सदा झैं यसरी बजेट प्रस्तुत हुँदा परम्पराका रुपमा पक्ष र विपक्षमा बोल्ने थुप्रा कुराहरु आइसके । म स्वयं विधिध व्यवस्थाअन्तर्गत यस सभामा लामो समयदेखि उपस्थित छु । अरु कुरामा छोडे पनि बजेटमा हरेक वर्ष मैले केही न केही बोल्ने गर्या छु, उहिल्यै ४७ सालको संविधानदेखि नै ।
अब बजेटका खुद्रा कुराहरुका बारेमा केही पनि भन्नु छैन । एउटा आधारभूत कुरा भन्नु छ त्यो मैले पहिलोपटक पनि भनेको होइन । नेकपाको सरकारको पालामा मात्र पनि भनेको होइन, पहिले पनि भन्ने गरेको थिएँ ।
उर्दुमा एउटा कथन छ- रुक्मेके फरक से खुदा जुदा हो जाता है । उर्दु भाषामा माथि यसको चन्द्रविन्दु हाल्नुभयो भने त्यही शब्दले फरक अर्थ खुदा लाग्छ, चन्द्रविन्दु हटाइदिनुभयो भने त्यहि शब्दको अर्थ जुदा लाग्छ । एउटाको अर्थ गड र अर्कोको सेपेरेट ।
यसमा थुप्रा कुरा छन् जसलाई म ठीक भन्न सक्छु । थुप्रा कुरा छन् जसलाई म बेठीक भन्न सक्छु । त्यता म जान्न सम्बन्धित मित्रले भनिसक्नु भएको छ ।
यसमा एउटा कुरा छ, मैले वर्षौँदेखि भन्दै आएको सबै कुरा टुंगिन्छ । एउटै कुरामा केन्द्रित भएर आजको यो बहुमूल्य समय लिन्छु ।
एकठाउँमा के भनिएको छ भने, आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरुप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु (पृष्ठ ४७) ।
म यो सरकारलाई भन्न चाहन्छु, यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णत: स्वीकार छ । एउटा शब्द खुदालाई जुदा बनाउने शब्द त्यो के हो भने, आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त ?
काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? कहर भन्छन् उर्दुमा बर्वादीलाई ।
सुन्नुहोस् मैले भन्न खोजेको कुरा, यसलाई तपाईं ठाडै लेख्न सक्नुहुन्छ आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ बनाएर । गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ? गाउँलाई सुविधायुक्त बनाउनु आजको नेपालको चुनौती हो कि होइन ? एउटा सानो शब्द छ, PURA अर्थात् Providing urban amenities to rural areas. एउटा अर्धपागल जस्ता मान्छे थिए, लुगाफाटो पनि त्यस्तै थियो, अब्दुल कलाम आजाद । भारतका राष्ट्रपतिले यो शब्द बनाएका थिए । तेस्रो विश्वलाई चाहिएको कुरा के हो भने (PURA) पूरा । यत्ति शब्द सहरलाई गाउँ गरिदिनुहोस् त । मेरो बिन्ती छ, प्रार्थना छ । सारा बजेटको रुपरेखा दिशा बदलिन्छ ।
आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, झन ठूलो बजारबाट सहर, त्यसपछि फोहोर काठमाडौं, त्यसपछि विदेश, त्यसपछि अमेरिका, कहाँ हुन्छ अस्ट्रेलिया भएको छ आजभोलि । यहि हो नेपालको नियति ? यही गर्न हामीले आजभन्दा ५०/६० वर्षअघिदेखि देश बनाउने कसम खाएको ? यत्ति शब्द बदलिदिए पुग्छ अरु मलाई केही पनि चाहिँदैन ।
हामीले सुविधायुक्त गाउँ बनाउने हो । सहरलाई कति चाहियो ? गाडी पुगेन कि, कलेज पुगेन कि, स्कुल पुगेन कि अस्पताल पुगेन ? काठमाडौंमा जोड्नुहोस् त प्रतिव्यक्ति कति छ ?
अर्को मेरो प्रश्न बडो विकल्प प्रश्न छ । सभामुख महोदय, विकल्प र विकट यो शब्द सभ्यता भनेको के हो हँ ? यो आधुनिक सभ्यता भनेको के हो ? सभ्यताको परिभाषा के हो ? मैले पनि सभ्यताको परिभाषामा काफी मनन् चिन्तन गरेको छु । स्थुल परिभाषामा मान्ने हो भने सभ्यता भन्ने परिभाषा बुझ्नलाई यही प्रतिनिधि सभामा सहभागी हुनेको पुच्छरबाट बुझ्न सकिन्छ । सभ्य भनेको त्यो हो जो सभामा बस्न लायक छ । त्यत्ति हो । सभा चलाउने व्यक्तिलाई सभामुख भनिन्छ ।
हाम्रा आचरण हेर्दाखेरि, हाम्रा क्रियाकलाप हेर्दाखेरि विगत ५/१० वर्षका हाम्रा क्रियाकलाप हेर्दाखेरि बरु हामीले आफूलाई प्रश्न गर्नुपरेको छ कि हामी सभ्य मानिस हौँ ? तोडफोड, झैझगडा, भ्रष्टाचारमा हामी डुबेका छौँ । होइन भने गाउँको त्यो साधारण मान्छेमा के कमि छ र उ सभ्य भएन? उ छिमेकीप्रति दयालु छैन ? एक अर्काको दुःख दर्दमा पग्लेको छैन ? माथिल्लो तल्लामा बस्ने, तल्लो तलालाई नचिन्ने, तल्लो तलामा मान्छे मलामी जाँदा हाँसेर भोज खाएर बस्ने यो चाँहि सभ्य हो ? म आधारभूत कुरा भन्दै छु ।
विकासको जुन प्रचलित मोडल छ, विकाससम्बन्धी जुन आजको धारणा छ, म विनम्रतापूर्वक भन्दै छु, सभामुख महोदय, यस बजेटका प्रायोजकले बुझ्नुपर्यो यो धारणा नै आधारभूत रुपमा गलत छ । यो असभ्य छ, बर्बर छ र पासविक छ ।
हिजो सत्तापक्षका प्रमुख सचेतकले अमेरिकाले विश्वमा ल्याएको नीतिकोबारेमा हल्का संकेत गर्नुभएको थियो । हामी यति पतन भइसकेका छौं कि हामी त्यसकाबारेमा कुरा गर्न पनि तयार छैनौँ ।
यस बर्बर सभ्यताका विरुद्धमा हामीले कतिपय प्रगतिशील र जनमुखी कदम यस बजेटमा ल्याउने कोसिस गरेका छौँ । यसका लागि अनेक मित्रले खासगरी सत्तापक्षले अर्थमन्त्रीलाई बधाई पनि दिए ।
यसका बारेमा अर्थमन्त्रीलाई एउटामात्रै कुरा भन्न चाहन्छु, कि एउटा विशाल खाल्डो दुई फड्कोमा पार गरिँदैन । एउटा खाल्डोलाई दुई फड्कोमा पार गर्ने त्यही खाल्डोमा भासिन्छ । त्यसैले मैले पहिल्यै नै भनेको थिएँ, कि विचार स्पष्ट गर्नुहोस् । आफ्नो विचार स्पष्ट गर्नुहोस्, आफू सम्बद्ध रहेका पार्टीको विचार स्पष्ट गराउनुहोस् र आफ्ना नेताको विचार स्पष्ट गराउनुहोस् ।
विचार के हो ? के रे ? कति आयु छ रे वर्तमान प्रधानमन्त्रीको ? प्रधानमन्त्रीका अनुसार ठट्यौला हिसाबले ५ दिन, अर्का आकांक्षीका अनुसार १५ महिना, अर्का आकांक्षीका अनुसार ५ वर्ष ।
यस देशमा नीतिका बारेमा छलफलै हुँदैन । नेताका बारेमा मात्रै छलफल हुन्छ । नेता कहिले बिरामी पर्यो, कहिले खकार्यो, कहिले प्रधानमन्त्री बन्यो, कतिदिन प्रधानमन्त्री बन्छ । कति प्रधानमन्त्री मात्रै हेर्ने ? अरु दुई/चारवटा हेरौँला ।
मुख्य कुरा यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो ? म यसका लेखक, प्रस्तावकलाई बिन्ती गर्न चाहन्छु, या त सहरका ठाउँमा गाउँ लेख्नुहोस् या समाजवाद उन्मुख लेख्ने पाखण्ड नगर्नुहोस् ।
हामी जता गए पनि समाजवादका तर्फ गइरहेका छैनौँ । समाजवाद भनेको महँगो सलादले माथिबाट छरेको टपिङ गरेजस्तो होइन । टपिङ त हुँदै होइन । समाजवाद भनेको मूलतः अर्कै दृष्टिकोण हो । जीवनका प्रति अर्कै दृष्टिकोण, सबै मनुष्य मनुष्य हुन् भन्ने मान्यता ।
मैले कुनै मौलिक कुरा गरेको छैन । अघि भारतका राष्ट्रपतिको कुरा गरेँ । मैले आफूले समाजवाद सिकेको आफूलाई समाजवादी भन्ने दुईजना मान्छेबाट हो । एउटा बीपी कोइरालाबाट अर्को माओ त्से तुङबाट । यी विल्कुल अलग धारका देखिन्छन् । मैले गान्धीको नाउँ किन लिन्नँ भने, गान्धीले आफूलाई समाजवादी कहिल्यै पनि भनेनन् । यी दुई पुरुषले आफूलाई समाजवादी भनेका छन् ।
बीपी कोइरालाका योजनाकाबारे म ढुक्क छु, हामीलाई धेरै थाहा छैन । तिनको थोरबहुत संकलन छन्, दुर्भाग्यवश बजारमा उपलब्ध पनि छैनन् । बीपीका विचारमा कतिपय अन्तर्विरोध थिए तर, आखिरी वर्षमा उहाँले बारम्बार भन्नुभएको थियो कि विकास भनेको एक मानवीय प्रक्रिया हो । यहाँ मानविय प्रक्रियाका कुरा छन् ? रोजगार दिने कुरा छ, त्यसका लागि म बधाई दिन चाहन्छु । यहाँ किसानलाई सहुलियत दिने कुरा पनि छ । यहाँ साक्षर बनाउने कुरा पनि छ । यहाँ स्वास्थ्यलाई के गर्ने भन्ने कुरा पनि छ ।
तर, मूल कुरो के छैन ? यो अर्थशास्त्रले गर्ने कुरा हो ? अर्थमन्त्रीले गर्ने कुरा हो ? बजेटले गर्ने कुरा हो ? स्कुलमा जुन शिक्षक जाँदै जाँदैनन्, गए हाजिर गर्छन् र आफ्ना बच्चालाई अन्त कतै टवींकल टवींकल लिटिल स्टारमा त्यो यस बजेटले दूर गर्न सक्छ ? स्वास्थ्य कर्मचारीलाई तपाइले हाजिर गराउन सक्नुहुन्छ ? कृषि अनुदान जुन बीचमा बिचौलियाले खान्छन् त्यसको जवाफ तपाईंसँग छ ?
त्यसैले विनम्रतापूर्वक अर्थमन्त्रीलाई सभामुखका मार्फत भन्न चाहन्छु, यो काम अर्थमन्त्रीको वशमा छैन । नयाँ चिन्तन ल्याउनुहोस्, समाजवाद भनेको नयाँ सभ्यता हो, दुई चार हजार रुपैयाँ बढाउने र घटाउने होइन ।
त्यसैले दुइटा अनुरोध छ, या त यस पुस्तकबाट समाजवाद नाम हटाइदिनुहोस् म खुसी हुनेछु । या सहरका ठाउँमा गाउँ राखिदिनुहोस् झन् धन्य हुनेछु ।
जय नेपाल ।
(बजेटमाथिको छलफलमा भाग लिने क्रममा प्रतिनिधि सभा जेठ २० गते सोमबारको बैठकमा व्यक्त विचार)