म आइजीपी भएको १० दिनपछि नै शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्यो। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनु भयो। अनि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम। वामदेवसँग मेरो चिनापर्ची थिएन।
आइजीपी नियुक्ति बेला उहाँले पत्रकारमार्फत २० लाख रुपैयाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको थिएँ। पछि माओवादीको विषयमा पुलिस अफेन्सिव हुने होइन, डिफेन्सिव बस्ने हो भनेर गृहमन्त्री वामदेवले भन्नुभयो।
‘मन्त्रीज्यू, पुलिस चौकीमा हमला भइहेको छ, नागरिकलाई पक्रेर हातखुट्टा भाँचिउको छ, प्रजातन्त्रमा विश्वास राख्ने नेता कार्यकर्ता र सर्वसाधारणलाई उनीहरु टार्गेट गरिरहेका छन्,’मैले प्रतिवाद गर्दै भनेँ,‘उनीहरुले कानुन हातमा लिएर हिँडेका बेला प्रहरीले कसरी डिफेन्सिव भएर बस्न मिल्ला?’
‘सुरक्षा सिद्धान्तअनुसार यस्तो अवस्थामा प्रहरी अफेन्सिव भएर एक कदम अगाढि बढ्नुपर्छ,’मैले भनेँ। त्यो गृहमन्त्री वामदेव र मबीच भएको पहिलो विवाद थियो। उहाँले मेरो तर्क अस्वीकार गर्नु भयो। लगत्तै गृह मन्त्रालयले माओवादी गतिविधिमा प्रहरीलाई अफेन्सिव नहुनू भनेर परिपत्र आयो। मन्त्रालयबाटै यस्तोे निर्देशन आएपछि मैले थालिसकेको योजना रोक्नु प¥यो।
*****
२२ चैत, २०५३। म बिहानै पशुपति, गुह्येश्वरी दर्शन गर्न गएको थिएँ। दर्शन गरेर बिहान ६ बजे घर पुग्नेबित्तिकै खबर आयो–सरकारले मलाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई नयाँ आइजीपी नियुक्ति ग¥यो। म तीनछक्क परेँ। प्रहरी इतिहासमै यस्तो घटना भएको थिएन।
*****
लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढल्यो। अनि राप्रपा–कांग्रेस गठबन्धनको नयाँ सरकार बन्यो। २०५४ असोज २१ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनु भयो। सुरुमा राप्रपाका सदस्यमात्र मन्त्रिपरिषदमा सामेल थिए। यी राजनीतिक प्राणी भनेका कसता हुँदा रहेछन् भने, आफ्नो काम पर्दासम्म बिरालोले मुसा खेदेझै पछि लाग्ने, सकिएपछि अघाएको बाघझै सुतेर बस्ने। मेरो सन्दर्भमा पनि यस्तै भयो।
मलाई कांग्रेसबाट खुमबहादुर खड्का गृहमन्त्री बन्नुहुन्छ भन्ने लागेको थियो। खुमबहादुर नभए कांग्रेसबाटै कोही गृहमन्त्री बन्लान् भन्ने अनुमान थियो। पहिलो चरणमा सूर्यबहादुरजीले गृहमन्त्रालय सम्हाल्नु भयो। असोज २७ गते मन्त्रिपरिषद विस्तार भई राप्रपाकै बुद्धिमान तामाङ गृहमन्त्री भएर आए।
यी तिनै बुद्धिमान थिए, जो म पहिलो चोटी काडमाठौंमा पोस्टिङमा छँदा चोरी घटनामा पक्राउ परेका अभियुक्त छुटाउन आएका थिए। मलाई आइजीपीको कार्यकक्षमै डाकेर चोर छाड्न दबाब दिएपछि मेरो र उनको बाझाबाझ भएको थियो।
सत्ता गठबन्धनको खेलमा म आफू उल्लू बनेको महसुस गरेँ। बित्थामा मेरो इमानदारीमा आँच आयो भन्ने लाग्यो। तैपनि गृहमन्त्री हुने वित्तिकै बुद्धिमानलाई भेट्न घरै गएँ। बधाई दिएँ। ‘खुसी लाग्यो’ भनेँ। आफ्नो कुरा भने राखिनँ। उनले त बुझ्ने भइहाले। मेरा सबै कुरा उनलार्य थाहा थियो।
यति हुँदाहुँदै नयाँ सरकारमा बुद्धिमान जोडिएपछि मेरो पुनर्बहाली त्यसै अल्झदै गयो। सूर्यबहादुरजी मेरोभन्दा बुद्धिमानकै कुरा बढी सुन्नुहुन्थ्यो, जुन स्वभाविककै थियो। त्यसमाथि मलाई राष्ट्रिय अनुसन्धानमा सरुवा गराएर आइजीपी बन्न पुगेका ध्रुबबहादुर प्रधान पनि जोडिए। उनको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राजनीतिक सम्बन्धै रहेछ। कालान्तरमा उनको राप्रपा प्रवेशले यो सम्बन्ध पुष्टि भयो। त्यतिबेला भने मलाई यसको मेलोमेसो थिएन।
मेरो निर्णय ढिला हुँदै गयो, तै आशा बाँकी थियो। म हरेक मन्त्रिपरिषद बैठक आतुर भएर कुर्थें। आज होला छैन, भोलि होला छैन। कुर्दा कुर्दा हतार भएर नवराज सुवेदीलाई सोधेँ,‘के हो, सरकार ढलिसक्यो, मेरो काम किन भएन?’ उहाँसँग जवाफ थिएन। त्यसै आलटाल गर्दै टकटकिन खोज्नु भयो। ‘हुन्छ, हुन्छ’ भन्ने, कहिल्यै नगर्ने। सिधै सूर्यबहादुरजीलाई फोन गरेर सोध्ने कुरा पनि आएन।
म किसुनजी कहाँ गएँ। किसुनजीले ‘तपाईँको अझै भएको छैन!’ भन्दै उल्टो आश्चर्य मान्नुभयो। ‘मैले भनेको थिएँ नि, राजनीति गर्नेको भर हुँदैन,’उहाँले भन्नुभयो। मैले गिरिजाबाबुलाई पनि भेटेँ। ‘नगरेर सुख पाउँछ?’उहाँले भन्नुभयो,‘तिनीहरुले नगरे हामी आएपछि गर्छौं।’
कात्तिक ११ गते मन्त्रिपरिषद हेरफेर भयो। कांग्रेसबाट शरदसिंह भण्डारी मन्त्री हुनुभयो। गृहमा भने कुनै परिवर्तन भएन। त्यसको एक महिनापछि मंसिर १८ गते खुमबहादुर खड्का मन्त्रिपरिषदको दोस्रो वरीयतामा रहेर गृह मन्त्रालय सम्हाल्न आउनु भयो। बुद्धिमान तामाङलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सारियो।
यसबीचमा खुमबहादुरजीसँग मेरो भेट भइरहन्थ्यो। म उहाँको घरमै जान्थें। खुमबहादुर ठाडो स्वभावको हुनुहुन्थ्यो। उहाँले सिधै भन्नुभयो,‘आइजीपीको निर्णय नहुने भए हामी सरकार छोड्छौं।’ त्यसपछि बल्ल प्रधानमन्त्री सूर्यबहादुर थापालाई मेरो पक्षमा निर्णय गर्न कर लाग्यो। २०५४ मंसिर २६ गते मेरो पुनर्बहालीको निर्णय भयो। सरुवा भएको ८ महिनापछि म दोस्रो पटक आइजीपीको फुली लगाएर प्रहरी हेडक्वार्टर फर्केँ।
-नेपाल प्रहरीका पूर्व महानिरीक्षक खरेलकाे शनिबार बिमाेचित अात्मकथाबाट लिइएकाे अंश।