नेपाली कांग्रेसको १४ औं महाधिवेशन यहि मंसीर २४, २५ र २६ गते काठमाडौंमा हुँदैछ। कांंग्रेसको मधेशसँग निकै पुरानो र नङ्ग–मासुको सम्बन्ध छ। आजको दिनमा मधेशबाट पहिलो चोटी सभापतिको उम्मेद्वारमा उपसभापति विमलेन्द्र निधिले आफ्नो मिहिनेत र पार्टी अन्तरसंघर्षको बीच प्रस्तुत गरेका छन्।
निधि देशमा भएको पछिल्लो राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्नका लागि अबिचलित छन्। मधेश आन्दोलनका बेला कांग्रेसका मैं हुँ भन्ने कतिपय नेताले स्वार्थका लागि पार्टी छाडेर हिडे। तर त्यस्ता कुनै स्वार्थमा नलागी निधिले मधेशमा कांग्रेसलाई जोगाएर राखेको यथर्थाता हाम्रा सामु छ। भौतिक पूर्बाधार मन्त्रीको कार्यकालमा रेललगायत स्थल मार्गका नक्शा उनकै पहलमा कोरिएको हो। दरबन्दी लुकाएर आफन्तलाई करारमा जागिर खुवाउने गलत कामको अन्त्य निधि सामान्य प्रशासन मन्त्री भएका बेला नै गरिएको हो। राजर्षी जनक विश्वविद्यालयको स्थापना उनकै पहलमा भएको हो।
नेपाली कांग्रेसको सात दशक लामो इतिहासमा मधेशबाट पहिलो पटक निधि अघि सरेका छन्। ऐतिहासिक परिवर्तन पक्षधर निधि सबै वर्ग, जात, जाति, धर्म र भूगोलका मान्छेलाई समेटेर जाने हैसियत राख्छन्। अतः उनको जितले कांग्रेसकै दशा र दिशा बदल्न सक्छ।
सभापतिको तयारीका क्रममा निधिले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्। निधिको सचिवालयलाई नै हेर्दा प्रष्ट हुन्छ कि उनी कति समावेशी र गणतान्त्रिक चरित्रका छन् भनेर। उनका महत्वपूर्ण सहयोगीहरुमा गैरमधेशीको बाहुल्यता छ। निधि संविधान पक्षधर हुन्। संविधान पक्षधर हुनु भनेको कुनै जात वा धर्मविरोधी वा समर्थक हुनु हो भने यस्तो भ्रामक प्रचार गर्ने उहाँका अन्य प्रतिस्पर्धीले कि संविधान बदलिदिन्छु वा म यो संविधान मान्दिन भन्ने हिम्मत गर्न सक्नुपर्छ।
गत २०७४ सालको निर्वाचनमा तात्कालीन राजपाका राजेन्द्र महतोलाई केपी ओलीको डिजाइनमा सर्लाहीबाट धनुषा लगेर मोर्चाबन्दी गरी निधिलाई हराउने काम भयो। एमाले माओवादीको सरकार गिराउनका लागि प्रमुख भूमिका खेलेका निधिसँग बदला लिनका लागि ओलीले त्यसो गरेका थिए। जुन कुरा ओलीका बिश्वासपात्र महेश बस्नेतले एउटा टेलिभिजन अन्तर्बार्तामा खुलासा गरेका छन्।
निधिको सभापतिमा उम्मेदबारीप्रति कांग्रेस निकट प्रायः जनकपुर वा मधेशबाहेकका बुद्धिजिवी डाक्टर, ईन्जिनियर, प्राध्यापक, शिक्षक, वकिलहरु सभापतिको पल्ला देशी, विदेशीको सहयोगमा कता ढल्किने हो, त्यसलाई ‘पर्ख र हेर’को नीतिमा छन्।
संविधान पक्षधर भई ईमान्दारीपूर्वक सबै जात तथा वर्गका जनताको अधिकार र सम्मानलाई देशको आर्थिक समृद्धिको मुद्धासँग निधिले जोडेर अगाडि बढेकाले नै कांग्रेसी, वामपन्थीहरु तथा कथित् मधेशवादी दलका नेताहरुको ओठतालु सुकिसकेको छ। किनकि निधि बोलेको वा तय गरिसकेको मुद्धालाई अर्जुन दृष्टिले कार्यान्वयन गर्ने समर्पित नेताको रुपमा चिनिन्छन्। यसकारण आफूहरुको ‘राजनैतिक खेतीपाति’ सदाको लागि समाप्त हुने त्रासमा निधिका प्रतिस्पर्धीहरु छन्। यसो हुँदा वामपन्थी गफाडीहरुको ‘पार्टी पसल’ बन्द हुनेछ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका निधिसँग कांग्रेसका लागि वैचारिक आधारहरु पनि छन्। जसलाई उनले पक्कै पनि घोषणापत्रमा उतार्ने छन्। यस पटक पनि मधेशी सभापति भएन भने मधेशमा कांग्रेसले कसरी भोट माग्ने भन्ने समस्याले पनि मधेशीलगायत अन्य जनताको आशा यहि हो कि अन्ततोगत्वा महाधिवेशनको अन्तिम समयमा एउटा वातावरण बन्ने छ र विमलेन्द्र निधिलाई सबैले सहर्ष सभापतिमा सहमतिमै ल्याउनेछन्।
देशी–विदेशी वामपन्थी दबावबीच नेपाली कांग्रेसको भविष्यको लागि उनीहरु वर्तमान नेतृत्वलाई परिवर्तन गर्न चाहन्छन्। जसबाट जनताको अधिकारलाई सुनिश्चित गर्ने ईमान्दार पार्टीमा स्थापित हुनेछन्। सत्चरित्र, निष्कलंक, शान्तिप्रिय, धैयवान र उत्साहित नेता निधि नै हुन्। अधिकारबाट वञ्चित सबैलाई समेट्ने तथा युवा वर्गलाई पार्टीमा काम दिनसक्ने नेता निधि नै हुन्।