नेपालकै सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको महाधिवेशन आउने मंसीर २४, २५ र २६ गतेलाई काठमाडौंमा गर्ने भनेर तोकिएको छ। कांंग्रेसको मधेशसँग निकै पुरानो सम्बन्ध छ। दोस्रो जनआन्दोलन अघिसम्म काठमाडौंमा मधेशका मान्छे देख्यो भने ‘कांग्रेसी’ नै होलान् भन्ठानिन्थ्यो। तर पछि ‘कांग्रेसी वा सद्भावना’ सम्म त्यो झर्यो भने आज ‘फोरम’ मा झरेको सतही कहावत छ। मधेशीहरु सधैं राणा वा पञ्चायती एकदलीय प्रणालीको विरुद्धमा उभिएर लोकतान्त्रिक रहेको पटकपटकको निर्वाचनमा काँग्रेसीजनलाई जिताएर प्रमाणित गरिसकेका छन्।
तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिलाई गणेशमान सिंहले सभापति र प्रधानमन्त्रीमा प्रस्ताव गरे पनि सिंहलाई अपमानित गरी पार्टीबाटै पाखा लगाइयो। कांग्रेसले विगतमा गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर लगायत धेरै मधेशी नेतृत्वलाई उचित सम्मान नदिएकै कारण उनीहरु क्षेत्रीय दल वा अन्य दिशातिर लागेको यथार्य हाम्रो सामु छ।
देउवा–निधि सम्बन्ध
कांग्रेस सभापति तथा प्रम शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिको सम्बन्ध कसैको विरासत वा अनुहार नहेरिकन उहाँहरुको जुझारुपन, मिहिनेत, जोश र पार्टीप्रतिको निष्ठा देखेर बीपी कोइरालाले नेवि संघबाट एकअर्काका परिपूरक बनाएका थिए। तर नेवि संघका सभापति देउवाले महाधिवेशन गराउन नसेकेको अवस्थामा बीपी कोइरालाले निधिलाई ल्याउनुपरेको थियो। त्यसपछि आजपर्यन्त देउवा–निधिको जोडी ‘बराबरी’ तर ‘कोही कसैलाई दिने हैसियतमा नभई सहयोग गरी सफल बनाउने’ भनेर चिनिदै आएका छन्।
त्यसैले सभापति देउवाले ‘मैंले दिएर उपसभापति बनेको’ जस्तो अहंकारी अभिव्यक्ति दिएर आगामी निर्वाचनमा मधेशी भावना भड्काउने तथा बीपीलाई अनादर गर्ने काम पनि तत्काल बन्द गर्नुपर्छ। पार्टीको गुटगत राजनीति, सभापति वा पटकपटकको प्रम बन्नु पछाडिका कारण र ती सरकारलाई अन्तर्राष्टिय समर्थन जुटाएर सफल बनाउन निधिको योगदान र निःस्वार्थ सहयोग सभापति देउवाले भुल्नु हँुदैन। अधिकार नखोज्दासम्म मित्र, असल सहयोगी ठान्ने अनि पालो खोज्दा शत्रुगत व्यवहार गर्ने काम तत्काल बन्द गर्नुपर्छ।
निधिका चुनौतीका विभिन्न आयाम
काँग्रेसको इतिहासमा सहज वा असहज परिस्थितिमा मधेशबाट सभापतिको भूमिकामा कोही पनि आउन नसकेका कारण पूर्ब सभापतिको सूची नै असमावेशी लाग्छ। यहाँ उल्लेख गर्नैपर्छ कि कांग्रेसका केही शीर्ष नेताहरुमात्र यस्ता भए जसमध्ये धनुषाको नगराईनका तत्कालीन जमिन्दार राजेश्वर निधिका सुपुत्र महेन्द्रनारायण निधि तथा महेन्द्रनारायणका कान्छा सुपुत्र विमलेन्द्र देश र पार्टीभित्र जे–जस्ता अनुकूल–प्रतिकूल परिस्थिति आए पनि निष्ठाका साथ सत्तिसाल झैं उभिएका छन्।
आज मधेशवादी दाबी गर्र्ने दलहरुबाहेक वामपन्थी वा राप्रपाहरु कहिँकतै टेलिस्कोप लगाएर हेर्दा पनि महासचिव वा उपाध्यक्ष वा अध्यक्षको हैसियतमा पुगेका छैनन्, त्यो केबल सभापतिको उम्मेदबार काँग्रेस पार्टीमै छन्, उपसभापति विमलेन्द। तर मधेशमै केही तत्व सभापतिमा नेता निधिलाई रोक्न केही गैह्रमधेशी सभापतिका आकांक्षीबाट प्रोजेक्टेड भएर सक्रिय छन्। इतिहासले क्रूर समीक्षा गर्नेछ यो सोधेर कि ‘गैह्रमधेशीले मधेशीलाई नेतृत्व दिएन भनेर किन कराएको जबकि तिमी स्वयं अरुको पिछलग्गु बनेका छौं ?’ जबकि सभापतिमा निधिको विरोध गर्ने ‘हैसियत’ उनीहरुले बुवा–छोरा निधिद्वयबाट नै पाएका हुन्। तर साथ सहयोग लिने बेला निधिको अनि सभापतिको प्रतिस्पर्धाका बेला जात, धर्म, समुदाय, भूगोलको ‘चश्मा’ले हेर्नुले पनि विमलेन्द्र निधि मधेशबाट सबाल्टर्न बन्न पुगेका छन्। सबाल्टर्न भनेको सामान्यतया एकै समयमा धेरै विभेदमा पर्नुु हो। मधेशीले मधेशीको खुट्टा तान्नु कालीदास प्रवृति र अनैतिक कार्य हो ।
नेता निधि विगतमा मधेशको हकमा काम गर्दा कांग्रेसी तथा अन्य दलका मधेशी नेताद्वारा नै कांग्रेस नेतृत्वसमक्ष कुरो लगाउने नारदप्रवृति पीडित छन् भने आज अन्यलाई आर्थिक, राजनैतिक रुपमा उद्धार गर्नुपर्नेमा ‘सबाल्टर्न’ मा परिणत भएका छन्। परिवर्तन चाहने मधेशी, पहाडी सबै कांग्रेसजन एकभएर संविधान पक्षधर निधिलाई सभापतिमा ल्याउनुपर्छ, जसले नेतृत्व परिवर्तनको पनि थालनी गरोस्। संविधान पक्षधर हुनु भनेको कुनै जात र धर्मको विरुद्ध जानु होइन।
नेतृत्वको निष्ठा र कर्तव्य
मधेशवादी कहलिने क्षेत्रीय दलहरु यस्तो अवस्थामा छन् कि कुनै पनि दलको नाममा ‘मधेश’ शब्द छैन भने गैरमधेशीले मधेशीलाई निलम्बन गर्ने हैसियत राखेका छन्, सरिता गिरी र स्वयं महन्थ ठाकुुर ‘जसपा’बाट। यस अवस्थामा मधेशीहरुले कांग्रेसबाट धेरै नै अपेक्षा राखेका छन्। त्यसकारण मधेशमा कांग्रेसले मात्तिएर मधेशी जनताको भावनासँग खेलवाड गर्नुहुँदैन। यस्तो अवस्थामा प्रहरी स्रोतको गोप्य आँकलन अनुसार प्रम देउवाले तीनटै तहको निर्वाचन गराएरमात्र महाधिवेशन गराउने कुरा काँग्रेसलाई संवैधानिक तथा राष्ट्रिय सभाको निर्वाचनलगायत मुद्धा काँग्रेसलाई सिध्याउने सावित हुनेछ। त्यसकारण अब समय पुगेन वा अन्य कुनै पनि बहानामा काँग्रेसको चौधौं महाधिवेशन तोकिएको समयमा गर्नैपर्छ होइन भने असफल नेतृत्वको बिल्ला भिरेर सभापति देउवाले तत्काल राजीनामा दिनुपर्छ। नदिएमा माग्नुपर्छ।
काँग्रेसको इतिहासमा सहज वा असहज परिस्थितिमा कोही पनि मधेशबाट सभापतिको भूमिकामा आउन नसकेका कारण सभापतिको सूची नै असमावेशी लाग्छ। जसले गर्दा मधेशीलाई अब विमलेन्द्र निधि सभापतिमा रहेको अवस्थाबाहेक मत माग्न पनि लाज लाग्नु पर्ने अबस्था आउन सक्छ।
मधेशी जनताले २०६३ सालपछिका मधेश आन्दोलन र मधेशी क्षेत्रीय दलका नेताहरुले व्यक्तिगत लाभ पाउनु, आफन्त वा विशेषलाई जागिर र रोजगारको अवसर उपलब्ध गराउन बाहेक उल्लेख्य काम गरेको पाइदैन। तर समग्र मधेशको उन्नतीप्रगतिका पक्षमा काम गरेकोले आममधेशीले आगामी सभापतिको रुपमा नेता विमलेन्द्र निधिबाट कांग्रेसले यी विकास तथा प्रगतिका आशहरु राखेका छन्।
कांग्रेसले सधैं एकल समुदायको नेतृत्व चयन गर्नुभन्दा पनि विगतको ‘सभापतिको ब्यानरलाई सच्याउन’, छिमेकी लोकतान्त्रिक देशलगायत विश्व परिवेशको भाषाको मर्म, प्रतिस्पर्धाभन्दा सौहाद्रपूर्ण सर्वसम्मत नेतृत्व चयन गर्न, आउने चुनावमा मधेशी मतदाताको मनोबल उच्च राख्न, विगतमा विमलेन्द्र निधिले विभिन्न समयमा नेतृत्व टकरावकोबीच खेलेको ‘मध्यस्थता’, कठिन परिस्थितिमा पनि देश तथा समुदायको हितलाई ख्याल गरी पार्टीको मार्गदर्शन र चुनावी अजेण्डा तय गर्न सफल ‘चाणक्य’, कुशल र प्रष्टवक्ता, वामपन्थिसँग परे भिडेर नभए मिलाएर जानसक्ने, तत्काल परिणाम दिने नेता विमलेन्द्र निधिलाई सर्वसम्मत सभापति बनाउनु पर्छ।