क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट आशा गर्ने ठाउँ नरहेको बताएका छन्। वर्तमान सरकारले एक वर्षे पूरा गरेको सन्दर्भमा नेता गजुरेलले प्रधानमन्त्री ओलीले भनेका कुराले देश अझै दुर्गतितर्फ जान लागेको संकेत गरेको टिप्पणी गरे। संविधान अनुसार वर्तमान सरकार पाँच वर्ष चल्नलाई कसैले नरोके पनि यो सरकार सडक आन्दोलनबाटै ढाल्नुपर्ने उनको भनाइ छ। नेता गजुरेलसँग स्पेसखबरले गरेको कुराकानीको सम्पादित अंशः
–दुई तिहाइ बहुमतको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई तपाईँले कसरी मुल्यांकन गर्नु भएको छ?
सरकारले एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन पनि गर्नुभयो। सम्बोधनमा सरकारका एक वर्षे उपलब्धीको पनि त्यहाँ चर्चा गरियो। त्यसमा के छ भने यो एक वर्ष सबै हिसाबले सफल छ भन्ने प्रधानमन्त्री ओलीको दाबी छ। उहाँले विकास निर्माणका कामदेखि लिएर शान्ति सुरक्षा, भ्रष्टाचार र महँगी नियन्त्रण जस्ता सबै कुरामा सरकारले प्रगति हासिल गरेको दाबी गर्दै यो काम निरन्तर अघि बढ्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ। त्यसले के देखाउँछ भने यो सरकार एक वर्षमा पूरै असफल भएको तथ्यांकहरुले पनि त्यो पुष्टि गरेको छ।
–तर, प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गर्नु भएको छ नी?
प्रधानमन्त्रीले कमि कमजोरी गरेको काम पूरा हुन नसकेका विविध कारणहरु देखाएर अब त्यसलाई सच्याउँदै सरकारले अग्रगति लिन्छ भनेको भए अलिकति भए पनि आशा गर्ने ठाउँ हुने थियो। तर, सर्वत्र असफल भइसकेको कुरालाई नै पुष्टि गरेर अब यसैगरी अगाडि बढ्छ भनेपछि अबको पाँच वर्षमा यो देश पुरै अन्धकारमा पुग्ने संकेत देखा परेको छ।
–उसो भए प्रधानमन्त्री ओलीको सम्बोधनबाट सन्तुष्ट हुने ठाउँ छैन?
कुनै पनि हालतमा सन्तुष्ट हुने अवस्था छैन। एकदम सरकार गलत बाटोमा हिँडिरहेको छ र त्यही बाटोलाई सही भन्दै गएको छ। यसले देशलाई अब गलत ठाउँमा पुर्याउँदैछ।
–सरकारको कामबाट अब आशा गर्ने ठाउँ केही छ त?
यो सरकारबाट आशा गर्ने कुरा केही पनि छैन। निराशाजनक भनेर देश डुविहाल्यो बचाउनै सकिन्न भन्ने पक्षमा म छैन। तर, यसलाई बदल्न सकिन्छ भन्ने आत्मविश्वास हामीमा हुनुपर्छ। यो बदल्नु पर्छ। यो सरकारले केही दिई हाल्छ कि भन्ने कुरा व्यर्थको आशा मात्र हो।
–राजनीतिक स्थायित्व भएको छ भनेर प्रधानमन्त्रीले भन्नु भएको छ, अरु बाँकी काम पनि भइरहेका छन् भन्ने दाबी छ?
स्थायी सरकार बन्ने वित्तिकै उपलब्धी हुने हो भने पञ्चायतमा झनै स्थायी सरकार थियो। त्यो नै उपलब्धी हो भने त हामीले पञ्चायत फालेर गलत गर्यौं भन्नु पर्यो। यदि त्यो जनपक्षीय सरकार छ, अग्रगामी छ भने त्यसको स्थायित्व राम्रो कुरा हो। तर, अधोगतितिर गइरहेको छ भने स्थायित्व ठीक हो भन्ने कुरा आउँदैन। झन गलत हुन्छ। अहिले पनि स्थायित्वको कुरा गर्ने हो भने दुई तिहाइको बहुमत छ, पाँच वर्षलाई त यो सरकार चल्छ।
तर, देश कहाँ पुग्छ भन्ने मूल प्रश्न हो। संसदीय परिपाटी अनुसार यो सरकार ५ वर्षलाई हो। यदि यो सरकारले देशलाई ‘रसातल’ तर्फ पुर्याउन लाग्यो भन्ने बुझेर सडक आन्दोलन भयो भने आन्दोलनको बलमा सरकार फाल्न सकिन्छ। नत्र त पाँच वर्ष त चल्ने जनादेश ऊसँग छ।
–भनेपछि सडक आन्दोलनबाटै सरकार फाल्न सकिन्छ भन्ने तपाईँहरुको निष्कर्ष हो?
सडक आन्दोलनको दम नै त्यसैमा हुन्छ। अहिलेसम्म भएका ठूला परिवर्तन सडक आन्दोलनबाटै भएका हुन् नी। कुनै पनि संविधान अनुसार आन्दोलन भएका छैनन्।
–तर, अहिलेको परिस्थिति उहिलेको भन्दा फरक छ होइन र?
हो बेग्लै छ। बेग्लै भएको हुनाले अब हुने जनआन्दोलन पनि बेग्लै किसिमको हुन्छ। पहिले कै जस्तो आन्दोलन हुँदैन।
–उसो भए तपाईँहरु आन्दोलनको तयारीमा लागेको हो?
अहिले सरकारले गरेका गलत कामहरुबारेमा जनस्तरमा बुझाउँदैछौँं। गत चुनावका बेलामा जनतामा ठूलो भ्रम छरिएको थियो। तत्कालिन अवस्थामा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले नेपाल नै मुग्द भएको थियो। त्यसबाट जनता भ्रमित थिए। त्यो भ्रम चिर्न हामी लागि परेका छौं। अहिले पनि जनता भ्रममा परेर गलत गरिएछ भन्ने अवस्थामा त पुगेका छन्। ती जनतालाई सही ठाउँमा ल्याउनका लागि अर्को आन्दोलनको विकल्प छैन। हामी त्यसैको तयारीमा छौँं।
–आन्दोलन गर्न जनताको साथ चाहिएला त्यो पाउनुहोला र अहिलेको परिस्थितिमा?
जनताका विभिन्न वर्ग र तह तप्काको साथ हामीलाई चाहिन्छ। यसको साथसाथै यहाँ भएका विभिन्न पार्टीहरु पनि हाम्रो विचारसँग सहमत भएर एकताबद्ध भएर आन्दोलन गर्छौं। मुख्य कुरा, के हो भने यहाँका क्रान्तिकारी वर्गहरुको साथ र समर्थन जुटाउन हामीले प्रयास गरिरहेका छौँ। त्यसका लागि फागुन ७ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन पनि त्यसैका लागि आयोजना गरेका छौँं। देशभरका जनतालाई अलिकति झकझक्याएर वास्तविकता यो हो भनेर फेरि जनताका बीचमा जाने र जनतालाई फेरि नयाँ आन्दोलनका लागि तयार पार्ने नै अहिलेको मुख्य काम हो।
–अन्तिममा भनिदिनुस्, गोपाल किराँती र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताको कुरा कहाँ पुगेको छ?
समान विचार राख्ने पार्टीहरुसँग एकीकरण गर्ने कुरा त स्वतः सिद्ध भइ नै हाल्यो। तर, गोपाल किराँतीजीको पार्टीसँग अहिले नै एकता हुने अवस्था छैन। तर, वार्तासम्म हुन सक्छ। यसबाट निस्कने परिणाममा भर पर्छ। एकीकरणको सवालमा विप्लवजी अहिले हामीसँग नजिक हुनुहुन्छ। तैपनि सबै कुराहरु नमिलेर पार्टी एकता त हुँदैन। नमिलेका कुराहरु वार्ता र सम्वादमार्फत मिलाउने कोशिश जारी रहन्छ।