नेपाली कांग्रेसका युवानेता एनपी सावदले हालैको एक लेखमा लेखेका छन्, ‘सत्तापक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दम्भ बढेको छ ।’ देशमा यति फराकिलो बहुमतका साथ सरकार बनाउने दलको दम्भ बढ्नु अस्वाभाविक होइन । तर, त्यस्तो दम्भकोे खासै अर्थ रहँदैन ।
दक्षिण एशियाका साम्यवादी पार्टीहरूमा दम्भको उपस्थिति राम्रै छ । तर, त्यस्तो दम्भको खासै अर्थ भने छैन । एकताका सशक्त मानिने भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) को नेतृत्वमा पश्चिम बंगालमा वामपन्थी गठवन्धन सरकारले पच्चीस वर्षसम्म शासन गर्याे । तर, ज्योति बसु सक्रिय नरहेपछि त्यो गठवन्धनमात्र टुटेन, पश्चिम बंगालबाट वामपन्थी सरकार नै अस्तायो ।
अब, यसलाई सुखद् भन्नु कि दुःखद्, नेपालका वामपन्थीहरू सत्तामा छन् । तर, भारतमा रहेका तिनका वैचारिक साझेदारहरू सरकारबाहिर छन् । नेपालमा जसरी एउटा कांग्रेस नेता बडो ठाँटवाँठका साथ दौरा–सुरुवालमा जमेको हुन्छ, भारतीय वामपन्थीहरूको अवस्था पनि त्यत्तिकै ठाँटवाँठको हुन्छ । भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सत्तामा आएर पनि कम्युनिष्टहरूको सुख सयलमा खासै फरक आएको छैन ।
ठट्टा नगर्ने हो भने अहिले पाएको बहुमतले नेपाल कम्युनिष्ट पार्टीलाई अरु दुईपटक बहुमत ल्याउन पुग्नेछ । सम्पूर्ण नेपालभरि रेल, सडक, ठूला विद्युत आयोजना, बेरोजगारी हटाउने उद्योग, विभिन्न भत्ता लगायतका विकासका लागि जनताले पन्ध्र बर्ष छुट्याएको अनुमान गरेका छन् नेताहरूले । यो अवधिमा वोलेको कुरा पुग्ने गरी विकास नगर्ने हो भने जनताले अर्को चरणमा भोट दिने छैनन् । चुनावको यो अनुमान सीमाभन्दा बाहिरको पनि हुन सक्दछ ।
किनभने, नेपाल वा भारत कहीँका पनि साम्यवादीहरू माक्र्स, लेनिन र माओको विचारधारामा हिंडदैनन् । उनीहरू सबै आफनो विचारधाराले माक्र्सवादी विचारधारामा अक्सिजन भरेको दाबी गर्दछन् । यतातिरका साम्यवादीहरूलाई माक्र्स, लेनिन र माओले डो¥याएका छैनन्, उनीहरूको विचारलाई तोडमोड गरेर आफनो अनूकूल तुल्याएका मात्र छन् ।
यही कारण हो संसदमा दुई तिहाईभन्दा वढी मतमाथि कमाण्ड भएपनि प्रधानमन्त्री केपी ओलीले ‘खुम्चिएको’ प्रतिपक्ष नेपाली कांग्रेसको कमै आलोचना गरेका छन् । कांग्रेस खुम्चिँदा–खुम्चिँदा माइतीघर मण्डलामा खुम्चिएछ भन्ने उनको आलोचना यो साताको गम्भीर आलोचना होला । प्रम ओलीले बोल्नै पर्ने भएकाले मात्र यति बोलेका हुन् । नत्र, देशभरका सामाजिक संजालहरू उनकै कमाण्डमा छन् । कांग्रेसको आन्द्राभूँडी केलाउने काममा युवासंघ–वाइसीएल दुवै तन्केका छन् । यो अवस्थामा नेताले नीतिको भन्दा आफनै प्रचार गर्ने बानी परेको कांग्रेसलाई धक्का लाग्नु अस्वाभाविक होइन ।
कांग्रेस अहिले सुधारमा लागेको छ । तर, यसलाई सुधार गर्नुपर्ने वृत्तहरूका वारेमा खासै जानकारी छैन । समस्या आइपर्दा केही नाम चलेका नेताले काम गरिहाल्छन् भन्ने तदर्थवादी सोच स्पष्ट देखिन्छ अहिलेको कांग्रेसमा । चुनावमा पराजयपछि कांग्रेसका नेताहरू कमजोर भएका छन् र यिनीहरूबाट केही हुँदैन भन्ने सोचेका छन् कार्यकर्ताहरूले । चुनावमा हार्न नपर्ने नेताहरू किन हारे ? त्यसको मूल्यांकनको आवश्यकता देखेको छैन कांग्रेसले । कांग्रेसमा २०५१ पछि पुष्पित–पल्लवित अन्तरघाती संस्कारका वारेमा वढी चर्चा हुन्छ । तर, त्यो प्रवृत्तिलाई समाप्त पार्ने प्रयास हुँदैन । संघीय गणतान्त्रिक नेपालको पहिलो चुनावमा पनि कांग्रेस अन्तरघातको शिकार भएको हो भने यो ठूलो दुर्भाग्य हो ।
सत्तामा रहेका वामपन्थी नेताहरूका वीच आपसी एकता होइन, वैमनष्यता छ । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा अन्य कतिपय शीर्षस्थ नेताहरू एकअर्कासंग मिल्दैनन् भने प्रम ओलीसंग त मिल्ने कुरै भएन । तर, यो मनमुटाव स्पष्ट देखिदैन । यसको विपरित कांग्रेसमा झगडालु प्रवृत्ति वढी नै छ । यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेलको आक्रोश र आवेशको कुनै अर्थ छैन । त्यस्तै अहिलेसम्म युवा भन्न लायकका नेताहरू उप–सभापति बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. मीनेन्द्र रिजालले देउवा, कोइराला र पौडेलको पक्षधरताको पनि अर्थ छैन । पार्टीमा पक्ष बलियो हुनुपर्दछ । सरकारमा प्रतिपक्ष बलियो हुनु पर्दछ । अहिलेको मुख्य आवश्यकता यही हो ।