अहङ्कार के हो ? भन्ने बारेमा गीता सारमा भनिएको छ:- गर्व, अभिमान र अहङ्कार तीनओटै कुरा सुन्नमा एउटै लाग्नसक्छ तर अर्थ र परिणाम भिन्न हुन्छ। परिश्रमबाट गर्वको जन्म हुन्। सफलताले अभिमान जगाउँछ। अभिमानसँग अहङ्कार अङ्कुराउन थाल्छ। मानिस आफ्नो कर्मक्षेत्रको उचाइमा पुगेर अरुलाई होचो/निच सम्झने भाव नै अहङ्कार हो।
गर्व र अभिमानसम्मको सिमारेखा सबैलाई पाच्य हुन्छ। जब यो भावना अहङ्कार बन्छ नि तब यो समस्या बन्न पुग्छ। नेपालमा ओलीतन्त्रको अहङ्कारले राजनीतिक प्रणाली नै दुष्प्रभावित बनेको छ। अहिले ओली अहङ्कारको नियति मच्चियो मच्चियो थच्चियोको अवस्थामा पुगेको छ। यस आलेखमा प्रधानमन्त्री केपी शर्मा ओलीको गर्व, अभिमान र अहङ्कारका केही पक्ष चर्चा गरिएको छ।
ओलीको गर्व
माओवादीको हिंस्रक राजनीतिलाई शान्तिप्रक्रियामा ल्याउने प्रयाससँगै नेपाली राजनीतिमा तीनवटा शब्द ज्यादा प्रचलनमा आए:- सहकार्य, सहमति र समन्वय। मूख्य राजनीतिक दल र पात्रहरुले विभिन्न आरोह अवरोहका बीच पनि राजनीतिक मार्गचित्रलाई निरन्तरता दिए र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको नयाँ संविधान २०७२ मा जारी गर्न सफल भए। संविधान जारी भएपछि सहमतिकै सम्झौताको आडमा २०७१ मा नेकपा एमालेको निर्वाचित अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। नयाँ संविधान घोषणा हुँदा 'नोटिस'मा राखेको भारतले त्यस लगत्तै लगाएको नाकाबन्दी र सोही अवधिको मधेश आन्दोलनमा अडान लिएर राष्ट्रवादी छवि बनाउन सफल रहे। भारतसँग मात्रै निर्भर रहेको पारवहन मार्ग व्यवहारिक पक्षमा सफल नभएपनि चीन तर्फबाट पनि खुलाउने उनको सक्रियता प्रसंशायोग्य रह्यो।
दलहरुबीच दीगो समन्वय हुन नसक्ने नेपाली राजनीतिको शिकार बन्दै सत्ताबाट ०७३ साउनमा बाहिरिएपछि २०७४ को आम चुनावमा नेकपा एमालेले उनकै नेतृत्वमा राजनीतिक विचारधारा विपरित सुहाउने नसुहाउने सबै साँठगाँठ गरी चुनावमा अपार सफलता प्राप्त गर्यो। माओवादी केन्द्रसँगको चुनावी एकता र त्यसपछि पार्टी एकता गरेर दक्षिण एशियामा नै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष भएका प्रधानमन्त्री ओलीसँग संसदमा प्रतिपक्षी काङ्ग्रेसबाहेक सबै पार्टीको समर्थन थियो। अर्थात् उनीसँग राजनीतिक प्रक्रियामा विरलै प्राप्त हुने दुईतिहाइ बहुमत थियो, जसको सामर्थ्य मानिसको लिङ्ग परिवर्तन बाहेक सबै गर्नसक्ने अवस्था मानिन्छ। अब त मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने अवस्थामा देखिएकैले पनि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। यो अवस्थासम्मको सफलताप्रति ओलीले गर्व र अभिमान दुवै गर्दा अत्युक्ति हुँदैन।
यही समर्थनकै कारण विकासका केही हावादारी कार्यक्रम घोषणा गर्दा पत्याउनेको जमात ठूलै थियो। सिलिन्डर बोक्ने जमाना गए, अब भान्साकोठामा ग्याँस पाइप आइहाल्छ, चुच्चे थुतुनो भएको रेलको टिकट काट्न लाइनमा बस्नु, अब सुरुङ युग सुरु भइसक्यो, पानी जहाज अब नेपाल आफैले चलाउने जस्ता सपना बाँडे र यी क्षेत्रमा उल्लेख्य सिन्को नभाँची उनले तीन वर्ष त कटाए।
सङ्घीय संरचनाको अभ्यासलाई नयाँ उचाईमा पुर्याउन ओलीका लागि अनुकूल अवसर थियो। सङ्घीयता नरुचाएको कुरा उनकै कार्यशैलीले पुष्टी गरिसकेको छ। संविधानले किटेका अधिकार प्रयोग गर्न पनि उनकै रोजाइका केही मुख्यमन्त्रीले उनका विरुद्ध दवाव सृजना गर्नुपरेको थियो। भ्रष्टाचार विरोधी लोकप्रिय नारा दिएका उनलाई वास्तवमै काम गरेर देखाउन केही रोकटोक थिएन। प्रदेश नंबर २ बाहेक सबै प्रदेशमा आफ्नै पार्टीको सरकार थिए। स्थानीय निकायमा उनकै पार्टीको वर्चश्व छ। तर उनले यस्तो सुगम अवसरलाई पार्टी भित्रको आफ्नो गुटको पक्षपोषणमा मात्रै समय विताए। ओलीको वर्चश्व रहेका प्रदेशहरु कै कार्यसम्पादन औसत भन्दा तल रह्यो। यतिसम्म कि प्रदेशकै नाम राख्ने काम पनि समयमै भएनन्। ओली निर्वाचित भएको झापा जिल्ला रहेको प्रदेश अझै वेनामी छ। त्यहाँ उनकै प्रियपात्र मुख्यमन्त्री छन्। समग्रमा ओलीले अवसरलाई सदुपयोग गर्नुको साटो विरोधीलाई ठेगान लगाउने काममा मात्रै अल्झिए र प्रोपोगाण्डाको राजनीतिमै रमाए।
अभिमान र अहङ्कार
निर्वाचनमा पाएको सफलतासँगै ओलीको अभिमान र अहङ्कार प्रारम्भ भएको हो। अंकगणितीय दम्भकै कारण ओलीले राजनीतिक स्थायित्व दिनसक्ने पार्टी र सरकार छिन्नभिन्न पारिसकेका छन् भने राज्यको शासन प्रशासनमा दूरगामी प्रभाव पर्ने गरि हस्तक्षेप एवं मनोमानी गरेका छन्। पार्टी भित्रको आलोचना संविधान भन्दा आफू माथि रहेको जस्तो गरी संसदलाई वेवास्ता गरी अध्यादेशबाट संवैधानिक परिषदको संरचना र मर्ममाथि निर्मम प्रहार गर्दै संवैधानिक अंगहरुमा मनोमानी नियुक्ति गरेका छन्। प्रदेश प्रमुखहरु आफ्नो वफादार कारिन्दा नवनेको भन्दै क्षणभरमै मिल्क्याइदिएका छन्। यी उपक्रमहरुमा आँखा चिम्लेर सहयोग गरिरहेकी राष्ट्रपति संवैधानिक दायित्वबाट विमुख रहेर ओलीको असल सहयोगी बनेकी छन्। राज्यप्रति उनको जवाफदेहीता क्रमश: मूल्याङ्कन हुँदै जानेछ ।
अहङ्कारकै कारण प्रधानमन्त्रीले तर्क र विज्ञानसम्मत कुरालाई नजर अन्दाज गरेका छन्। कोरोना प्रभावको पहिलो लहर अवधिभरि हावादारी कुरा गरेरै उनले समय कटाए। दोस्रो लहरको प्रभाव बाक्लिदै गर्दा नियन्त्रण भित्रै रहेको भनी झूठो तथ्यको वकालत गरिरहेकै छन्।
आफू विरुद्धको आलोचना सुन्न नसक्ने स्थितिमा पुगेकाले माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाललाई पाखा लगाएर संसद (प्रतिनिधि सभा) विघटन गर्नसम्म भ्याए। चुनावको वेमौसमी राग सुनाए। सर्वोच्च अदालतका निर्णयबाट संसदको पुनर्स्थापना र एकीकृत नेकपा पुरानै स्वरुपमा फर्केका छन्। अदालतको फैसलापछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा उनले इमान पचाएर सोही संसदको विश्वासको मत माग्न पुगे। तर विडम्बना कुनै समय दुईतिहाइको समर्थन दिएको संसदमा अल्पमतमा पुगेर उनी पदमुक्त हुँदै अहिले काम चलाउ प्रधानमन्त्री बन्न भ्याए। माधव नेपाल पक्षसँग उनी त्यस्तो बेलामा घुँडा टेक्न पुगेका छन्, जुन बेलामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन रोकेर सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्न पाउने अवसरका लागि सीमित घन्टा मात्रै बाँकी छ।
शासकीय सत्ताको जनबल चुर्लुम्म गुमाइसक्दा पनि उनको अहंकार घटेको छैन। कोरोना महामारीले देश आक्रान्त हुँदा महामारी उनको कार्यसूची भित्र अझै परेको छैन। परेको हुँदो हो त महामारी व्यवस्थापनमा खटिने थिए। चुनावका लागि छुट्याएको रकम अस्पताल शथ्या र अक्सिजन सिलिन्डर व्यवस्थापनमा लगाउने थिए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थिएन। महामारीले मुलुक पक्षघात बनेको अवस्थामा उनले विश्वासको मत मागेर राष्ट्रिय ध्यान राजनीतिमै केन्द्रित गर्नु कम्तिमा अहिलेलाई आवश्यक थिएन। तर उनलाई लाग्यो देखाइदिन्छु, जुन कुरा निजी अहङ्कारको नतिजा बाहेक केही हैन। उनी अझै रोकिएका छैनन् अब ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने र फेरि कोरोनाका कारण सम्भव नहुने चुनाव घोषणा गर्ने उनको कार्यसूची देखिन्छ। एकल बहुमतको सरकार टिकाउन माधव नेपालहरुको निलम्बन फुकुवा गर्ने निर्णय त्यसैको द्योतक हो।
आत्मनिर्भरको नारा दिएका ओली अब सत्ता टिकाउन परनिर्भर भएका छन्। अस्ती भर्खरको राष्ट्रवादी छवि सीमामा आन्दोलन गरेर नाकावन्दी आफूले लगाएको दावी गर्ने राजेन्द्र महतो र महन्थ ठाकुरसँगको गठजोडले खुस्क्याइदिंदैछ। मधेशीका मागको सुनुवाइ नभएको भन्दै असन्तुष्ट रहँदै आएका यी दुवै नेता विरोधमा उत्रनुको साटो कतैको इशारामा ओलीलाई सहयोग पुग्ने गरि विश्वासको मत माथि संसदमा मतदान हुँदा तटस्थ रहनुले पनि पुष्टि गर्छ। आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा थुनेर ओलीविरुद्ध बहुमत नपुर्याउने खेलमा लागेका यिनीहरु गठबन्धन सरकारको दावी गर्ने अन्तिम समयसिमा नजिकिनु केही घन्टा अगाडि भारतीय दूतावास छिरेका समाचार सार्वजनिक भएका छन्।
भारतीय गुप्तचर संस्थाका प्रमुखलाई ओलीले गत कार्तिकमा बालुवाटारमा स्वागत गरेदेखिन् नेपालको राजनीतिमा दक्षिण छिमेकीको व्यवस्थापन प्रभावी बनेको छ। एक वर्षअघि नै नेकपाको संभावित फुट जोगाउन लागि परेको अर्को छिमेकी चीनप्रति अब ओलीलाई भरोसा छैन। कालापानीमा मिचिएको सिमा हाम्रै हो भनेर सर्वसम्मत नेपालको नयाँ नक्शा अनुमोदन गरेको संसदलाई विघटन गरेका ओली कति निर्देशित र परनिर्भर भइसकेका छन् भन्ने कुरा नयाँ सरकार गठनसँगै उजागर हुनेछ।
निराशजनक भविष्य
राजनीतिक स्थिरता, स्थायित्व र विकासको नारा दिएका ओलीले कुनै पक्षमा पनि गुणात्मक काम गर्न सकेनन्। सिंह अवतारमा सत्तारोहण गरेका ओली स्याल अवतारमा आइपुग्दा पनि विपक्षीलाई रोक्न सक्नु उनको सफलता नै सम्झिइनेछ। इमान्दार र निष्ठापूर्वक गुणात्मक राजनीति हुन नसक्नु नेपालको संसदीय प्रणालीको सुध्रिन नसकेको पक्ष हो। मिश्रित निर्वाचन प्रणालीकै कारण ढिलोचाँडो हुने सबै निर्वाचनमा कुनै दलले एक्लै बहुमत प्राप्त गर्न कठिन छ। त्यस समयका लागि पनि सहकार्य अनिवार्य रहन्छ। तर अप्राकृतिक सहकार्य र आम रुपमा स्विकार्य हुननसक्ने गरि अहिले प्रदेशहरुमा मञ्चन भइरहेका गतिविधिले नेपालको राजनीति थप घिनलाग्दो हुने निश्चित छ।
निचोडमा,
एउटै कार्यकालमा संसदको दुई तिहाइ समर्थनदेखि सुविधाजनक बहुमत, सामान्य बहुमत हुँदै प्राविधिक रुपमा अल्पमतपछि संसदबाट विश्वासको मत गुमाएर पदच्युत भएको किर्तिमान प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका छन्। सहकार्य, सहमति र समन्वयको मर्म पार्टी र सरकार दुवैबाट उनले सकाए नै। दुवै मञ्चमा कुनै वखत सिंह रहेका उनी विश्वासको मत गुमाएर पदच्युत भइसक्दा पनि सत्तामा टिकिइरहन अल्पमतको सरकारका लागि वाध्यतावश माधव पक्षका मागको सुनुवाइ गर्न पुगेका छन्। तर अवको पार्टी सञ्चालन र सत्तासाझेदारीमा आन्तरिक किचलो र झमेलाका अनेक कथा सुन्न पाइनेछ।
उचाईमा पुगेर अरुलाई होचो देख्नु अहङ्कारी व्यक्तिको विशेषता नै हो। ओली त्यसैको पर्याय बनेका छन्। गीता सारमा भनिएको छ, अहङ्कार अंकुराउन थाल्यो भने यसको दमन गर्नु अनिवार्य छ। यसको जवाफ पनि स्वयंले नै दिनुपर्ने हुन्छ। राजनीतिक रुपमा हिन भावमा पुगिसकेका प्रधानमन्त्री ओली हाललाई आफ्नो अहङ्कार दमन गर्न तयार देखिएका छन्।