मेचीदेखि महाकालीसम्मको नेपालमा भूगोल पनि छ र भावना पनि छ । त्योभन्दा बाहिर रहेका ४०, ५० लाख नेपालीसँग भूगोल छैन । तर त्योसँग नेपालका लागि असीम भावना छ । त्यसैले यो बेलामा हामी त्यो दोस्रो नेपाललाई पहिलो नेपालसँग एकाकार कसरी गर्ने ? पहिलो नेपाल र दोस्रो नेपालको दूरी कसरी घटाउने ? कसरी नेपाली डायस्पोराको भूमिका नेपालको सन्दर्भमा आत्मीय ढंगले गाँस्ने ? सीपलाई गाँस्ने, पुँजीलाई गाँस्ने, मनलाई पनि गाँस्ने र नेपालको आगामी दशकमा समृद्धिलाई सम्भव तुल्याउने ?
तर, नेपालभन्दा बाहिर पनि एउटा होइन, दुईवटा नेपाल छ । एउटा नेपाल अमेरिका, क्यानाडा, बेलायत, कोरियामा छ, युरोपेली मुलुकमा छ, जापानमा छ । तर अर्को नेपाल यी भूगोलमा छैन । साउदीमा छ, कतारमा छ, दुबईमा छ । आयआर्जनको कोणबाट हेर्दा ती मुलुक पनि समृद्ध छन् तर हाम्रा नेपालीले आय–आर्जन गरेको कोणबाट हेर्दा पीडामा छ ।
नेपालबाहिर रहेका नेपालीको संख्या ५० लाखको हाराहारीमा छ । ८० देशमा एनआरएन फैलिएको छ । तर त्यसले आफ्नो संगठनात्मक दायरामा राखेको नेपालीको संख्या १ लाखभन्दा कम छ । नेपाली जनसम्पर्क समितिले नेपाली फैलिएका ती सबै मुलुकमा आफ्नो दायरा विस्तार गर्नुपर्छ जबकि आजको दिनमा ३३ मुलुकमा मात्र सञ्जाल विस्तार भएको छ ।
डायस्पोराको मनस्थिति
विदेशमा रहेका नेपालीलाई नेपाल छाडेर आउनु परेको पीडा छ । नेपालमा लगानी गर्न चाहिरहेका बेला अनेकौं झन्झटिला प्रक्रिया बेहोर्नुपरेको दुखेसो छ । विमानस्थलमा उत्रिँदादेखि नै राम्रो ढंगको व्यवहार पाएनौं भन्ने व्यक्ति–व्यक्तिको गुनासो छ । त्यति मात्र होइन, देशको माया भए यिनीहरू किन विदेश जान्थे भनेर आलोचनाले चोट पुगेको अवस्थामा संसारभरको डायस्पोरा छ । जिम्मेवार पदमा बसेकै मन्त्रीले पनि यी भूतपूर्व नेपाली हुन् भनेर दिएको अभिव्यक्तिको चोट पनि डायस्पोरासँग छ ।
एउटा गाउँमा दुई युवकमध्ये एउटा यो देश कहिल्यै बन्न सकेन भनेर निराश भएर बसेको छ । सँगै उसको साथी अर्को युवक देशभित्र छैन । देशबाहिर छ । तर थोरै धन पठाउँछ । थोरै मन पठाउँछ र मेरो देश बन्छ भनेर आशा र विश्वास लिएर बसेको छ । यो सन्दर्भमा मनैदेखि को बढी राष्ट्रवादी भयो त ?
नेपाली कांग्रेसले आफ्नो दायित्व अनुभूति गर्दै गर्दा देशभित्र रहेको युवा किन निराश भयो ? उसमा आशा कसरी भर्ने एकातर्फ हाम्रो दायित्व छ । अर्कोतर्फ देशभन्दा बाहिरको नेपाललाई नेपालका लागि कसरी गाँस्ने भन्ने विषय हाम्रा लागि महत्वपूर्ण छ । त्यसैले हामीले उद्घोष ग¥यौं कि नेपालका लागि एक बनौं विश्वभरका नेपाली । आगामी दिनमा हामी मैदानमा जाँदै गर्दा भन्न सक्छौं, हे आदरणीय कम्युनिस्ट मित्रहरू तपाईंहरूले ६० वर्षदेखि भन्दै आउनुभयो संसारभरका मजदुरहरू एक हौं भनेर । संसारभरका मजदुरहरू कहिले एक भएर नेपालको सन्दर्भमा के उपलब्धि प्राप्त होला यसको कुनै व्याख्या छैन । तर कांग्रेसले सबका सामु भन्छ हामी संसारभरका मजदुर एक हौं भन्ने अपिल गर्दैनौं, बरु हामी अपिल गर्छौं एकपटकको नेपाली सधैंको नेपाली हो ।
नेपालको हाँगा यहाँ आइपुगेको हो, जरा त नेपालमै छ । शरीर यहाँ आइपुगेको छ, आत्मा नेपालमै छ । तर पछिल्लो समयको तपाईंको चुनौती सम्झनुभयो भने संविधानमा प्रवेश गरेर हेरौं । संविधानको भाग २ को धारा १४ ले भन्छ बाबु–आमा या बाजेबज्यैसम्म जो नेपालमा छन् तिनले गैरआवासीय नेपाली नेपाली नागरिकता पाउँछन् । सीधा जाँदै गर्दा अबको तेस्रो या चौथो पुस्ताले नेपालको गैरआवासीय नागरिकता प्राप्त गर्दैन । नागरिकता पाउन संबिधान संशोधन गरौंला । संसारको पल्लो कुनामा हुर्किरहेको युवकलाई संविधानको धाराले मात्र नेपालसँग गाँस्न सक्दैन । संस्कृतिले कसरी गाँस्ने हो, नेपालका चाडपर्व, धुलौमैलोले, प्रेमले कसरी गाँस्ने हो ? नेपालको गौरवले कसरी गाँस्ने हो ? यो आजको महत्वपूर्ण प्रश्न हो ।
डेनमार्कमा ५० वर्षदेखि एउटा नेपाली परिवार बसेको छ । जुन परिवारमा एक नेपाली युवा डेरा गरी बस्नुभयो । १ वर्षजति डेरा गरेर फर्कंदै गर्दा उहाँले त्यो घरमा, त्यो परिवारमा कुनै पनि प्रकारको संस्कृति, पर्वहरू मानिएको मनाइएको, नेपालको पीडामा दुःखी भएको, पर्वहरूमा रमाएको पाउनुभएन ।
अमेरिकाको भूमिमा जन्मेको कुनै नेपाली युवक जब कुनै दिन हजुरबुबा या हजुरआमा बन्ला । उसको नाति या नातिनी पुस्तामा नेपालसँगको सम्बन्ध कुन मनोवैज्ञानिकले बन्ला ? आजका लागि विश्वभर फैलिएको डायस्पोरालाई नेपालसँग गाँस्ने भन्दै गर्दा नेपालका लागि आज सोचौं । डेनमार्कको त्यही परिवारलाई ५० वर्षअघि आएको परिवारको नेपालको सम्बन्ध मनोवैज्ञानिक रूपमा टुटिसकेको छ । संविधानको कुनै धाराले जीवित गराएर नेपालसँगको उसको सम्बन्ध गाँसिदैन । अबको ५० वर्षपछि आजका बालबालिकाको मनोविज्ञान कुन रूपमा रहन्छ भन्ने विषय अहिलेका लागि छलफल र चिन्तनको विषय हो । किनभने संसारको शक्तिशाली भावनामध्ये एउटा भावना के पनि हो भने म जन्मेको देश । तपाईंका लागि जन्मेको देश भनेर जुन गौरवपन दिन्छ । तपाईंका लागि माटो, भूगोल कर्मभूमि हुन् तर तपाईंको नाति पुस्ताका लागि कर्मभूमि मात्र होइन, जन्मभूमि पनि बन्न सक्छ । जसरी एउटा हजुरआमाले मेरो जन्मभूमि भनेर नेपालप्रति गौरव गर्नुहुन्छ उसले मेरो जन्मभूमि भनेर यही माटोका लािग गौरव गर्नुपर्ने दिन स्वभाविक रूपमा आउँछ । त्यसैले ५० वर्षपछि नेपालले संसारभर फैलिएको लाखौं नेपाली समुदायलाई गाँसेर राख्न सक्ने भन्ने कुरा अहिले नेपालको समृद्धिसँग गाँसिने विषय हो ।
यतिका धेरै नेपाली बाहिर किन जानुपर्यो त भन्दा हिंसा, गरिबी र बेरोजगारी प्रमुख कारण हो । अर्कोतर्फ व्यवहारिक शिक्षा प्राप्ति, सुरक्षित रोजगार र व्यवस्थित जीवन । यो तीन विषयले आज संसारमा हामीलाई तानेर ल्यायो । त्यसैले नेपाली कांग्रेसले अपिल गर्दैै गर्दा पार्टीको कुनै पनि नेताले नेपालमा शान्ति भयो फर्किहाल्नु भनेर भनिहाल्नु हुँदैन ।
प्रधानमन्त्री केपी ओलीले हालै बेलायत जाँदा भन्नुभयो कि नेपालमा अब सहज अवस्था भएको छ तपाईंहरू फर्किहाल्नुस् । मैले यसो परिकल्पना गरें ४० लाखको संख्यामा फर्केकाहरू प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा नाली सफा गर्दै गरेको दृश्य, मकै गोड्दै गरेको दृश्य, बजारमा गाई धपाउँदै गरेको दृश्य छ । अहिलेको यथार्थता के हो भने ४० लाख नेपाली फर्किए भने पनि तिनलाई कुन प्रधानमन्त्री, कुन राष्ट्रपतिको नामको कार्यक्रमले रोजगारको व्यवस्था गर्न सक्छ ? त्यसैले यो बेलामा रोजगारी यसरी कि त्यसरी भन्ने कुरो पनि यहाँको समुदायमा पुर्याउनुपर्छ । कांग्रेसले पनि रोजगारी सिर्जना गर्दै गर्दा उपस्वास्थ्य चौकी खुल्यो जागिर बढ्यो । बैंक खोल्यो । त्यसका लागि नीतिहरू बनायो । रेडियो, टिभी, पत्रपत्रिकालाई उदार व्यवस्थाअन्तर्गत खुला ढंगले सञ्चालन गर्न दियो । रोजगारी बढ्यो । बाटो बढ्यो । रोजगारी बढ्यो । ९ प्रतिशतले बिजुली बाल्दै आएकोमा दुईतिहाइ भुगोलमा बिजुली पुगेको छ ।
नेपालमा रहेकालाई बसिराख्ने अवस्था सिर्जना गर्ने अहिलेको आवश्यकता हो । त्यसैले मेरो आग्रह के हो भने नजाऊ छोडी यो देश आमालाई रुवाएर भन्ने विल्कुल होइन । जहाँ जाऊ छोडी यो देश आमाको सेवामा फर्की आऊ । देशको माटो लिएर जाऊ कोही कसम खाई जाऊ । एकदिन मर्ने देशका लागि भन्ने भावना अहिलेको सन्दर्भमा डायस्पोराले बोक्नुपर्छ ।
स्वदेश फर्कनुपर्छ ? भन्ने प्रश्नको सजिलो उत्तर हो–देश फर्किनुपर्छ । सबैले फर्किनुपर्छ भनिरहँदै गर्दा कसैले वातावरण प्राप्त भएपछि मात्र फर्कन्छु भन्छ भने दिने जवाफ पनि प्रशस्तै हुन्छ । सप्तरीको बरमझियामा पेडा बेच्दै गरेकालाई वातावरण कसले बनाइदियो ? नेपालमा तरकारी खेती गर्दै गरेकालाई वातावरण कसले बनाइदियो ? अहिले पनि गोली चल्दै गरेका बेलामा विदेशबाट फर्केर भैंसी पाल्दै गरेको युवालाई कसले वातावरण बनाइदियो ? तर व्यक्ति होइन, पुरै समुदाय संस्थागत ढंगले नेपाल फर्कनुपर्छ भनेर कसैले भन्यो भने त्यो गम्भीर गल्ती हुन्छ ।
यहाँको नेपाली समुदायले नेपालको समृद्धिमा योगदान गर्न आफ्नो समृद्धिभन्दा अगाडि संस्कृतिलाई केन्द्रमा राख्ने र आफू र पछिल्लो पुस्तामा त्यो संस्कृतिलाई भरमार भरेर लैजानुपर्छ । अनि नेपालमा व्यक्तिगत र संस्थागत लगानी बढाएर लैजाने हो ।
एनआरएनएले नेपालमा गरेको लगानी ५ वर्षअघिको तथ्यांकमा करिब ३० अर्ब थियो । आज सय अर्बको हाराहारी पुगेको छ । अस्पताल, बैंक, एयरलाइन्स, हाइड्रो, सहकारीलगायत क्षेत्रमा लगानी बढेको छ । त्यो सँगसँगै हामी कसरी गाँसिने ? आज नेपाली जनसम्पर्क समितिले संगठन गर्ने क्रममा तिम्रो अलिकति मन, तिम्रो अलिकति धन गाँस भनेर गाँस्न लगाउनुपर्छ । गाँसियो भने तपाईंको पछिल्लो पुस्ताको पनि नेपालसँगको सम्बन्ध जारी रहन्छ । नेपालसँगको सम्बन्ध गाँस्ने संविधानको धाराले होइन, तपाईंले गर्ने लगानीले नै हो । त्यसबाट जब समृद्धि हुन्छ तपाईंको पछिल्लो पुस्ताले नेपाली भनेर चिनाउन चाहन्छ ।
कल्पना गरौं, प्लस टु पढ्दै गरेको तपाईंको छोरा या छोरी जो यहीं जन्मेर पढे होलान् । तिनले एउटा समृद्ध देशको डायस्पोराको मान्छेसँग गफ गर्दै गर्दा, समृद्धिको कथा सुनाउँदै गर्दा म मेरो पूर्वज भोको भएको कारणले, हिंसा भएको कारणले, शोक भएको कारणले आएँ । अहिले पनि मेरो बाबाको देश गरिबीको पीडामा छ भनेर सुनाउने गौरव गर्न चाहँदैन । ऊ के चाहन्छ भने मेरो बाबा र मेरो आमाले गरेको लगानीले मेरो देश समृद्ध भएको छ । मेरो वास्तविकता त त्यही हो भनेर गौरवसँग आफ्नो परिचय दिन चाहन्छ । हुन त अघिल्लो पुस्ताले सगरमाथा गाँस्ला, बुद्ध गाँस्ला, वीर गोर्खाली गाँस्ला । तर पछिल्लो पुस्ताले समृद्धि पनि गाँस्न चाहन्छ । संस्कृति र समृद्धिको यो दुई कुराको सन्दर्भमा यदि हामीले ख्याल गरेनौं भने पछिल्लो पुस्ताले राम्रै घर पाउला, आकर्षक जागिर पाउला, बैंक ब्यालेन्स पाउला, सुखी जिन्दगी पाउला । तर, नेपालीत्व उसभित्र मरेर गयो भने पछि बाउआमाले बुढेसकालमा अनुभूति गर्नु हुनेछ शरीर त छ मेरो छोरा र छोरीको तर उसँग आत्मा छैन नेपालीपनको भन्ने अनुभूति गर्नुपर्ने हुन्छ । त्यतिबेला डायस्पोराका सबैले रगतको आँसुमा डुब्नुपर्ने अवस्था हुन सक्छ । किनभने उसले संस्कृतिलाई बिर्सिसकेपछि ऊ एउटा निर्जीव वस्तुजस्तो हुन्छ ।
अबको मितिमा नेपालको समृद्धिमा योगदान गर्ने कुरालाई आफ्नो यही हुर्किने सन्ततिको पनि भविष्यसँग गाँसिन्छ भन्ने कुरालाई स्मरण गर्नुपर्छ । त्यसैले अब ब्रेन गेनको समय आयो । हिजो ब्रेन ड्रेनको कुरा थियो । ब्रेन गेन भन्दै गर्दा सबै भौतिक रूपमा फर्केर जानुपर्छ भन्ने विल्कुल होइन । यहि रहेर पनि गर्न सकिने विभिन्न तरिका छन् ।
पूर्वी टिमोर इन्डोनेसियाबाट स्वतन्त्र भएपछि न्युयोर्क विमानस्थलबाट आफ्नो देश छाड्ने बेलामा सरामा गुजमाओलाई कसैले सोध्यो महामहिम अब तपाईं राष्ट्रपति बन्नुहुन्छ । उहाँले भन्नुभयो– ‘इन्डोनेसियाबाट पूर्वी टिमोरलाई स्वतन्त्र गर्न कसरी संघर्ष गर्ने, कसरी युवाको धमनीमा रगत भर्ने त्यो ज्ञान मसँग थियो । निर्माण गर्न कुशल कालीगढी मस्तिष्क चाहिन्छ । त्यो मसँग छैन, पूर्वी टिमोरको भीडमा खोज्नुपर्छ ।’
आज नेपाल देश निर्माण र नेपाली कांग्रेस निर्माण अन्तरसम्बन्धित छ । तर, ती दुवै एउटै कुरा होइन । सांगठनिक र शासकीय योग्यताबीच फरक हुन्छ । त्यसैले आगामी दशकमा जाँदै गर्दा नेपाली कांग्रेसले त्यसपछि एक होइन, तीन–तीन निर्वाचन जितेर मुलुकलाई समृद्धिको दिशामा लिएर जाने हो भने संसारभर रहेका ५० लाख नेपालीको भीडबाट कुशल कालीगढी मस्तिष्कलाई हामीले पनि खोजी गर्नुपर्छ । कुशल कालीगढी खोज्छन्, बोलाउँछन्, बिहेको निम्तो जस्तो गरी कार्ड आएपछि मात्र जान मिल्छ भनेर यहाँको बौद्धिक तप्काले पनि भन्न मिल्दैन । देशले मलाई खोजीसकेको छ भन्ने बुझ्नु जरुरी छ ।
यो भन्दै गर्दा मलाई खुसी लाग्छ, गौरव लाग्छ कि मरेको मान्छेको मुटु जिउँदोमा ट्रान्सप्लान्ट गर्ने पद्धति आयो अस्ट्रेलियाको अस्पतलामा । तर अस्ट्रेलियन डाक्टरले होइन, कुनै अमेरिकी डाक्टरले होइन, नेपाली आमाले जन्माएका डा. कुमुद धितालले । मंगल ग्रहमा पानीको अस्तित्व पत्ता लाग्दै गर्दा नेपाली आमाले जन्माएको छोरो नासाको टिममा लुजेन्द्र ओझाले गरेको हो । इन्जिनियर, डाक्टर, उद्योगपति, वैज्ञानिकहरू जो डायसपोराको सौन्दर्य भएर विश्वव्यापी रूपमा हुनुहुन्छ । ती सबैको मस्तिष्कलाई सही ढंगले उपयोग गर्ने सन्दर्भ अहिलेको निम्ति जरुरी छ ।
नेपाली जनसम्पर्क समितिहरूले समन्वय गर्दै गर्दा विश्वव्यापी फैलिएको यो विषयलाई बौद्धिकहरूले सोच्दै गर्दा सबैभन्दा बढी सोचिनुपर्ने एउटा चित्र भनेको काठमाडौंको विमानस्थलमा भित्रिने काठको बाकसभित्र आउने कतारको युवकको लास हो । बीपीले एउटा समयमा भन्नुभएको थियो ‘यदि कुनै कुरामा द्विविधा भयो भयो एकमुठी माटो उठाऊ छातीमा लगाऊ त्यसले जे भन्छ त्यही गर ।’ आज बीपी हुनुहुन्न । सायद बीपी हुनुभएको भए भन्नुहुन्थ्यो होला ‘जाऊ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दिनभरी बिताऊ । काठको बाकसमा भरिएर आएको युवकलाई हेर । युवकको लासलाई हेर । त्यो लासमाथि उसको आमाले खसाल्ने आँसु हेर । देशका लागि के गर्ने भन्ने कर्तव्य तिमीलाई प्राप्त हुन्छ ।’ हामीलाई पनि कर्तव्य प्राप्त हुन त्यही काठको बाकसको लासले दिन्छ । यो ठूलो बौद्धिक समुदायले नेपालका लागि योगदान दिन त्यही काठको बाकसको लासबाट क्षमता प्राप्त गर्नुपर्छ ।
यो बेलामा रेमिट्यान्सले हाम्रो अर्थतन्त्रमा दिएको तागतलाई स्यालुट गर्नुपर्छ हरेक रेमिट्यान्स पठाउनेहरूलाई । जसले संसारको यो कुनामा बसेर पनि भूकम्पमा ढल्न दिएनन्, नाकाबन्दीमा गल्न दिएनन् नेपाललाई, हिंसाका बेलामा पनि मर्न दिएनन् । यस्ता युवकलाई सम्झँदै गर्दा कवि नवराज पराजुलीले खाडीको एउटा युवाको पीडाबारे लेखेको कविताबाट टुंग्याउँछु
म त संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको देशको मान्छे
भो यो कुरा भरे भोलि फेरि गरौंला
अहिले चाहिँ म जिन्दगीको गहिराई खोज्न खाडीमा आएको छु
मलाई बिदा गर्दै गर्दा मेरी श्रीमतीले बगाएको आँसु
सोझै टर्वाइनमा खन्याएर मेरो देशले एक मेगावाट बिजुली उत्पादन ग¥यो रे
भो यो कुरा भरे भोलि फेरी गरौंला
अहिले चाहिँ म मेरो जिन्दगीको उज्यालो खोज्न खाडीमा आएको छु
पूरै संसार पखाल्नु प¥यो भने मेरो देशको नदीहरूसँग पानी सापटी माग्नु रे
भयो यो कुरा भरे भोलि फेरि गरौंला
अहिले चाहिँ म मेरो सानो बाबुको घाँटीको एक थोपा पानी किन्न खाडीमा आएको छु
संसारको कुनै महान् चित्रकारले पूरै संसार रंग्याउनु पर्यो भने
मेरो देशको लालीगुराँससँग रंग सापटी माग्नु रे
भयो यो कुरा भरे भोलि फेरि गरौंला
अहिले चाहिँ म मेरी बुढी आमाको अनुहारको लाली खरिद गर्न खाडीमा आएको छु
आमा मलाई चाँडै देश फर्केर आउन मन छ
चाउरी परेका बाबाका औंलालाई मासु नदुखाईकन नङ काट्न मन छ
आमा तपाईंले पकाएको माली गाईको बिगौती चाख्न मन छ
आमा म टुपुटुपु गर्दै आएँ भने त आइपुगुँला
तर आफैं काठको बाकसमा भरिएर आएँ भने
(डेनमार्कको राजधानीमा कोपनहेगनमा सम्पन्न नेपाली कांग्रेसको विश्वस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा व्यक्त विचार)