अहिले राष्ट्रपति निवास विस्तार गर्न प्रहरी तालिम केन्द्रको जग्गा हडपी केन्द्रलाई पनौती सार्ने विषय–१, उपराष्ट्रपतिको निवासका लागि समाज कल्याण केन्द्रले चर्चेको जग्गा हडप्ने विषय–२ र राष्ट्रपतिका लागि थप विलासी गाडी किन्न १८ करोड निकासा गरिएको विषय – ३, चर्चामा छन्।
ओली सरकारले गर्न आँटेका यी तीनवटै दुष्कर्मको आम शक्तिहीन जनताले आफ्नो पहुँच भएका सञ्चार माध्यममार्फत विरोध त जनाएका छन् तर यो विरोधले केपी ओलीको ‘मतिभ्रष्ट शासकीय मण्डली’ द्वारा गरिनलागेको यो निन्दनीय काम रोकिएला जस्तो लाग्दैन । खबरदारी गर्न भने नछोडौँ ।
अहिलेको संविधान अनुसार हाम्रा राष्ट्रपति र उपराष्ट्रपति खोपाका देउता हुन् जसलाई यथोचित सुविधा आदि दिएर आफ्नो थान्कामा बस्न लगाउनु पर्छ । तर भएको छ त्यसको ठीक उल्टो । अहिलेकी राष्ट्रपतिको विलासप्रियता घिनलाग्दो ढङ्गमा उदाङ्ग भएको देखिन्छ दिन प्रतिदिन । उनका लागि यसअघि पनि एउटा विशाल भवन वनेको हो । महँगा गाडीहरू पनि किनिएका हुन् । यिनले आफ्नो सरकारी आवासलाई नचाहिँदो ठस्सा प्रदर्शन गर्ने ५ तारे क्याटरिङ हाउस बनाएको पनि सवैले देखेकै हो।
दैवी अवतारमा प्रकट भएकी दुर्गा भवानीले झै दशैंको टीकाका नाममा धेरै मानिसहरूलाई यिनले घुँडा टेकाएको पनि धेरै भएको छैन । अहिले पनि कुनै कार्यक्रममा भाग लिन यिनी निस्कँदा सारा सडक ठप्प पारेर परपीडाको आनन्द लिइरहेकी छिन् । यिनको ठस्साका कारण आम जनताले अनाहकमा किन दुख पाउनु पर्ने हो भन्ने प्रश्नको जवाफ मागिरहेका छन् । तर जवाफ आउने कुनै छाँट छैन । यिनको सामन्ती ठस्सामाथि नियन्त्रण गर्नुपर्ने सरकार प्रमुखले यिनलाई यस्ता भद्दा विलाशमा लाग्नबाट रोक्न होइन प्रोत्साहन गर्न आफ्नो सत्ता र विवेक प्रयोग गरिरहेको जस्तो बुझिन्छ ।
राष्ट्रपतिको दरबार विस्तारका लागि साँध जोडिएको प्रहरी तालिम केन्द्रको १९३ रोपनी जग्गा हडप्ने र ४ दशकभन्दा पहिलेदेखि चलिरहेको प्रहरी तालिमको सम्पूर्ण काम पूर्वाधारको नाममा भुटिभाङ केही नभएको काठमाण्डुबाट ३१ किलोमिटर पर काभ्रेको पनौतीमा केन्द्र खोली गराउने प्रस्ताव ल्याएर त प्रधानमन्त्री ओली र उनले भिटो प्रयोग गरेर दोस्रो पटक राष्ट्रपति बनाइएकी विद्या भण्डारीले लाजगाल, नैतिकता, र शिष्टताका सबै हद एकैचोटी पार गरेका छन् । यी दुबैले आफू कुन देशका नेता/नेतृ हौँ भन्ने मात्र बिर्सेका छैनन् यिनले त आफ्नो पृष्ठभूमिलाई पनि भुलेका छन् । देशको आर्थिक स्थिति कस्तो छ ? एउटा मानार्थ पदाधिकारीका लागि यत्रो ठूलो धनराशी र स्रोत साधन खर्च गर्न मिल्छ कि मिल्दैन भन्ने जस्ता कुराहरूमा ध्यान दिन आवश्यक नै ठानेका छैनन् जस्तो लाग्छ यी दुई मित्रले ।
राष्ट्रपतिले प्रयोग गर्ने हेलिप्याडलाई ठाउँ नपुग्ने भएकोले प्रहरी तालिम केन्द्रको जग्गा लिन आँटिएको हल्ला पनि सरकारका तर्फवाट चलाइएको छ । यो हास्यास्पद भनाइ हो । एउटा हेलिकोप्टर ओराल्न उडाउँन कति ठाउँ चाहिन्छ ? अहिलेका सरकारी मानिसहरूले आफ्ना चट्टेबट्टेहरू बाहेक सबैलाई बेवकूफ ठानेका छन् भन्ने कुराको यो बलियो प्रमाण हो ।
अर्कोतिर व्याबहारिक रूपले पूर्णत : अनावश्यक, मोटरसाइकलमा कहिलेकाहीँ जोडिने स्टेपनी जस्तो पद ओगटिरहेका उपराष्ट्रपति नन्दबहादुर पुनको मनमा पनि नयाँ नेपालको सामन्ती शाहज्यादा हुने लालच पलाएर हुनुपर्दछ उनले आफ्नालागि राजधानीको भव्य ठाउँमा भव्यतम् कार्यालय/आवासको माग गरेका छन् । र, यस्ता कुरामा अतिनै उदार ओली महोदयको सरकारले पुनका लागि हाल समाजकल्याण केन्द्र बसेको लैनचौरको जग्गा दिने निर्णय गरेको छ ।
केपी ओली, विद्या भण्डारी र केही दर्जन कम्युनिस्ट नेताहरूको सोच र काम कारबाही किन यस्ता भएका हुन् बुझ्न सकिँदैन । यो टोलीले सिंहदरवार वा शीतल निवासबाट निस्किएर नेपाली जनताका माझ जानू पर्दैन अब कहिल्यै पनि ? पार्टीको सदस्यता लिएका डेढ दुईलाख ‘भत्खौरे’ र राज्यकोषको दुरुपयोग गरेर पालेकाहरु समूहहरुले मात्र पूरै गिरेको यिनको शाख जोगाउन सक्दैनन् भन्ने कुरा किन बिर्सिएका हुन् यिनले । नेपाली जनताले विद्या भण्डारीलाई गणतन्त्रकी महारानी बनाउँन नेकपालाई बहुमत दिएका होइनन् ।
-(लेखक/पत्रकार हरि अधिकारीको फेसबुकबाट)