आजदेखि हामी स्पेसखबर लिएर तपाईंमाझ आएका छौं। www.spacekhabar.com मार्फत् हामी पाठकका रुची अनुसारका विषयवस्तु सम्बन्धी सत्यतथ्य सूचना, तिनको सही विश्लेषण र विज्ञका विचार पस्कने छौं।
पछिल्लो समय हामीकहाँ अनलाइन पत्रकारिताको विकास र विस्तार तीब्र रुपमा भइरहेको छ। यसको संख्यात्मक विकास हुनु पक्कै पनि खुसीको कुरा हो। तर, ती कत्तिको विश्वसनीय छन् र पाठकको मनमा कत्तिको जँचेका छन् भन्ने महत्वपूर्ण हो।
र, यो अनलाइनकर्मीका लागि चुनौती पनि हो। यसैले अनलाइनको भीडमा फरक पहिचानका साथ उपस्थिति जनाउन हामी प्रतिबद्ध छौं। यसका लागि सत्यतथ्य र सन्तुुलित समाचार, फरक एङगलका समाचारमा हामी जोड दिनेछौं। किनकि समयमै सही सूचना दिनु पत्रकारिताको धर्म पनि हो। यो धर्म र मर्मलाई हामी रत्तिभर डगमगाउन दिने छैनौं। किनकि हामीलाई थाहा छ, बिना तथ्य पस्किएका कथ्य समाचार सामग्री कालान्तरमा प्रत्युत्पादक हुनेछ।
पत्रकारिताको सामाजिक उत्तरदायित्वलाई भुलेर सस्तो लोकप्रियताको पछाडि हामी दगुर्ने छैनौं। सस्तो लोकप्रियताले अन्ततः विश्वासको संकट निम्त्याउने छ। त्यसकारण पाठकको विश्वासलाई हामीले ठूलो सम्पत्ति ठानेका छौं। यसलाई हामी गुम्न दिनेछैनौं, झनै दृढ बनाउने छौं।
लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रताजस्ता नागरिकका मौलिक हकका सवालमा हामी कसैसँग कुनै सम्झौता गर्ने छैनौं । एक दशकअघि मुलुकमा भएको राजनीतिक परिवर्तनका पक्षमा हाम्रो खबरदारी सदैब हुनेछ।
अन्त्यमा, पाठकको सहयोग, सद्भाव, सुझाब र सल्लाह हाम्रा लागि मार्ग निर्देशक हुनेछन्। हामी तपाईंबाट त्यसको अपेक्षा गर्दछौं।