एक महिना लम्बिएको लकडाउन भर्खरै थपिएको छ। एक साता कलंकीस्थित कोठामा एकान्तबासमा अलिझएको म, ९ औं दिनदेखि आमाबुबाको आग्रह र भाइको प्रयासमा थलीस्थित घरमा बसिरहेको छु। बन्दाबन्दीको केही समयअघि आमालाई अचानक स्वासप्रश्वासमा समस्या देखिएपछि चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालको आइसीयू कक्षमा करीब १५ दिन राखेर घर लगिएको थियो। कार्यव्यस्तता (?) का कारण आमासँग राम्ररी समय बिताउन नपाएको गुनासो श्रीमतीलाई मात्र होइन, अधीर भएर सहकमीहर्रुलाई पनि सुनाएको थिएँ। आमालाई अस्पताल पु¥याउँदा भक्तपुरको नगरकोटस्थित एक होटलमा आवासीय तालिममा थिएँ।
कामका लागि धेरैजसो समय राजधानी बाहिर रहुनपर्ने कारण आमाको अनुहार धित नमरुन्जेल हेर्न नपाएको धेरै भएको थियो। फोनमा उहाँ बोल्न नसक्ने र भिडियो कलबाट आमाको निचरिएको अनुहार हेर्ने साहस जुटाउन नसकेर सम्पूर्ण रुपमा आमाबाट टाढिएको थिएँ। तर, कोरोना कहरकाबीच लम्बिएको लकडाउनका कारण परिवारको साथ र सुश्रुसाले केही फेरिदै गएको आमाको मुहारका व्यक्त अव्यक्त भावभङ्गीहरु मेरा लागि आजभोलि दिन कटाउने सहज मेलो भएका छन्।
प्रायः आमाहरु जस्तै जोश, जाँगर र हात खाली बस्न नसक्ने मेरी आमाका सक्रियता सेलाएका छन्। बोलिरहनुपर्ने आमाका आवाज मितव्ययी भएका मात्र होइनन्, धसिइरहने उहाँका हात र खटिइरहने खुट्टा कम व्यस्त छन्। बन्दाबन्दीले धेरैका जीवनमा ल्याएका धेरै असहजताका समाचारबाट म अनभिज्ञ छैन। तर, थोरै भाग्यमानीमा पर्छु म अहिले। अघाउँन्जेल ( त्यसो त कहिले अघाइन्छ र ?) आमासँग बस्न पाएको छु। घरमासँगै बस्ने कान्छो छोरासँगै अलिकति भएपनि टाढाबाट आएको जेठो छोराको उपस्थितिले आमा औधी खुसी हुनुहुन्छ। तर ती खुसीहरु उहाँको मुहारमा छचल्किएर पोख्खिन भने धेरै सक्दैनन्।
यसबीच, बैशाख ११ गते बिहिबार आमो मुख हेर्ने दिन पनि थियो। भाइले आमालाई कबिता उपहार दियो, बुबाले आफ्नी आमाको सम्झनामा उहाँ जीवितै रहँदा रच्नुभएको कविता र भजनको भिडियो फेसबुकमार्फत सौगात दिनुभयो। मैले खासै केही गरिन, सिवाय आमाका गतिविधिलाई मज्जाले नियाल्ने र रतिने। फेसबुकका वालहरु आमामय थिए। ससर्ती हेर्दै जाँदा मेरो कार्यालयका प्रमुख कार्यकारी अधिकृतले पोष्ट गर्नुभएको फोटोले मन निचर्यो।
दिवंगत आमाको सम्झनामा उहाँले धेरै वर्षअघि दशैंको टीकाको दिन आमाको हातबाट टीका थाप्दै गरेको (आमाले दुबै हातले टीका लगाइदिँदै गरेको ) तस्वीर अपलोड गर्नुभएको थियो। मैले लाइक मात्र गरें। नढाँटी भन्दा त्यो फोटोले मलाई रुवायो। अगाडि रहनुभएकी आमालाई कसैले थाहा नपाउने गरी एकटक हेरिरहे। आँखाका डिल भरिए। । हेल्पिङ ह्याण्डका चिकित्सकहरु आँखामा आउनुभयो। उहाँहरु सम्झिदै गर्दा, ‘भबिष्यमा डाक्टर बन्छु’ भन्ने भनाई किन आम जनजिब्रोमा बसेको रहेछ भन्ने बुझें। अस्पताल लगेको २ दिनपछि आमालाई संक्षिप्त भेटेर बाहिर निस्केपछि बुबाले परिवार र आफन्तजनसँग ‘अब बाँच्दिनन् जस्तो छ, यहाँ नराखौं घर लगेर दशदान गर्दिऊँ’ भनेको झल्झल्ति याद आयो। अश्रुपात फुपु दिदी, काकी र केही आफन्तको थप सान्त्वनाका स्वर र भित्र आमाको अवस्थाले म सम्हालिन सकिन। मेरा अगाडि आमाबिहीन जीवनका कल्पनाहरु आए। थप चिसिएँ।
गते याद छैन तर एक शनिवार बिहान करिब १० बजेतिरको कुरा थियो त्यो। एक घन्टापछि चाबहिलस्थित कार्यालयको तालिम केन्द्रमा एक संस्थाका सञ्चालक र कर्मचारीहरुलाई करिब ५ बजेसम्म कक्षा लिनुपर्ने थियो। सबैको सहमतिमा बल्लतल्ल समय जुटेको र त्यसबीच तालिम प्रदान गर्ने अर्को व्यक्तिको व्यबस्थापन कठिन भएका कारण अन्तिम समयमा धोखा दिन सकिन र आमा र आफन्तहरुलाई अस्पतााल छोडेर तालिम दिन गएँ। जसोतसो तालिम सकें। अन्त्यमा सबैलाई जानकारी गराउँदा सहभागीहरुले सान्त्वना दिदैं स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँहरुबाट ‘सरले त्यस्तो पीडादायक समाचार पनि लुकाएर कस्तो राम्रोसँग तालिम दिनुभएको। हामीलाई भन्नुभएको भए यस्तो अवस्थामा पछि सारिहाल्थ्यौं नि’ जस्ता शब्दहरु सुनेर अनुग्रहित हुँदै फेरि अस्पताल बास बस्न पुगेको स्मृतिमा आयो।
त्यसरी मृत्युलाई जितरे आउनुभएकी आमासँग बस्न, कमै भएपनि बोल्न, मीठो लाग्ने खाना सकेसम्म खोजी गर्न पाएकोमा आफुलाई बुबाभन्दा भाग्यमानी सम्झें, जसले आमा (हजुरआमा) लाई सम्झेर त्यसदिन कविता र भजनमात्र गाउन सक्नुभयो। बुबाले नाती (भाइको छोरो) लाई लाईक, कमेन्ट र सेयरको संख्या घन्टै पिच्छे गन्न लाउँदै गर्दा म भने आमा नजिक बसेर अलिकति गफिदै चम्सुर पालुङ्गो केलाउँदै थिएँ।
सामान्य अवस्थामा कार्यालय जानुपर्ने वा तालिमको सिलसिलामा जिल्ला बााहिर रहेको भन्दा नितान्त फरक दिन थिया,े त्यो मातातीर्थ औंसीको बिहिबार। हामीले केही नभने पनि आमा आफैले दराजबाट नयाँ सारी, ब्लाउज र चुरा निकालेर लगाउनुभयो। नातिनीलाई भनेर बुहारीको लिपस्टिक मागेर ऐना हेर्दै लगाउनुभयो, नयाँ पत्ता बाट झिकेर रातो टीका अनि नयाँ पोते पहिरिनुभयो। मैले धेरै अघि लिइदिएको निभियाको सफ्ट् क्रिम चाउरिएका दुई हातले मिचेर चाउरिएकै गालाभरि दौडाउनुभयो र नाती नातिनीको कोठामा गएर, ‘लु मेरो फोटो खिच्ने भए खिच’ भन्नुभयो। अनि आफ्नो एकल र बुबासँग समेत फोटो खिच्नुभयो। नातिनातिनाले फेसबुकमा पोष्ट गरे। देशविदेशमा रहेका आफ्न्तहरुले सद्भावहरु बर्साए।
आमालाई मिठो मसिनो खुवाउने यत्न भन्दा बढी उहाँका हरेक गतिविधिहरुको साक्षी बन्नुमा गाढा अर्थ रह्यो र रहनेछ। एक्कासि सीइओ सरको आमासँगै सशरीर उपस्थित हुन नसक्नुभएका आमाहरु र उहाँहरुलाई हरसम्भव खोजीरहेका सरजस्तै छोराछोरीलाई सम्झें। एउटा सानो झुपडीमा गरिबीसँग पौठेजोरी खेलिरहेको मेरो परिवारमा आमाको उपस्थितिले प्रदान गरेको आभा बयान गरिनसक्नुको छ। कति भाग्यमानी छन् ती छोराछोरीहरु जो आमासँग बस्न, रम्न, हाँस्न, खेल्न, खान, कहिलेकाही घुर्की लगाउन पाउँछन् र विचारहरु चर्न जाँदा लाग्छ, मेरो जीवनको सार्थकता आमाको छोरा हुन पाएकोमा छ।
आफुले केही नदिइकन आमाबाट लिनेमात्र सौभाग्य कमैलाई मात्र प्राप्त हुन्छ। मातृसम्झनाको त्यो बिशेष दिन काकी र सानिमाहरुलाई केवल सम्झिए र विश्वास गर्न मन लाग्छ, बाबुआमा गुमाएका मेरा काकाहरुले आमा समान भाउजुलाई पनि सम्झनुभयो होला। बुबाले उर्लाबारीमा रहनुभएकी सानिमासँग शब्दहरु साट्नुभयो। त्यसैबेला, जीवित आमालाई गरेको व्यबहारलाई चटक्कै बिर्सिएर उनै आमाको तस्वीर हेरेर चित्त दुखाएको भान गर्ने छोराछोरी र बुहारीहरुलाई सम्झिएँ। अनि सम्झिए, लकडाउनका कारण आमाबाबु बाट टाढा भएकाहरुले घरफर्किन गरेको कोसौंको कसरत, आमा भेट्न आतुरिएका ती नाङ्गा खुट्टाहरु, चाउरिएका गालाहरु, मैलिएका सर्टहरु, रसाएका आँखाहरु र खुसी बिर्सेका ओठहरु।
यो समय छोरा र श्रीमतीबाट टाढा भएपनि आमासँगको सानिध्यले मेरा यावत दुःखलाई किनारा लगाइदिएको छ। तर, फेरि चित्त बुझाए–उनीहरु आमासँगै छन्। जीवनको उत्तरार्धसम्म बाँच्ने अवसर मिल्यो भने यो लकडाउनले मलाई अरु धेरै कुराहरुभन्दा पहिले आमाको सम्झना दिलाउने छ। अरु नसकुँला–पत्नी र छोरालाई पनि यही सम्झेर चित्त बुझाउन आग्रह गर्छु। अस्तु।