(क) कांंग्रेसले गर्नै पर्ने काम:
(१) नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलन र परिवर्तनको मियो भएको हुनाले यसले लोकतान्त्रिक प्रणालीको रक्षाका लागि।
(२) कांग्रेस राष्ट्रवादी आन्दोलन भएको हुनाले यसले हिमाल, पहाड, तराई–मधेसलाई जोड्दै राष्ट्रियताको पूर्ण सुरक्षाका लागि।
(३) नेपालमा सामाजिक न्यायको प्रथम उद्घोषक भएको हुनाले: विपन्न, सीमान्तकृत र विभेदमा पारिएकाहरूका लागि न्याय र समृद्धि दिनुपर्ने जिम्मेदारी वहन गर्नका लागि।
(४) समावेसीताको प्रहिलो प्रयोगकर्ता र सिद्धान्त स्थापित गर्ने पार्टी भएको हुनाले व्यावहारिक प्रयोग गर्नका लागि।
(ख) कांग्रेसका सामुन्ने विगत र वर्तमानसँग जोडिएका प्रश्न:
(१) इतिहासको मूल्यांकन: ००७ मा राणाशासनको अन्त्य गरी लोकतान्त्रिक पद्धति स्थापित गर्ने पार्टी कांग्रेस विरुद्ध किन नेपालीहरू लागे ? किन त्यो परिवर्तन एक दशक नपुग्दै समाप्त भयो ? र परिवर्तनका नायक विपी कोइराला निरन्तर अपमानित भएर आठ वर्ष कठोर कारावास, आठ वर्ष निर्वासन र बाँकी चार वर्ष घातक रोगसँग लड्दै दिवंगत हुन पु¥यो? यसको कारण कांग्रेस बाहिर मात्रै छ कि कांग्रेस भित्र पनि लुकेको छ?
(२) अत्यन्त ठूलो बलिदान र यातनापछि ०४६ मा आएको परिवर्तन डेढ दशक नपुग्दै समाप्त भयो । तीस वर्षको त्यस निर्दलीय सत्ताको अन्त्यका नायक गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई बारम्बार अपमानित भएर अन्ततः पार्टीबाट अलग हुने निर्णयमा पुग्नु प¥यो किन ? यसको कारण के हुन सक्छ?
(३) ०६२ र ०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र वर्तमान परिवर्तनको नेतृत्व प्रदान गर्ने गिरिजाप्रसाद किन मृत्यु शैय्यामा पुग्ने समयमा समेत अपमानित हुनु प¥यो? किन नेपाली कांग्रेसले परिवर्तनको एक दशक पुग्दै गर्दा सम्पन्न राष्ट्रिय निर्वाचनमा लज्जाजनक पराजय व्यहोर्नु प¥यो ? यसको कारण के हुन सक्छ?
(४) नेतृत्वमा निरन्तर यौटै व्यक्ति वा परिवार मात्रै कांग्रेसमा किन हुने गरेको छ? के कांग्रेस नव सामन्तवादमा विश्वास गर्दछ? कांग्रेसको ७५ वर्षको जीवनमा कृष्णप्रसाद कोइरालाको परिवारले मात्र ५३ वर्ष पार्टी प्रमुख भएर नेतृत्व गरेको देखिन्छ । ५३ वर्षका उपलब्धिहरूको श्रेयको गणना गर्दा असफलताको बोझ कसले लिने ? के त्यो नेतृत्व जिम्मेदार थिएन वा छैन ? अनि अहिले कोइराला आऊ र कांग्रेस बचाऊ भन्ने नाराको के अर्थ ?
(५) कृष्णप्रसाद भट्टराई एक पल्ट निर्वाचित सभापति र एक पल्ट निर्वाचित प्रधानमन्त्री हुनुभयो तर वर्तमान सभापति करिब आठ दशक पुग्नै लाग्नु भएका शेरबहादुर देउवा पाँच पल्ट प्रधानमन्त्री र दुई पल्ट सभापति हुँदा समेत पद र सत्ताको भोक रहनै पर्ने र पुनः पुनः उहाँ नै रहनुपर्ने किन ? अबका दिनमा के नयाँ सोच, नयाँ शक्ति र नयाँपनको नेतृत्व दिने र परिवर्तन दिने क्षमता उहाँमा छ र ? वर्तमान सभापति देउवाले दुइटा अरु थप प्रश्नको सामना निरन्तर गरिनै रहनुपर्ने छ:
(क) १४ औं महाधिवेशनमा विमलेन्द्र निधिलाई सभापतिमा सहयोग गर्ने, आफू नउठ्ने भन्ने प्रतिबद्धताका साथ विमलेन्द्र निधिको समर्थन लिएर १३ औं महाधिवेशनमा सभापति बन्नुभएका तपाईं कसको स्वार्थको बन्दी भएर अहिले पुनः विमलेन्द्र निधि विरुद्ध सभापतिमा उठ्दै हुनुहुन्छ?
(ख) अहिले तपाईं पाँचौँ पटक प्रधानमन्त्री हुनुभएको गर्व गरिरहनुभएको छ । तर चौथो प्रधानमन्त्री बन्नु हुँदाको घटना र योजनाको प्रमुख को थियो ? बिर्सनुभयो ? चौथो पल्ट नआएको भए पाँचौँ हुने थियो र?
(ग) यी दुई प्रश्नले राजनीतिमा ढाँट, छल, अवसरवाद मात्र हुन्छ भन्ने सिद्ध हुन्छ, यस्तो गर्दा तपाईंबारे इतिहासले कस्तो समीक्षा गर्ने होला ? किन बिर्सिरहनु भएको छ?
(६) सत्ताको अन्तिम सिँढीमा विगत ३२ वर्षदेखि बस्नुभएका, पार्टी र सरकार अनि संसद्को नेतृत्व लिनुभएका, अनेक पटक प्रधानमन्त्री उम्मेदवारीमा पराजय खेप्नुभएका आठ दशक पूरा गरिसक्नुभएका रामचन्द्र पौडेलले अब कांग्रेसलाई पुनर्जीवन दिने भ्रम छरिरहनुपर्ने र त्यो कांग्रेसहरूका लागि गुरुमन्त्र मानिरहनु पर्ने किन?
(७) नेतृत्व परिवर्तनका लागि चर्का नारा दिने नयाँ पुस्ता नेतृत्व हस्तान्तरणको एक सिँढी तल ओर्लन नसक्ने अनि ती वृद्ध, जर्जर र परिणामविहीन विगत भएकाहरूको फेर समातेर अग्रगामी चिन्तन र सोचको व्याख्या गर्नै पर्ने उनीहरूको बाध्यता कि अवसरवाद?
(८) के अहिलेको परिवर्तनको स्वामित्व कांग्रेस लिन तयार छैन? छ भने यसको व्यावहारिक पक्षलाई पार्टीभित्र प्रयोग गर्न किन अरुचि छ कांग्रेसमा?
(९) के कांग्रेसजनलाई राष्ट्रिय निर्वाचनमा विजयको कुनै परिकल्पना र सपना छैन? किन?
(१०) आत्मकेन्द्रित मूल्यांकन गरी आफ्नो महत्वाकांक्षा र स्वार्थको बन्दी भएर कुनै व्यक्तिको सेवक हुने कि देश र नेपाली जनताको सही सेवा गर्न लोकतन्त्र र कांग्रेसका पक्षमा उभिने?
कांग्रेसजनका सामुन्ने आजका यी यक्ष प्रश्नहरूको उत्तर अनिवार्य भएको छ र यी प्रश्नहरूको उत्तर १४ औँ महाधिवेशनमा आउनु भएका महाधिवेशन प्रतिनिधिहरू र महासमिति सदस्यहरूले अनिवार्य रूपमादिनु पर्ने छ।
(ग) १४ औं महाधिवेशनबाट कस्को नेतृत्व?
माथिका प्रश्नहरू र विश्लेषणका आधारमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नभएर सम्मानित अभिभावकत्वमा रहनु अनिवार्य भएको छ । त्यसपछिका चार जनामा नेतृत्वको विवेचना हुन सक्छ।
(क) उमेरका आधारमा क्रमशः
(१) डा. शेखर कोइराला सत्तरी माथि।
(२) क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक तिनै जना पैँसठ्ठी र सत्तरीका बीचमा।
(३) सभापतिका दावेदारहरूमध्ये कल्याण गुरुङ र गोपालमानको यहाँचर्चा गरिएको छैन। कल्याण भविष्यका लागि आफूलाई परीक्षण गर्दै हुनुहुन्छ भने गोपालमान दवावका लागि दावी गरिरहनुभएको स्पष्ट छ।
(ख) सक्रिय राजनीतिका आधारमा:
(१) डा. शशांक ०६४ को संविधान सभामा निर्वाचनमा उम्मेदवार हुनु भएपछि सक्रिय राजनीतिमा संलग्न। अर्थात् १३ वर्ष मात्रै भयो।
(२) डा. शेखर ०६१ प्छि सक्रिय राजनीतिमा होमिनुभयो। अर्थात् उहाँ १७ वर्ष मात्रै भयो सक्रिय भएको। त्यसअघि उहाँ निरन्तर सरकारी नियुक्तिहरूका महत्वपूर्ण पदहरूमा रहनुभयो।
(३) प्रकाशमान सिंह ०३९ सालदेखि निरन्तर सक्रिय राजनीतिमा हुनुहुन्छ , अर्थात् करिब चालीस वर्ष भयो।
(४) विमलेन्द्र निधि: वि.सं. २०२६ सालमा पहिलो पटक निर्दलीय पञ्चायतको विरोधमा सहभागी भएर गिरफ्तार भएदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा र कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको छ। अर्थात् करिब ५३ वर्ष भयो।
(ग) पारिवारिक पृष्ठभूमि:
सबैको उस्तै छ। डा. शेखर नोना पुत्र, र शशांक विपी कोइराला पुत्र, प्रकाशमान, गणेशमान सिंह पुत्र र विमलेन्द्र, महेन्द्रनारायण निधि पुत्र। अर्थात् एउटा पहाडको समुदाय, अर्को तराई–मधेस समुदाय र अर्को काठमाडौंको नेवारी समुदायबाट राष्ट्रका निधिहरूका सन्तानहरू।
(घ) कांग्रेसको अवस्था:
कांग्रेसको विगत ७५ वर्षको समयलाई हेर्दा:
(१) तराई–मधेसी समुदाय र जनजाति समुदायबाट सभापति भएको छैन।
(२) निरन्तर ब्राह्मण र क्षत्रीयहरूको नेतृत्व रहेको छ।
(३) सुवर्ण संसेर र शेरबहादुर देउवा मात्रै क्षत्रीबाट सभापति हुन् भने विपी, मातृका, कृष्णप्रसाद, गिरिजाप्रसाद र सुशील कोइराला उपाध्याय ब्राह्मण हुनुहुन्थ्यो।
(४) ७५ वर्षमध्ये ५३ वर्ष कोइरालाहरूले मात्रै कांग्रेसको नेतृत्व लिएको देखिन्छ। विपी, मातृका, गिरिजाप्रसाद र सुशील कोइराला गरी । यसरी हेर्दा कोइराला आऊ कांग्रेस बचाऊ भन्ने नारा आफैँमा नव सामन्तवादको विद्रुप देखिन्छ।
(ङ) यो नियतिलाई चिर्नका लागि:
(१) आउने संघीय, प्रादेशिक र स्थानीय निर्वाचनमा ०४६ सालपछि राजनीतिको ट्रयाक बिगारेर कांग्रेसको दुर्गतिका लागि बाटो सजिलो बनाउँदै आएको अन्तिम शृंखला वर्तमानको नियति कांग्रेसलाई जनताले भरोसा गर्न योग्य बनाउनु जरुरी छ।
(२) कांग्रेसमा निरन्तर स्खलित भएको विधि, व्यवहार, आचरण र सम्बन्धहरूलाई ठीक बाटोमा ल्याउनु आवश्यक छ।
(३) करिब भताभुंग अवस्थाको सचिवालय, पुस्तकालय, पठन संस्कृतिलाई सहीमार्गमा ल्याउनु छ। प्रशिक्षणलाई वडा तहसम्म गराउनु र नयाँपुस्तालाई लोकतन्त्रवारे दीक्षित र अभिप्रेरित गर्न लोकतन्त्र र नेपाल ज्ञान परीक्षा सहित अन्य विविध कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
(४) पद, शक्ति, पैसा र बाहुबलमा विस्तार हुँदै गएको अनुशासनहीन चरित्रलाई निमिट्यान्न पारी लोकतान्त्रिक मर्यादा र संस्कृतिको निर्माण गर्नु आवश्यक छ।
(५) समावेसी सिद्धान्तको व्यावहारिक र तर्कपूर्ण कार्यान्वयन आवश्यक छ।
(६) हिमाल, पहाड र तराई–मधेस जोड्ने र विविधतापूर्ण नेपाली मन जोड्ने नेतृत्व आवश्यक छ।
(च) यस्तो नेतृत्व विमलेन्द्र निधि किन हुन सक्नुहुन्छ?
(१) नेपाली कांग्रेसको इतिहासमा तराई–मधेस समुदायबाट पहिलो पटक नेपाली कांग्रेसमा निधिको उम्मेदवारी हो।
(२) निधिपछि अरु करिब २५ वर्षसम्म कांग्रेसमा तराई–मधेसबाट सभापतिको दावेदार सम्भव नदेखिएको अवस्थामा १०० वर्षको इतिहासको मध्यमा कांग्रेसको पुनर्जीवनका लागि निधिको नेतृत्व महत्वपूर्ण हुन सक्छ।
(३) निधिको उम्मेदवारीको समर्थन गर्नुको अर्थ समावेसीता र समानुपातिकताको सम्मान गर्नु हुनेछ।
(४) नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको जग तराई–मधेस भएको हुनाले त्यसको सम्मान हुनेछ।
(५) वर्तमान संविधानमा रहेका मौलिक तत्वको सशक्त प्रतिरक्षा र पक्षपोषण गर्ने नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा सभापतिका यी दावेदारहरूमध्ये विमलेन्द्र निधि मात्रै देखिनुभएको छ। अरु नेताहरू संविधान जारी गरेकोमा गौरव बोध गरे पनि संविधानका अनेक व्यवस्थाप्रति असहमति जनाउने दोहोरो चरित्र देखाइहनु भएको छ।
(६) तत्कालीन प्रजातान्त्रिक कांग्रेसमा कदमजम( अर्थात् कर्णाली, दलित, महिला, जनजाति र मधेसी) लाई नेतृत्वमा आरक्षण गर्दै पु¥याउन प्रस्ताव राख्ने पहिलो नेता विमलेन्द्र निधि नै हो । त्यस विरुद्ध आज नेतृत्वमा रहेका धेरै जना थिए। तर अहिले देशको संविधान र नेपाली कांग्रेसको विधानमा समेत आरक्षण र समावेसी समानुपातिकता रहेको छ। यसकारण उहाँमा दूर दृष्टिकोण देखिन्छ।
(७) नेपाली कांग्रेसको समकालीन पुस्तामा धेरै अनुभवले खारिएको र राष्ट्रिय र अन्तरराष्ट्रिय समुदायसँग समेत क्षमता प्रस्तुत गर्ने व्यक्तित्व विमलेन्द्र निधि देखिनुभएको छ।
(८) नेपाली कांग्रेसमा उठिरहेको पुस्ता रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरणको सन्धिविन्दुमा निधि उपयुक्त सेतु हुन सक्नुहुन्छ।
(९) आगामी वर्ष हुने संघीय, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीको बहुमतका लागि, पार्टीभित्र विकसित गूट–उपगूटले पारेको ठाडो चिरालाई रोक्नका लागि र पुनः नेपाली कांग्रेस, नेपालको लोकतन्त्रको सबल आधार विकास गर्नका लागि आजका दिनमा उपयुक्त विमलेन्द्र निधि नै हुनुहुन्छ। यसर्थ दावी गर्ने सबै नेताहरूले पार्टीलाई सबल बनाउन आत्मकेन्द्रित जय र पराजयको अहंकार, आकांक्षा, भय र कुण्ठा सिद्ध गर्नुको साटो कांग्रेसको विजयका लागि निधिलाई सर्वसम्मत सभापति बनाउनु बुद्धिमत्ता हुने छ । आफू जित्ने र कांग्रेस हार्ने बाटो घातक हुने छ। हो, उहाँबाहेक कोही अरुमा यति धेरै विषय जोडिएका छन् र सर्वसम्मत हुन सक्छ भने त्यो फरक विषय हो।
आज पनि कांग्रेसमा एकताका लागि मेरो प्रस्ताव छ: राष्ट्रिय निर्वाचन जित्न सभापतिमा तराई–मधेसबाट विमलेन्द्र निधि, निर्वाचनपछि प्रधानमन्त्रीमा आदिवासी जनजाति नेवारी समुदायको उपत्यकाबाट प्रकाशमान सिंह र राष्ट्रपतिमा पहाडी समुदायबाट रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा कोइराला परिवारबाट महिला वा पुरुषको सहमति आवश्यक हुन्छ।
बाँकी मर्जी कांग्रेसका नेताहरू, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको नै हो। विज्ञेषु किमधिकम्।