प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्याविनेट मिटिङमै आफूलाई शब्दकोषमै नभएको शब्द प्रयोग गरेको र मर्यादाभन्दा बाहिर गएर बोलेको आरोप लगाउँदै भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरे।
बर्खास्तीपछि पछिल्लो समय मुख्यमन्त्री पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप नै चलिरहेको छ। पक्ष विपक्षमा टिकटिप्पणी पनि भइरहेका छन्। मुख्यमन्त्री पौडेलले संसदीय मर्यादाबाहिर गएको, क्याविनेट मिटिङमै अपशब्द बोलेको र कुशलतापूर्वक काम गर्न नसकेकाले बर्खास्त गरिएको बताएका छन्।
स्थापितले भने आफूलाई हटाउनु मर्ने बेला खुट्टा तन्काएको टिप्पणी गरेका छन्। स्थापितले भने, ‘मर्ने बेला खुट्टा तन्काउँदा लाती मलाई लागेको हो।’ उनले आफ्नो बर्खास्तीसँगै अब समिकरण परिवर्तन हुने दाबी गरेका छन्। यसै विषयमा स्पेसखबरले स्थापितसँग गरेको कुराकानीको सम्पादित अंशः
–खास त्यो दिन मन्त्रिपरिषद् बैठकमा के भएको हो? मुख्यमन्त्री डोरमणि पौडेललाई भन्नै नहुने शब्द प्रयोग गर्नु भयो। मुख्यमन्त्रीलाई गाली गर्नु भयो। त्यसपछि तपाईलाई बर्खास्त गरिएको हो भन्ने कुरा आयो। के हो सत्य?
शब्दकोषमै नभएको शब्द प्रयोग गर्यो। उठेर पिट्न लाग्यो। मुख्यमन्त्रीसँग बाझाबाझ भयो। त्योबाहेक कर्मचारीले छेकेरमात्रै मुख्यमन्त्री जोगिए भन्ने कुरा आयो। त्यो गलत हो। यस्तो झुटो कुरा जसरी बाहिर आयो, पत्रकारहरुले कुनै पनि मन्त्रीहरुलाई सोधेका छैनन्। बैठक चलिरहँदा दावा लामा भन्ने मन्त्री निस्किसक्नु भएको थियो। बाँकी ५ जना मन्त्री सँगै थियो। बाहिर दुईवटा कुरा आएका छन्। एकजना मन्त्रीले ‘विषय केही पनि बाँकी थिएन, बैठक टुंगिएको बेला चाहिँ इगोको विषय उठ्यो’ भन्नु भएको छ। भनाभन भयो, वादविवाद भयो, पिट्न लाग्यो भनेको होइन भन्नुभएको छ। अर्का एक मन्त्रीको प्रतिक्रियाचाहिँ पत्रिकामा आएको छ। उहाँले धादिङको सल्यानटारलाई स्वर्ग बनाउँछु भनेको कारण जग्गाको भाउ बढायो। यस्तो नि मन्त्री हुन्छ? भन्नुभएको रहेछ।
मुख्यमन्त्रीले पनि दुई–तीन वटा टिभीमा ‘अभद्र व्यवहार भयो, संसदीय मर्यादा नाघियो’ भनेर भन्नुभएको छ। क्याविनेटमा मुख्यमन्त्री सर्वेसर्वा हुन्छन् । मन्त्रीहरु उसको अधिनस्थ बस्नुपर्छ। उसँग कुनै कुरामा पनि फरक मत राख्नहुन्न भन्ने छ। तर, यो कम्युनिष्ट पार्टीको मान्यतै होइन। सर्वेसर्वा भनेको राजा–महाराजा, दैवी शक्ति निर्माण गर्ने हो।
भएको के हो भनेदेखि मेरो मुख्यमन्त्रीसँग त्यति सम्बाद हुँदैनथ्यो। म धेरैजसो जिल्लामा गइरहेको हुन्थे। दसैको सात दिन अगाडि मुख्यमन्त्रीले ‘केन्द्र सरकारले प्रस्ताव गरेको कर्मचारी संगठनअनुसार नै काम गर्नुपर्ने भयो, कसैले टेरेन’ भन्नुभयो। संगठन नभएको ठाउँमा कर्मचारी हुने कुरा भएन। तर, मेरो मन्त्रालयमातहतका सिंचाईका कर्मचारी आइसकेका थिए। केही आउने प्रक्रियामा थिए। तिनलाई राख्ने व्यवस्था पनि केही थिएन । उहाँहरुको व्यवस्थापन गर्यौं । काठमाडौं, दोलखासहित केही ठाउँमा कार्यालय खुल्यो । केही ठाउँमा खुल्ने प्रक्रियामा थियो। सडक, खानेपानीका इन्जिनियरहरु आएकै थिएनन्। त्यो त मुख्यमन्त्रीले ल्याइदिने हो नि। मन्त्रीले गर्ने होइन। माथि (केन्द्र) बाट अधिकार पनि हामीकहाँ आइसकेको थिएन। संगठन र कर्मचारी पनि थिएनन्। मुख्यमन्त्रीको आग्रह के रह्यो भने सातै प्रदेशको केन्द्र भाग भनेको प्रदेश ३। त्यो सबैको काम गर्ने भनेको भौतिक पूर्वाधार मन्त्रालय। र, तिमी मन्त्री। तिम्रो पफर्मेन्स खोई ? जिरो भयो भन्नुभयो ।
तर, मैले सबै प्रक्रिया पूरा गरेर तिहारपछि साढे चार अर्बको टेन्डर गर्ने तालिकासमेत दिइसकेको थिएँ । त्यसमा खानेपानीको लगभग ४० करोडको टेन्डर थियो । मैले सबै कुरा मुख्यमन्त्रीलाई लिखित रुपमै दिएको छु। जुन दिन क्याविनेट थियो। मुख्यमन्त्रीसँग सबै कुरा भयो। म बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनको निम्तोमा चीन जानुपर्ने भएकाले काठमाडौं जान पाउँ भनेर मुख्यमन्त्रीलाई भनें । उहाँले ‘तपाईँसँग सबै मन्त्रीहरु रिसाएका छन्, उनीहरुको चित्त बुझाउनुपर्यो’ भन्नुभयो। मैले त्यस्तो त केही छैन मन्त्रीजीहरुसँग भनें। उहाँले भन्नुभयो– ‘मैले मुख्यमन्त्रीको हैसियतले भन्दै छु तपाईँ क्याविनेटका लागि बस्नुपर्छ।’ ४ बजे क्याविनेट सुरु भयो। साढे ६ बजेसम्म बैठकमा सबै विषयमा चर्काचर्की जस्तै भयो, कर्मचारी लगायतका विषयमा।
मुख्यमन्त्रीले नै ल्याएको ‘गरिबलाई हाउजिङ’ भन्ने २० करोडको कार्यक्रमका विषयमा बैठकमा कुरा भयो। २० करोड खर्च गर्ने कार्यविधिका विषयमा छलफल भयो। मेरो चाहिँ १३ अर्बको कुरा हुँदा ‘जिरो पर्फमेन्स’ भनियो । उहाँको पनि उस्तै भयो नि । मैले बैठकको दिन खाममै राखेर यो काम यो दिनमा हुन्छ र यो दिनमा यसरी सम्पन्न हुन्छ है भनेर तालिका मुख्यमन्त्रीलाई बुझाएको थिएँ। उहाँले ‘ल केशवजीले कुरा राख्नुहुन्छ’ भन्नुभयो । मैले त्यसपछि मन्त्रीहरुलाई सम्बोधन गर्दै ‘मुख्यमन्त्रीजीले मलाई तपाईंहरु साह्रै असन्तुष्ट हुनुहुन्छ भनेर भन्नुभएको छ। म नभएको बेलामा भन्दा क्याविनेट मिटिङमै रहेका बेला छलफल गर्न सजिलो हुन्छ, मेरा केही कमीकमजोरी छन् भने सच्याउँला’ भनें। कोही पनि मन्त्रीले यो विषयमा केही भनेनन्।
त्यसपछि मैले सामाजिक विकास मन्त्री युवराजजीलाई भनें– ‘तपाईँसँग म जिल्ला घुमेको छु, मसँग के असन्तुष्टी छन् भन्नुस्’ भनें। तर, युवराजजीले भन्नुभयो ‘होइन–होइन दाइले गज्जब गर्नु भएको छ, मेरो कुनै असन्तुष्टी छैन’ भन्नुभयो। मैले त्यसपछि शालिकराम जमरकट्टेललाई सोधें, उहाँले पनि मेरो केही छैन भन्नुभयो। सबै मन्त्रीलाई सोधें, कसैले पनि मेरो विषयमा असन्तुष्टी छ भनेर भनेनन्। अनि मैले मुख्यमन्त्रीजीलाई भनें, ‘होइन मलाई यसरी आरोप त लगाउन भएन नि। यो बेठीक भयो ।’ क्याविनेटलाई नै विभाजन गर्ने हो, म जान पाउँ भनें। त्यसपछि मैले ‘मलाई जिरो पर्फमेन्स भन्नुभयो। त्यो मैले दिएको खाम (आयोजना तालिका) हेर्नु भयो भने २७ अर्बको म्याट्रिक्स फर्ममै कसरी जाने भनेर योजना दिएको छु। फेरि तपाईँ आरोप लगाउँदै हुनुहुन्छ, यो चल्दैन’ भनें। उहाँ फेरि ‘राजधानी सार्ने खेलमा लाग्ने’ भनेर क्याविनेटमै झर्किनुभयो। मलाई काम नलाग्ने मान्छे भन्नुभयो। अरु सामान्य हिसावले कुरा भएको थियो। झण्डै दुई मिनेटचाहिँ अलिक बाझाबाझ जस्तो गरी उहाँसँग दोहोरो कुरा भयो। मैले भनें, तपाईं मुख्यमन्त्री हुने बेला र म मन्त्री हुने बेला एउटै ठाउँबाट भएको हो। त्यो ठाउँमा जानुस् तपाईँ सफल हो कि म असफल हो। त्यहाँबाट छिनोफानो गरौं भने।
उहाँ फेरि कराउन थाल्नुभयो काम नलाग्ने, जिरो पर्फमेन्स भन्दै। मैले त्यसपछि तपाईको आँखा छ कि छैन, यहाँ हेर्नुुस् तपाईँलाई दिएको खाम भनें। मन्त्री भएर जिल्ला–जिल्ला किन डुलेको भन्नुभयो। मैले ‘म जिल्ला त डुल्छु मलाई तपाईँले थुन्न सक्नुहुन्छ ?’ भनें। जिल्ला त म डुल्ने नै हो। अनि, ‘कार्यालय नबस्ने, मलाई अपशब्द बोल्ने, अरु ठाउँमा गएर गाली गर्ने, मेरो विरुद्ध षड्यन्त्र गर्ने’ भनेर मलाई कराउन थाल्नुभयो। अनि मैले भनें, ‘म कामै नलाग्ने भए तपाईँको क्याविनेटमा भएको अधिकार प्रयोग गर्नुस् र मलाई हटाउनुस्। तर, यो समिकरण चाहिँ रहँदैन है। तपाईँको चेतना भनेको मकवानपुर पनि होइन रहेछ हेटौँडाको मात्रै रहेछ। हेटौँडाभन्दा माथिको छैन।’ यति भन्नासाथ सामाजिक विकास मन्त्री युवराजजीले ल ल विषयान्तर भन्दै लौ सकियो भने । अरुले पनि जाउँ–जाउँ भन्दै हिडेपछि बैठक सकियो। त्यस्तो तनाव केही बैठकमा भएकै होइन।
–प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने विषय चलिरहेको पनि छ। तपाईँले हेटौंँडाबाट सार्नु पर्छ भनेर पनि केही ठाउँमा बोल्नुभएको थियो। यसकै परिणाम त होइन तपाईको बर्खास्ती ?
हो, एउटा मुल कुरा त्यही हो। उहाँले बोल्न थाल्नुभयो, मैले सचेत गराएँ। राजधानी सार्ने भन्ने कुरा प्रदेश सभाभित्र अन्तरनिहित अधिकार हो। तपाईँ मुख्यमन्त्री भएँ भन्दैमा कमल थापाले त जिन्दगीभर दुःख दिए नै। आफ्नो राजनीतिक अवसान हुने बेला सबैलाई दुःख दिने भनेर हेटौँडा भनेर गए कमल थापाजी। उनको पछि लाग्ने हो? यो त संसदभित्रको आफ्नो सार्वभौम अधिकार प्रयोगको कुरो हो । उहाँ भने म मुख्यमन्त्री, कसरी सर्न दिन्छु भन्ने । विदेशी नआउने, लगानीकर्ता नआउने, सांसद नआउने, आएपनि एक दिन नबस्ने, कर्मचारी पनि नआएपछि मैले भन्या हुँ सांकेतिक रुपमा। त्यसपछि प्रधानमन्त्री केपी ओलीले मलाई बोलाएर भन्नुभयो, ‘यो राजधानीको विषयमा केही पनि कुरा नगर। भोलि जे हुने हो त्यो हुने हो ।’
प्रदेश सभाको बैठकमै प्रधानमन्त्री जाँदा ड्यासबाट बोल्नुभएन । तल बसेर बोल्नु भयो। त्यतिबेला प्रधानमन्त्रीको पहिलो संकेत थियो–मैले ड्यासमा गएर बोलें भने यहाँका आधा सांसद देखिँदैनन्। आधामात्रै सांसदलाई म सम्बोधन गर्न आएको हो? म यहाँ बस्दाखेरी लगभग सबैलाई देखियो, यो बीचमा खाँबो छ । यस्तो नि प्रदेश सभा हुन्छ भन्नुभएको थियो। प्रधानमन्त्रीको त्यो भनाइको अर्थ ‘यस्तो पनि प्रदेश राजधानी हुन्छ ?’ थियो। प्रधानमन्त्रीले नै त्यसरी भनेपछि बुझ्नेले त बुझे होलान्। त्यसपछि मुख्यमन्त्री झन् क्रुद्ध हुनुभयो मप्रति। अनि उहाँले राजधानीलाई नाकाबन्दी गर्ने, सप्लाई रोक्दिन्छु भन्ने आशयमा आफू प्रमुख अतिथि भएको कार्यक्रममा बोल्न थाल्नुभयो। म यहीँको भएको हुँदा म कुनै पनि हालतमा सार्न लगाउँदिन भन्न थाल्नु भयो।
कुनै सार्वजनिक कार्यक्रममा त उहाँले भन्नुभयो नै, कमल थापा र मेरो वेबलेन्थ मिल्छ भनेर पनि भन्नुभयो। मैले यस्तो कुरा बोल्दै नहिड्नु भनेर भनेकै हो । यसलाई संसदको विषय बनाऊ भनेर मैले भनें। संसद बाहिर गएर पनि उहाँले बोल्नुभयो। उहाँमाथि महाअभियोग पनि लगाउन सकिन्छ संसदमा, सार्वजनिक मञ्चबाट बोलेकोमा। तर, क्याविनेट भित्रको दोस्रो मन्त्रीले अरुलाई उकासेर त हिड्न भएन नि। त्यसैले मूल कारणचाहिँ त्यही हो। अर्को कुरा उहाँलाई भय हो।
–भय भन्नाले? कुन कुराले मुख्यमन्त्री तपाईँसँग डराउनुभयो जस्तो लाग्छ?
मैले ५०–६० अर्बको बहुवर्षीय योजना ल्याएँ। त्यसपछि २ अर्ब रुपैयाँ एडीवी र विश्व बैंँकले दिने सम्झौता भएपछि बाँकी योजना त भइसक्यो। अनि क्याविनेट नै बस्ने दिनमा सिंचाईका इन्जिनियर आउनुभयो। उहाँहरुले २ अर्ब जति हामी खर्च गर्छौं भन्नुभयो । थप २ अर्ब भयो भने हामी निर्माण नसकिएका ठाउँमा पनि काम गर्छौं भन्नुभयो। २ सयभन्दा बढी आयोजना पेन्डिङमा रहेछ। यो काम त टुंग्याउनुपर्छ, भ्रष्टाचार गर्ने केन्द्र नै यही हो भनेर मैले मुख्यमन्त्रीलाई सुनाएँ । त्यसपछि त म मुख्यमन्त्रीको प्रतिस्पर्धी भएँ । उहाँलाई ‘आफ्नो २० करोडका लागि कार्यविधि ल्याउनु पर्या छ यसले ११ अर्ब खर्च गर्नेभयो भन्ने लाग्यो होला ।
अर्को कुरा उहाँको त क्रियाशिलता छैन। अनि मैले जिल्ला जान नपाउने, मैले मेयर उपमेयर सांसदसँग छलफल गर्न नपाउने, त्यहाँका सांसदहरुसँग डुल्न नपाउने, यही हो मुल कुरा। मैले दिएका योजना तालिकाबाट उहाँ अत्तालिनुभएको हो। अर्को कुरा राजधानीको विषय पनि हो। उहाँले राजधानीको विषयमा बोल्न नहुने कुरा बोल्नु भयो, सार्वजनिक मञ्चबाट। उहाँले राजधानी सर्यो भने राजीनामा गर्छु भन्नुभयो।
संसदमा पनि त्यो विषय प्रवेश गर्यो। उहाँले त्यो भय ममाथि खन्याउनु भयो।त्यसरी ओभानो बन्न पाइन्छ? उहाँमाथि मनको भयमात्रै हो। उहाँ सानो बृत्तभित्र काम गर्ने मान्छे भएकाले पनि यस्तो भय उहाँमा परेको हो। अहिले पनि उहाँ हेटौँडामा मात्रै रमाउनु भयो त्यो पनि हेटौँडा उपमहानगरपालिकाका केही वडामा मात्रै। भिजन भएको मान्छे उहाँ होइन, त्यही भएकाले यो केशवले उछिन्ने भयो भन्ने त्रास उत्पन्न भएको हो।
–भनेपछि राजधानी सार्ने र मुख्यमन्त्रीबाट हटाउने खेलमा केशव स्थापित लाग्यो भन्ने भयले तपाईँलाई मन्त्रीबाट बर्खास्त गरेको भन्ने तपाईँको बुझाइ हो?
त्रास मात्रै होइन एउटा निश्चित ठाउँमा हाम्रो पार्टीभित्र गुटहरु रहेछन्। म त साधारण सदस्य, त्यस्ता गुटहरु मलाई थाहा छैन। म कुन तहको भन्ने पनि थाहा छैन । कुनै कमिटीमा पनि छैन । यो हुँदाहुँदै पनि प्रधानमन्त्री केपी ओलीले मलाई मन्त्री त दिएकै हो नि। उहाँ पनि दाबेदार, सानु श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ र म दाबेदार थियौं। पछि खेमाबन्दी भएपछि राजेन्द्र पाण्डे अष्टलक्ष्मीतिर जानु भयो, पशुपतिजीले प्याकअप गर्नु भयो। त्यसपछि हाम्रो अहिलेको मुख्यमन्त्री चाहिँ अष्टलक्ष्मीकोमा गएर सके भौतिक पूर्वाधार नभए अरु केही मन्त्री भएपनि दिनु पर्यो भनेर पुग्नुभएकै हो। त्यसपछि अष्टलक्ष्मी, सानुजी र म बाँकी रह्यौं। त्यहाँ पनि खेमाबन्दी हुने रैछ।
एउटा मिटिङमा मुख्यमन्त्री, सभामुख, भौतिक पूर्वाधार मन्त्रीको बाँडफाँड भयो। तपाईँ उमेर गइसकेको मानिस, एक–डेढ वर्ष इन्ज्वाय गर्नुस्, त्यसपछि तपाई भजन कीर्तनतिर लागे हुन्छ, त्यसपछि केशव स्थापितलाई हस्तान्तरण गर्नुहोला भनेर नेतृत्वले भनेकै हो। त्यसमा साक्षीप्रमाण चाहियो भने म पेश गर्छु। सानुजी सभामुख भएपछि उहाँले अहिले भएकै हो भनेर बीचमा बोल्न भएन। तर, त्यहाँ उपस्थित सांसदहरु त छन् नि। यो भएपछि त्यो म्यादी सरकार जस्तो भयो नि। त्यसैले उहाँलाई पहिलो दिनदेखि नै यो मान्छे क्रियाशिल, गतिशिल भयो भने यसले सिध्याउँछ भन्ने लाग्यो होला।
त्यतिमात्रै होइन मुख्यमन्त्रीले मेरा लागि गाडी, अफिस, कर्मचारी नदिने काम गर्नु भएकै हो। उहाँले ममाथि नाकावन्दी गर्न सुरुदेखि नै खोजेकै हो। यो मान्छेले राम्रो काम गर्छ भन्ने भएर नाकावन्दी लगाएकै हो। त्यति हुँदा पनि मैले आफ्नो स्रोत प्रयोग गरेर सबै बन्दोबस्त गरेर काम थालें । फेरि उहाँले अब जिल्ला जान बन्द गराएपछि अलिक पार लाग्छ कि भनेर त्यो पनि प्रयास गरेकै होे। त्यतिमात्रै होइन म नभएका बेला मेरा कर्मचारी बोलाएर तिमीहरुको मन्त्रालयमा भ्रष्टाचार भइरहेको छ, तिमीहरुको योग्यता छैन भनेर भड्काउने र भएका कर्मचारी पनि भगाउने प्रयत्न गर्नु भयो। तर, मैले मेरो अन्तरआत्मादेखि नै भन्छु उहाँ ५ वर्ष बस्दा पनि मलाई आपत्ति थिएन।
तर, प्रधानमन्त्री, पार्टी अध्यक्षचाहिँ बिरामी भएर भेटघाट नै बन्द भएका बेला मुख्यमन्त्री टर्चर दिन जान हुन्छ? सात दिनपछि गरे पनि यही इस्यु उठाउन पाइँदैन। यहाँ के पार्टी कमिटी छैन? संसदीय दल छैन? त्योबाहेक हाम्रो प्रदेश कमिटी छैन? कहीँ पनि छलफल गरिएन। उहाँलाई लाग्यो मचाहिँ सर्बसत्तावादी हो जस्तो। हामी उपत्यकाले भोट हालेर उहाँलाई त्यो परिस्थितिमा नामै नभएको मान्छेलाई परिबन्दले (नेतृत्वको शव्द) एक डेढ वर्षका लागि भएपनि हुन्छ, गर्छु कामरेड भनेको मान्छेले पदमा पुगेपछि भुल्नहुन्छ ? तर, उहाँलाई मैले एक डेढ वर्षमै हट्नु पर्छ भनेर कहीँ पनि भनेकै छैन। राजधानी प्रकरणमा पनि उहाँको मनोगत कुरा हो।
–बर्खास्तीमा परेपछि तपाईँले पार्टी नेतृत्वसँग कुराकानी गर्नु भएको छ कि छैन? केही कुरा त भयो होला नि?
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग त्यतिबेला नै टाइम मागेको थिएँ, उहाँ आफैले मेरो अहिले स्वास्थ्य ठीक छैन। बोल्ने मेरो। यताबाट गइरहेको आवाज पनि मैले सुन्न सकिरहेको छैन भनेपछि उहाँको स्वास्थ्यलाई असर गर्ने गरी म जान उपयुक्त हुँदैन भनेर गएको छैन। अरु तहमा चाहिँ कुरा गरें । मेरो बारेमा कुरा पुर्याइएको रहेछ, शब्दकोषमै नभएको शब्द प्रयोग गर्यो, उठेर पिट्नै खोज्यो, सदाकाल अपमान गर्यो केशव स्थापितले भनेर। अब प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भेटेरै कुरा राख्छु।
–तपाईँले बर्खास्तीमा परेकै दिन भन्नुभएको थियो, ‘बुढा मान्छे हुन् तिहारपछि केही होला भन्नु भएको थियो? तिहार पनि सकियो अब के हुन्छ?
मैले अहिले पनि भने नि उहाँ असक्षम मुख्यमन्त्री हो। उहाँ आफैले मलाई कर्मचारीले पनि टेरेनन् भन्नु भएको छ। मुख्यमन्त्री उहाँ भएपछि प्रधानमन्त्रीदेखि केन्द्रका अन्य मन्त्रीलाई मनाएर प्रदेशलाई आवश्यक पर्ने संगठन, कर्मचारी, ऐन ल्याउने काम उहाँकै हो। तर, उहाँले कसैले टेरेनन्, काम गर्न सकिएन भन्दै आउनु भएको छ। यो उहाँको असक्षमता हो।
मुख्यमन्त्रीजीको असक्षमताको मसँग किताव नै छ। म यो त अब संसदको विषय बनाउँछु। उहाँले तिमी बर्खास्त भयौ भनेर मलाई फोन गरेको भए सकिने थियो। मैले केही सार्वजनिक टिप्पणी गर्ने थिइनँ। तर, उहाँले मलाई अनियमितता गर्यो भन्नुभयो। त्यसैले मैले उहाँलाई २० पटक लेखेरै अर्थ तथा योजना मन्त्रालयले नै योजना काम गर्ने हो भनेको थिएँ। उहाँले आफ्नै अध्यक्षतामा नीति तथा योजना आयोग बनाउनुभयो। दुई जना कर्मचारी ल्याउनुभयो। त्यसमा पनि आपत्ति भएन। त्यसपछि हाम्रो प्रदेशको अवधारणा पत्र बनाउने कुरा आयो। १५ वर्षको मास्टर प्लान बनाउने कुरा क्याविनेटमा छलफल हुनुपर्यो, मन्त्री र सांसदलाई भन्नु पर्यो नि । जबकि यो कुरा अर्थ मन्त्रालयलाई पनि थाहा छैन।
अनि त्यो एसिया फाउन्डेसनसँग काम गर्न सम्झौता गर्नु भएछ। मैले त्योबारे त्यति धेरै केही बुझेको थिइनँ। पछि बुझ्दै जाँदा त अर्कै रहेछ। विदेशी संस्था एसिया फाउन्डेसनसँग काम गर्ने भए केन्द्रको अर्थ मन्त्रालयको स्वीकृती लिएको छ कि छैन, विदेशीसँग काम गर्न परराष्ट्रबाट स्वीकृति लिएको छ कि छैन, क्याविनेट निर्णय भएको छ–छैन ? अनि त्यसको कार्यालय ललितपुरको भैँसेपाटीमा खोल्ने, कर्मचारी नियुक्त गर्ने को कर्मचारी हो हामीलाई थाहा छैन। प्रक्रिया अनुसार त जानु पर्यो नि । त्यसको भुक्तानी अमेरिकन संस्था युएसएआइडीबाट हुन्छ। सबैले त्यही भन्छन्। मैले ‘यसको खुलासा गरौं, यदि सहमति खोज्ने हो भने अर्थ मन्त्रालयबाट स्वीकृति ल्याउने भए ल्याऔं’ भनें।
उनीहरु त्यत्तिकै सहयोग गर्न आउँदैनन्। हाम्रै आफ्नो पाँच करोड खर्च गरे भइहाल्यो नि भनें । अबधारणा पत्र बनाउने भनेर जिल्लाका सबै प्रतिनिधिहरुलाई बोलाउने, जनप्रतिनिधि, स्थानीय तह, सिडियो, एलडिओ बोलाउने, अनि आएको सुझाव सबैभन्दा पहिला त्यो एसिया फाउन्डेसनमै जान्छ, यसो नगरौं भनें । यो गैरकानूनी काम हो। अनि मलाई अनियमितता गर्यो भनेर मुख्यमन्त्रीले भन्न मिल्छ? यो जति घोर अनियमितता कहीँ हुन्छ? यही कारण पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ। सीआईएका मान्छेहरु आउँछन् उनीहरुसँग रसपान गरेर मलाई आरोप लगाएर हुन्छ? मैले मात्रै होइन सबै मान्छेले भनेको यही हो। त्यसैले मुख्यमन्त्रीले मेराविरुद्ध जे कुरा उठाउनु भएको छ सबै तथ्यहीन कुरा हुन्।
–बर्खास्तीपछि तपाईँले काठमाडौंमा एउटा सार्वजनिक कार्यक्रममा पनि मुख्यमन्त्री सीआईएको एजेन्ट हुन् भन्ने आरोप लगाउनु भएको थियो। के यो सत्य हो?
मैले माथि पनि यो सीआईएका विषयमा भनिसके नि। अस्तीमात्रै उहाँले ललितपुरमा एउटा कार्यशाला गोष्ठी गर्नु भयो। यो विषयमा विस्तारै सबै खुल्दै जान्छ। मैले धेरै साथीहरुलाई सुरुमा एसिया फाउन्डेसन भन्या के हो भनेर सोध्दा उनीहरुले मुख्यमन्त्रीलाई सोध्नु भनेका थिए, अब थाहा हुँदैछ।
मुख्यमन्त्री यो विषयमा जवाफ दिँदैनन्। यो सार्वजनिक चासोको विषय विदेशीसँग सम्बन्ध जसलाई भारतबाट लखेटिएको हो, योसँग मिलेर काम गर्दा केही सम्झौता त भएका होलान् नि। अथवा मुख्यमन्त्रीले केही बचन त दिएका होलान् नि। हाम्रो अवधारणापत्र बनाउन हामीसँग पैसा छँदाछँदै त्यो संस्थासँग जोडिनै पर्ने बाध्यता चाहिँ के हो?
आफू सत्तामा टिक्न हो कि त्यो अघि भनेजस्तै आवधिक मुख्यमन्त्री भए फलानोको साथ सहयोग पाए अलिकति केही तीन महिना लम्बिन्छ भन्ने हो कि, त्यो उहाँले जान्ने कुरा हो। उहाँका केही मान्छेले केशव स्थापितले उठाएको कुरा, उसले नै पहिले जवाफ दिनुपर्छ भनेका छन्। तर, मैले उठाएको प्रश्न भएकाले मुख्यमन्त्रीले नै पहिला जवाफ दिनुपर्छ। सबैको राय लिएर विदेशी संस्थालाई बेच्न मिल्छ? यो सूचना बेचेकै हो। उहाँले जानेर गर्नु भएको हो वा नजानेर। यदि कानून नजानेर गरेको भए त उहाँले राजीनामा गर्नु पर्छ। उहाँले गरेकै हो यो काम, त्यसैले आफू पदमुक्त भएर सफाइ माग्नु पर्छ।
ललितपुरमा अवधारणापत्रका विषयमा गरेको कार्यशाला गोष्ठीबारे हामी मन्त्री कसैलाई पनि थाहा थिएन। त्यसको खर्च व्यवस्थापन कसले फछ्र्यौट गरिदियो त्यो पनि थाहा छैन। यो अपारदर्शी काम गर्न भएन। सबभन्दा पहिला आफूठीक हुनुपर्यो नि। ऐना हेर्ने त आफूलाई हो नि। मेरोबारेमा कुरा उठाए हुन्छ कुन ठाउँमा मैले अनियमितता गरें, त्यसको जवाफ दिन म तयार छु।
–मुख्यमन्त्रीले पार्टीकै सहमतिमा तपाईँलाई हटाएको भन्ने पनि छ? के पार्टीले त्यो सहमति मुख्यमन्त्रीलाई दिएकै होला त?
हेर्नुस् यी मुख्यमन्त्रीलाई कुनै पनि गुटले विश्वास गर्छ जस्तो मलाई लाग्दैन। गुट चलाउने, गुटको खास मान्छे वा गुट चलाउन सक्ने क्षमता भएको मान्छे पनि होइन उहाँ। परिबन्द र परिवेशले चाहिँ उहाँलाई मुख्यमन्त्री बनाइएको हो। आवधिकरुपमा नेतृत्वले बोक्नु परेको हो, कुरा यत्तिमात्रै हो। विशेष क्षमता भएको मान्छे पनि होइन। पार्टीले मलाई हटाउन निर्देशन दिएको भन्ने मलाई लाग्दैन। पार्टीसँग छलफल गरेको भन्ने पनि होइन उहाँले छल गरेर फलमात्रै खाएको हो।
मुख्यमन्त्रीले तथ्यहीन आरोप लगाएर आफ्नै भयका कारण मलाई हतारमा बर्खास्त गरेको हल्ला गरेका हुन्। मैले अहिलेसम्म हटाइएको औपचारिक जानकारी पाएको छैन। उहाँले मलाई तपाईँलाई हटाइयो भनेर, हटाइएको पत्र वा म्यासेज मलाई पठाउन सक्नु भएको छैन। जुन कुरामा टेकेर मलाई हटाइयो भन्ने बाहिर कुरा आएको छ, त्यो कुरामा टेकेर मलाई हटाइएको भन्ने उहाँमा अहिले पनि साहस छैन। साहस गर्न सक्दैनन् पनि।
–उसो भए कसरी आँट गर्नु भयो त मुख्यमन्त्रीले तपाईँलाई हटाउने?
उहाँको कदम मर्ने बेला मान्छेले खुट्टा तन्काएजस्तै हो। त्यो तन्काइको लातचाहिँ मलाई लागेको हो। किन भने यो समिकरण त अब भत्कियो उहाँले बुझे हुन्छ। म पूर्वाधार मन्त्री नभएपनि मेरो अभियानलाई कसैले छेक्न सक्दैन। राजालाई त नटेरेको मान्छे हुँ, जनतालाई अन्याय हुने, गलत आरोप लगाउने, गलत अफवाह फैलाउने कुराको सख्त विरोध गर्छु। यो कुनै सामन्तबाद होइन, कुनै सामन्ति राजाको अगाडि जदौं गरेर गएको होइन। जनताको कल्याणका लागि राजनीति गर्नेले सबै कुरो दाइँ गर्न गएको गोरु हो र यही मात्रै घुमौं भन्ने ? अलिकति दाना खुवाएको छ भनेर घुम्न आएको हो र म?
म त अलिक फरक पृष्ठभूमिबाट आएको मान्छे हो यो मुलुकको कल्याण गर्ने अभियानमा लागौं भनेर। उहाँले मलाई हटाएको भनेर भनेको भए म एक शब्द पनि बोल्ने थिइनँ। तर, हिजो क्याविनेटमा पनि बोलेकै हुँ अब पनि बोल्छु। उहाँ मौन बस्ने भए म पनि यसलाई पार्टीको दायराभित्र लग्न तयार छु। तर, उहाँले सार्वजनिक रुपमा आरोप लगाउन थालेपछि सार्वजनिकरुपमै प्रतिवाद गर्छु।