदै कसैले कसैलाई गरेको होला । राजा महेन्द्रले १७ साल पुस १ गते वीपी कोइरालाको निर्वाचित सरकारका विरुद्ध सैनिक विद्रोह गर्दा कांग्रेस पार्टी भित्रबाट राजाको त्यो अप्रजातान्त्रिक कदमको समर्थन गर्नेमा पहिलो नम्बर यी गिरि नै थिए । त्यो विश्वासघाती हलको अर्को गोरु बनेका थिए वीपीका अर्का प्रियपात्र विश्वबन्धु थापा । गिरि १७ सालको कू पछि बनेको क्याबिनेटका पहिलो अध्यक्ष बनेका थिए । त्यसपछि पनि गिरि अरू २ पटक प्रधानमन्त्री भए ।
गिरि नयाँ मोडेलको गाडी, स्त्री, असल मदिरा र उम्दा पोशाकका शौकीन व्यक्ति थिए । वीपी पनि कमनीय स्त्रीहरूका मामिला लगौटीका कच्चा मानिन्थे । यो एउटा खास मामिलामा ती दुई नेता कार्यकर्ताको कुरा मिल्थ्यो । वीपीले आफ्नी प्रेमिका रहिसकेकी एक जना खानदानी राणाजीकी छोरी तुलसी गिरिलाई बक्सिसमा दिएको घटनाको खुबै चर्चा चलेको एकताका काठमाडौमा । ती भद्र महिला धेरै समय गिरिको साथमा थिइन् ।
राजनीतिमा भने तुलसी गिरि आफूलाई बगलमा राखेर प्रत्यक्ष शासन गर्ने निरंकुश राजाका पक्षधर देखिन्थे । उनको राजनीतिक दर्शन अति पिछडिएको त्यस्तो नेपाली समाजका लागि सुहाउँदो थियो जुन समाजले राजा महाराजा र तिनका गिरिजस्ता परजीवी भारदारका हरेक कुरालाई खुरुखुरु स्वीकार गर्दछ । समयमा आएको परिवर्तनले नेपाली समाजलाई त्यस्तो रूढ र नेपाली जनतालाई त्यति अबुझ रहन नदिएपछि यी गिरि पञ्चायत कालमै असान्दर्भिक र बेकम्मा साबित भएर ३० को दशकको आधाआधीमै देशबाट पलायन भएका थिए । घोषित नास्तिक गिरिले त्यसै समयको सेरोफेरो पत्नी सेरा पादरी भएको येयोवाको साक्षी भन्ने सानो क्रिस्तानी कल्टको बप्तिज्मा लिएका थिए भनिन्छ । सोही मण्डलीको आश्रयमा केही वर्ष कोलम्बो बसेका गिरि राजा ज्ञानेन्द्रले आफ्नो निरंकुश शासन चलाउन सहयोग माग्ने बेलामा दक्षिण भारतको बेङ्गलुरुमा बसिरहेका थिए ।
शक्तिशाली र निरंकुश राजा बन्ने हुटहुटी लागेका राजा ज्ञानेन्द्रले २०६१ सालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरि आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् बनाएर तुलसी गिरिलाई त्यसका २ मध्ये १ उपाध्यक्षको पद सुम्पेपछि भने गिरिको फजिती भयो । न ज्ञानेन्द्र आफ्नो उद्देश्यमा सफल भए न त गिरिलाई जब स्याटिस्फ्याक्सन् नै भयो । नेपाल आएको कति दिनसम्म त यिनलाई नियुक्तिसमेत नदिएर दिक्क पारियो । मन्त्रिपरिषद्को उपाध्यक्ष बनेपछि पनि यिनको न कुनै हैसियत बन्यो न त राजकाजमा दबदबा नै । बुढेसकालमा एकजना नालायक नेताको कुरो सुनेर बेङ्गलुरुको शान्त सन्तुष्ट जीवन छोडेकोमा गिरि अन्तिम समयसम्म चुक्चुकाइरहेका थिए भनिन्छ ।
लेखक/पत्रकार हरि अधिकारीको फेसबुकबाट