शिरीषको फूलमा थेसिस लेख्छु भनेर उद्घोष गर्नु मेरो केवल भावनात्मक निर्णय थियो। सायद मैले सदाझै दिमागलाई होइन हृदयलाई पछ्याएँ। प्रपोजल लेख्दै गर्दा साथीले पढ्छु भनेर मागी। मैले अँग्रेजी सँस्करणमा गर्दै थिएँ, दिएँ। एकदिन अचानक उसले मलाई तैले सकमबरीमा होईन आफैंमा थेसिस लेख्दैछस् भनी। मैले किन भनेर प्रश्न गरेँ ? उसले भनी, ‘किन किन मलाई सकमबरी तँ जस्तै लाग्यो बुलेट पड्केको जस्तो आवाज, थोरै अराजक, थोरै निराश,’। म हाँसे मात्र केही बोलिनँ।
सकमबरीसँग आफू दाज्दा वा अरु कसैले आफूजस्तै लाग्छ भन्दा रमाईलै लाग्छ। सायद प्रिय पात्र आफूजस्तै हुनु सुन्दर संयोग हो। तर त्योभन्दा बढी मैले पारिजात र सकमबरीलाई दाँजेर हेरेको छु। र कयौंपटक सकमबरी पारिजातै हो कि भन्ने प्रश्न गर्ने गर्थें र गरिरहेको छु। हुन त पात्रमा लेखक बोल्नु कुनै नौलो कुरा होइन। सिग्मण्ड फ्रायड भन्छन्, ‘कुनै पनि रचना लेखकको लक्षण हो।’ उनका अनुसार लेखकका अचेतन चाहनाहरु उसको लेखनमा देखिन्छ। सायद सकमबरीमा पारिजात देखिनु पनि त्यही हो।
शिरीषको फूलको भूमिकामा शंकर लामिछाने लेख्छन्, ‘अनि उ पारिजात भई। यस हुनुमा अनेक शारीरिक, मानसिक, रोमान्टिक (जसको मलाई पटक्कै ज्ञान छैन) घटना भए उसको जीवनमा ऊ कवि बनी प्रतिष्ठा पाई, उ रोगी बनी, अस्पताल भर्ना भई।’ जसरी पारिजात पारिजात हुनुमा अनेकौ शारीरिक, मानसिक र रोमान्टिक कारण छन्। त्यसैगरी सकमबरी सकमबरी हुनुमा पनि सायद त्यसै कारण छन् शारीरिक र मानसिक। मलाई लागेका कारणबारे अवस्य चर्चा गर्नेछु हतारै के छ र ?
नेपाली साहित्य जगतमा एउटा छुट्टै पहिचान बनाउनु विशेषतः पितृसत्तात्मक समाजमा महिला भएर, पारिजातको संघर्ष आफैं एउटा ठूलो लडाई थियो। मलाई लाग्छ शून्यवाद र अस्त्तित्ववादलाई यति सुन्दर ढंगले ब्याख्या गर्नु सायद लडाईमा पाएको विजय हो वा उनले जितेको युद्ध। शून्यवाद र अस्तित्ववाद जस्तो गम्भीर बिषय उनले भन्दा पहिले नेपाली साहित्यमा कसैले भित्रयाएनन् त्यसैले पारिजात आफैं तत्कालिन समाजकी एक फरक पात्र हुन् भन्दा फरक नपर्ला। दार्जिलिङको निम्न मध्यमवर्गिय परिवारमा हुर्केर पनि उनको परिवार शिक्षित र स्वतन्त्रताप्रेमी थियो। उनका बुवा एसके वाइबा चिकित्सक थिए। साथसाथै उनमा धर्मकर्मप्रति कुनै रुचि थिएन। त्यही कारणले गर्दा पारिजातले कुनै प्रकारको सामाजीक तथा धार्मिक बन्देज भोग्नु परेन।
पारिजातले एकठाउमा आफ्नो बुवावारे यस्तो भनेकी छ्, ‘हामी उहाँलाई संसारकै महान् कथाबाचको रुपमा लिने गर्छौ। उहाँले प्रत्येक रात कथालाई अत्यन्त रोचक मोडमा रोकेर भोलि भन्ने बहानामा हामीलाई सुत्न पठाउनुहुन्थ्यो। सधै हामीलाई जुनसुकै काम गरेपनि उत्कृष्ट हुनुपर्छ भन्नुहुन्थ्यो, कहिल्यै पिट्ने गालीगर्ने गर्नुभएन । उहाँले सधै प्रगतिशिल वातावरण दिने प्रयास गर्नुभयो। हाम्रो घरमा आफ्नो विचार व्यक्त गर्न पाउने स्वतन्त्रता थियो।’ सायद त्यही पारिवारिक पृष्ठभुमिले उनलाई अलि बढी हक्की, क्रान्तिकारी र स्वच्छन्दतावादी बनायो। र सायद त्यही वातावरणले गर्दा उनले सकमबरीजस्ती अराजक, अफ द बिट के भनौं, फरक खाले नायिका जन्माउन सफल भइन्। हुनसक्छ उनी आफैं अरुभन्दा अल्लि फरक हुनुको परिणाम हो सकमबरी। जसलाई बुझेरै बुझ्न सकिँदैन, चाहेरै पनि ब्याख्या गर्न गाह्रो छ र त्यति नै कठिन छ एउटा बक्समा राखेर ब्याख्या गर्न पारिजातलाई जस्तै।
शिरीषको फूलको भुमिकामा शकर लामिछाने डी टी सुजुकीको शून्यवादसम्बन्धि भनाई यसरी उद्दृत गर्छन्, ‘शून्यता भनेको अन्तज्र्ञानबाट जन्मिने बस्तु हो, तर्कको प्रक्रियाबाट होईन।” सायद पारिजातले शून्यतालाई व्याख्या नगरीकन सकमबरीलाई त्यसको बिम्ब बनाउनु त्यही अन्तज्र्ञानको परिणाम हो। त्यो अन्तज्र्ञान सकमबरी पनि पाउछौ। उ सारै कम बोल्छे नबोलिकनै सबै कुरा बोलिदिन्छे। उ जीउँनुमा जीउँनुको सार्थकता देख्दिनँ। जन्मदिनको अवसरमा शिवराजले धेरै बर्ष बाँच भनेको उसलाई मन पर्दैन, उ भन्छे, ‘शिव तपाई आशिष दिन जान्नुहुन्न, समयमा मर भन्नुपर्छ। के छोप्न बाँच्ने।’ ऊ हरेकपटक अन्त्य सुन्नासाथ खुशी हुन्छे । त्यसैले पनि किन किन मलाई उ कम सकमबरी बढी पारिजात लाग्छ । यसो भनिरहँदा मलाई थाहा छैन म कति सही छु, कति गलत।
यसरी पारिजात र सकम्बरीको सम्बन्ध खोज्ने क्रममा मैले एउटा शब्द पाएँ ‘अल्टर इगो’ त्यसलाई नेपालीमा के भनिन्छ मलाई थाहा छैन। कुनै पनि आख्यानमा जब कुनै पात्र अथवा मुख्यपात्रले लेखकको जस्तै विचार, ब्यबहार र दृष्टिकोण देखाउँछ त्यसलाई अंग्रेजीमा अल्टर इगो भनिन्छ। शिरीषको फूलमा पनि हामी सकमबरीमा पारिजातको जस्तै विचार, दृष्टिकोण र ब्यबहार पाउछौ। दुबै शारीरिक रुपमा अस्वस्थ, दुवै चुरोटका अम्मली, दुबैले जीवनलाई हेर्नै दृष्टिकोण अल्लि फरक।
किन पारिजातले सकमबरीको दाजुको नाम पनि शिव राखी आफ्नो दाजुको जस्तै? किन सकमबरी र शिवराजबीच अति सुमधुर सम्बन्ध छ पारिजात र उसको दाजु शिवको जस्तै ? पारिजात र उसका दाजु शिबकुमार वाइबाबीच पनि अत्यन्त सुमधुर सम्बन्ध थियो। उनीसँग तोतामैना, प्रेमलहरी, अकबर–वीरबलको संकलन हुन्थ्यो। तिनै कथाहरु पढेर पारिजातमा साहित्यप्रति अभिरुचि जागेको थियो। बिष्णुकुमारी वाइबा साहित्यकार पारिजात हुनुमा उनका दाजु शिबको ठूलो हात छ।
त्यसैगरी किन सकमबरी चुरोट पिउँछे पारिजातले जस्तै? एकफेर जब सुयोगबिरले, ‘अहिले मैले चुरोट नखाऊ भनें तिमी के गछ्यौ बरी ?’ भनेर प्रश्न गर्छ तब उ भन्छे, ‘मोजसँग दशवटा खाइदिन्छु।’ पारिजातजस्तै सकमबरी पनि चेन स्मोकर रहिछ भन्नेकुरा यस प्रसङ्गले पुष्टी गर्छ। यसका साथै किन सकमबरी ईश्वरको अस्तित्व स्विकार गर्दिन पारिजातजस्तै र भन्छे, ‘ईश्वर नभन्नुस्, ईश्वरतत्व भन्नुस् भावना न हो?’ किन सकमबरी फूलहरुसँग रमाउँछे पारिजातजस्तै? जबजब यी प्रश्नहरु दिमागमा आउँछन् गाह्रो हुन्छ मलाई पारिजात सकमबरी हो कि सकमबरी पारिजात जस्ती हो भन्न। यी प्रश्नहरुको चित्तबुझ्ने जबाफ पाउँन त कठिन छ तर पनि अंग्रेजी शब्द अल्टर इगोले थोरै भएपनि उनीहरुबीचको सम्बन्धलाई ब्याख्या गरिदिन्छ। सायद अंग्रेजी शब्द अल्टर इगो नभएको भए अल्लि गाह्रो हुन्थ्यो उनीहरुको सम्बन्धलाई एउटा नाम दिन यसले सजिलो बनाइदिएको छ।
तथापि किन पारिजातले जानेर वा अन्जानमै आफूलाई उभ्याई सकमबरीमार्फत भन्ने प्रश्नचाहिँ यथावतै छ। किन सकमबरी पारिजातजस्तै निराश देखिन्छे ? किन उ मर्नदेखि डराउँदिन पारिजातजस्तै ? पारिजातले त मृत्युबारे पनि यस्तो भनेकी रहिछन् ‘कसरी एउटा सिंगो मृत्यु यति निराश बन्न पुग्यो यहाँ। म त संस्कारदेखि डराउँछु मृत्युभन्दा।’ त्यसैगरी किन सकमबरीमा जीवन र जगतप्रति अमूत र निराश विचारमात्र छ पारिजातको जस्तै भन्ने कुराले चाहि प्रत्येक पल्ट मेरो दिमाग खल्बलाउँछ। सायद फ्रायड ठिकै थिए लेखकको मनोविज्ञान चाहेरै वा नचाहेर पनि उसका पात्रहरुमा आउँछ। हुनसक्छ लेखन पनि सपनाजस्तै हो जसमा लेखकका अचेतन चाहना पुरा हुन्छन्। सायद त्यसैले पारिजातले नचाहँदा नचाहँदै सकमबरी आफूजस्तै बनाइन्। अथवा पारिजातलाई थाहा थियो शून्यवाद र अस्तित्ववादजस्ता जटिल कुराहरुलाई ब्याख्या गर्न उनी जस्तै अराजक र अफ द बिट नायिका आवश्यक थियो वा उसले आफैंलाई लेखिदिईन् बेहोसीमा। यी प्रश्नहरु प्रश्नमै सीमित छन् अझै पनि। अनि सकमबरी पारिजातकी अल्टर इगो हो वा होइन ? समीक्षाको एउटा सिंगो अध्याय खाली नै छ।