प्रधानमन्त्रीमा नियुक्त हुँदा ईश्वर होइन, देश र जनताका नाममा सपथ लिएका केपी ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा बत्ती बालेर धुमधामसँग पूजाआजा गरे। उनले त्याँहा बिशेष पूजापाठ गरे। जबकि प्रधानमन्त्रीको सपथ लिंदा इश्वरको नाम उच्चारण गर्नसमेत उनलाई घृणा लागेको थियो।
धर्मकर्ममा बिश्वास छैन भन्ने कम्युनिष्टहरुको ढोंगी चलन हो। चाहे बाबुराम भट्टराईले खुला राजनीतिमा आएपछि बाबुआमालाई लिएर मनकामना मन्दिरको दर्शन गर्न गएका हुन् या पुष्पकमल दाहालले भैसी पूजा गरेका नै किन नहुन्।
कुनै पनि कम्युनिष्ट प्रधानमन्त्रीले नगरेको काम ओलीले गरेका छन् पशुपतिमा गएर पूजाअर्चना। सायद कम्युनिष्ट परिभाषामा यसैलाई भनिन्छ क्रमभंग। प्रतिनिधि सभा भंग गरेर चुनाव घोषणा गरेका ओली दुईतिहाई मत पाउनका लागि पशुपतिको शरणमा परेका त हैनन्? किनकि पशुपतिनाथ गएर हिन्दूवादी प्रमाणित गर्न खोेजेका ओलीले अरु त अरु कमल थापालाई समेत माथ गरेर हिन्दूको मत पोल्टामा पार्न खोजेको भनी कतिपयले बिश्लेषण गरेका छन्।
यसअघि असार २९ गते भानुजयन्तीका अबसरमा चितवनको ठोरी रामको जन्मभूमि अयोध्या भएको भन्दै उनले हिन्दूको कार्ड खोलिसकेका छन्। त्यसपछि नै उनले माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठमाडौं झिकाएर राममन्दिर बनाउन निर्देशन दिएका थिए। जतिबेला अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाबरी मस्जिद भत्काएर खाली गरिएको ठाउँमा राममन्दिर शिलान्यास गर्दै थिए।
यसरी एकपछि अर्को गरी प्रधानमन्त्री ओलीले किन हिन्दूको मुद्धालाई अघि बढाउन खोजेका छन् त? कुरा प्रष्टै छ, भारतीय प्रधानमन्त्री मोदीको भद्धा नक्कल गर्ने उनको बानी परेको छ। २०७५ सालमा जनकपुरस्थित हिन्दूहरुको आस्थाको केन्द्र रामको ससुराली जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा उस्तै रंगको कुर्ता लगाएर ओलीले भद्धा नक्कल गरेको दृश्य धेरैका आँखा अगाडि अहिले पनि घुमिरहेको छ।
ओलीको नक्कली राष्टबाद नेपालको नक्सा बदल्ने घटनामा छताछुल्ल भइसकेको छ। सच्चा राष्टबादीको छाप छोड्ने प्रयास गरेका ओलीको राष्टबाद त्यतिबेला प्रष्ट देखियो जतिबेला चुच्चे नक्सासहितको विद्यालय तहको पाठ्यपुस्त छापियो। बजारमा गइसकेका पुस्तकका केही कपी प्रधानमन्त्री ओलीकै निर्देशनमा बजारबाट रातारात उठाउने काम भयो।
दलहरु आन्दोलनमा रहेका बेला बयलगाडा चढेर अमेरिका पुग्न नसकिने भन्दै आन्दोलन बिरोधी अभिव्यक्ति दिएका ओली खासमा संघीयतामा रुची देखिएको छैन। जबकि नेपालको संविधान २०७२ को चारवटा प्रमुख बिशेषता भनेकै गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समाबेशिता हो। अहिलेको सरकारको प्रमुख दायित्व भनेको परिबर्तनका यी एजेण्डको संस्थागत विकास गर्नु हो। तर त्यसको प्रमुख जिम्मेवारी लिनुपर्ने प्रधानमन्त्री ओलीका अभिव्यक्ति कहिल्यै पनि संस्थागत गर्ने दिशामा देखिएका छैनन्।
सरकार संचालनमा पूर्णतः असफल भएपछि ओलीले हिन्दूको कार्ड अघि सारेका हुन्। प्रष्ट छ कि हिन्दूत्व पहिचानमा सबै बर्ग र जातिका मानिस अटाउन सक्दैनन्। संघीयताको त शुरुदेखि नै उनी बिरोधी हुन्। त्यसैले संघीयतामा सिंहदरबारको अधिकार तल्लो तहसम्म पुर्याउनु पर्नेमा उनले प्रमुख निकायका अधिकार प्रधानमन्त्री कार्यालय मातहत ल्याएका छन्। संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षलाई ओझेलमा पारेर हिन्दूधर्मको नाममा मत लिनका लागि ओली पशुपतिनाथको शरणमा पुगेको सहजै बुझ्न सकिन्छ।
जनताको मत जित्न सिंहदरबारमा बसेर काम गर्नुपर्नेमा प्रधानमन्त्री ओली पशुपतिको शरणमा पुगेका छन्। सरकारी कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले पाइलो नटेकेको धेरै भइसकेको छ। ओली र उनका सहयोगीहरुले बुझ्नुपर्छ, राजकाज चलाउने प्रशासनिक केन्द्र सिंहदरबारबाट हो, पशुपतिमा बत्ती बालेर राजकाज चल्न सक्दैन।