कांग्रेसको क्रियाशील सदस्यता बितरण कहाँ पुग्यो?
नेपाली कांग्रेसको सबैभन्दा मूल जरो वा प्राणपखेरु भनेकै क्रियाशील सदस्यता नै हो। हरेक महाधिबेशनअघि क्रियाशील सदस्यताको साह्रै ठूलो विवाद हुने गरेको छ। यसलाई निराकरण गर्न सकियोस् भनेर म आफैं नियमावली बिधान मस्यौदा समितिमा हुँदा हरेक बर्ष क्रियाशील सदस्यता नवीकरण गर्ने भनेर बैधानिक व्यबस्था पनि गर्यौं। तर व्यबहारमा उतार्न सकेनौं। अहिले क्रियाशील सदस्यता वितरणमा धाँधली भयो भनेर ठाउँ ठाउँबाट गुनासा आएका छन्। त्यसलाई हामीले सभापतिसँगको भेटमा गम्भीरतापूर्बक उठायौं। राष्टिय पहिचान भएका अन्य पार्टीबाट आएका नेताहरुलाई सदस्यता दिने त प्रचन नै छ। बाँकी प्रकृयागत रुपबाट बिधानमा उल्लेख भए अनुसार कहिंकतै बाधा नहोस् भन्ने हो। सभापतिलगायतका नेताहरुले त्यस्तो हुदैन सबै सदस्यता जिल्लामा पठाएर बैधानिक प्रकृयाबाटै आउँछ भन्नु भएको छ। त्यसकारण कार्यान्वयन हुनेमा हाम्रो बिश्वास छ। तर कोरोना संक्रमणका कारण निश्चित समयभित्र कसरी गर्ने भनेर गम्भीर भएर सबैले सोच्नुपर्छ।
आमनिर्वाचनमा भएको पराजय लगायतका हिजोका दिनमा भएका कमजोरीको सबैले जिम्मेवारी लिनुपर्छ। स्वभाबिक रुपमा पहिलो जिम्मेवारी सभापतिको हुन्छ। सँगै महामन्त्री, पदाधिकारी, बरिष्ठ नेता र केन्द्रीय समितिमा रहेका हामी पनि त्यसको जिम्मेवार चाँही छौं। बिश्लेषण गरेर अब यस्तो गल्ती दोहोरिन दिने छैनौं भनेर आँट गर्न सक्नुपर्छ। त्यसकारण यथास्थितिबाट पार्टी चल्दैन। कम्युनिष्टहरुले एकपछि अर्को संरचना ध्यस्त गर्दै लोकतन्त्रको जामा पहिर्याएर चिनिया कम्युष्टि पार्टीको मोडलमा मुलुकलाई लैजान खोजेका छन्। त्यसबाट बचाउन सक्ने शक्ति भनेको नेपाली कांग्रेसमात्र हो। कांग्रेसलाई बचाउन यथास्थितिबाट मुक्त गराई नीतिगत, नेतृत्वगत, संस्थागत ढंगबाट अघि बढ्नुपर्छ। अर्थात् बैचारिक पुनर्जागरणका साथ अघि बढाउनु पर्छ।
नेतृत्व परितर्बनको कुरा गर्नु भएको हो?
नेतृत्वमात्र होइन, नीति, बिचार र त्यसमा भएका संरचना समेत परिबर्तन गर्नुपर्छ। जिल्ला सभापतिहरुले वडाध्यक्षको चुनाबमा टिकट दिन पाउनु भएन। अनि के प्रजातन्त्र भन्ने? हामी टुलुटुलु हेरेर बस्यौं। बिरोधको सुनुवाई भएन। पार्टीका संयन्त्रलाई परिचालित गर्दै संरचनागत सुधार गर्दै सामुहिक नेतृत्वमा लैजानुपर्छ। त्यसका लागि म जहाँ पनि खुला छु।
१३ औं महाधिबेशनमा देउवा समूहबाटै महामन्त्रीको उम्मेद्वार हुनुभयो। अहिले किन यति सारो असन्तुष्टी?
शेरबहादुर देउवाले सामूहिक नेतृत्वको प्रतिबद्धता जनाउनु भएपछि उहाँको टिमबाट चुनाब लडेको हुँ। तर घोषणापत्रमा उल्लेख गरिएका १० प्रतिशत काम पनि उहाँले गर्नु भएन। जहाँ निष्पक्ष, परादर्शी हुन्छौं, पार्टीलाई संस्थागत ढंगबाट अघि बढाउँछौं, गुण र दोषका आधारमा पार्टी चलाउँछौं भनेका थियौं। खै त उहाँ नेतृत्वको आएको ४ बर्ष बितिसक्दा पनि केही भएन।
शेरबहादुरको महामन्त्री लडेको मान्छे म, देशभरिकै टिकट बितरणमा म सहभागी हुनुपथ्र्यो उहाँको टिमबाट। त्यसको त कुरै छाडौं, मेरो प्रदेशको टिकटको सूचीसमेत हेर्न पाइन। मलाई उहाँले निर्वाचन आयोगमा गएर हेर भन्नुभयो। त्यतिमात्र होइन, प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने बिषयमा कुनै छलफल भएन। महाभियोग दर्ता गर्दा मेरो हस्ताक्षर पेष्ट गरेर राखियो। टिकट बितरण गर्दा जिल्ला सभापतिहरुसँग समन्वय गर्नुपर्छ भनें। तर सुनुवाई गर्नु भएन। उहाँ सानो समूहबाट प्रभाबित हुनुभयो।
सामूहिक निर्णय भएन भनेर अर्को समूहमा जोडिनु भएको छ। अब त्यो टिमबाट चाँही सामूहिक निर्णय हुनेमा तपाई बिश्वस्त हो?
मलाई थाहा थियो, म महामन्त्रीको उमेद्वार हुँदाहुँदै पनि शेरबहादुरले शशांकलाई मद्धत गर्नुभयो भनेर। तर धोका दिनु हुदैन भनेर म दाँयाँबाँया भइन। हुन त हारेपछि दोष लगाउने चलन छ। तर स्वयं महामन्त्रीले भनेपछि त त्यो सत्य रहेछ भनेर प्रष्ट भयो। म भन्छु शेरबहादुरले त्यतिबेला मलाई प्रयोग गर्नु भएको रहेछ। ममाथि ठूलो षड्यन्त्र भएको जगजाहेर भयो। बिधिसम्मत नदेखेपछि म उहाँसँग असहमत भएको हुँ। व्यक्तिगत रुपमा उहाँ मेरो अनन्य मित्र हुनुहुन्छ तर उहाँको तौरतरिका ठीक भएन भन्ने हो। उहाँबाट अब आउने चुनौती सामना गर्न सकिदैन। त्यसैले बिकल्प खोज्नुपर्छ भन्ने मेरो भनाई हो।
अहिले तपाई जुन समूहमा हुनुहुन्छ त्यो समूले पनि सामूहिक नेतृत्वको छनक त दिन सकेको देखिएन। नेविसंघको केन्द्रीय समिति पुनर्गठनमा असहमती जनाए पनि पदाधिकारी संख्या थप्ने बिषयमा सहमति जनाउनु भयो। जुन सल्लाह तपाईहरुबीच त भएन नि?
त्यो गम्भीर त्रुटी थियो। हाम्रो समूहमा यस बिषयमा ब्यापक छलफल पनि भयो। मैले त त्यो निर्णय अस्वीकार्य छ भनेर बोलें पनि। त्यस्तो गल्ती सुधार्दै रामचन्द्रजीले सामूहिक नेतृत्वमा प्रतिबद्धता जनाउनु भएको छ।
नेतृत्वका लागि उम्मेद्वारी घोषणा हुन थालेको छ नि?
साथीहरुले उम्मेद्वारी घोषणा गर्नुलाई मैले स्वभाबिक रुपमा लिएको छु। सामूहिक रुपबाट निर्णय हुन सकेन भने म पनि उम्मेद्वार हुँ भनेर भनेकै छु। आकांक्षीहरुबीच छलफल गरेर पनि एउटा निकर्ष निकाल्न सकिएला।
त्यो छलफल तपाईको आफ्नो टिमभित्र मात्रै कि अन्यत्र पनि?
यस बिषयमा सबैसँग बसेर छलफल गर्न म तयार छु। म कुनै समूहमात्र सबै हो, अरु कोही पनि होइन भन्ने संकीर्ण मासिकताबाट मुक्त छु। यथास्थितिबाट पार्टीलाई मुक्ति दिने बिषयमा कसैले प्रतिबद्धता जनाउँछ भने सबैसँग बसेर छलफल गर्न तयार छु।
भनेपछि टिमको घेराले तपाईलाई छेक्न सक्दैन?
टिममात्र अन्तिम होइन। यथास्थितिबाट मुक्ति दिनुपर्छ भनेर दृढतासाथ आउने कुनै पनि साथीहरुसँग बसेर छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ।
यति कुरा भनिरहदा पनि पछिल्लो समय तपाईको छलफल त टिममै केन्द्रित छ नि ?
त्यसका लागि प्रष्ट खाका अहिले नै आइसकेको छैन। जस्तो शेरबहादुरजीको टिममा रहनु भएका विमलेन्द्र निधिले अघि बढ्ने हो भने तपाईसँग सल्लाह गर्छु भनेर मसँग भन्नु भएको छ। पार्टीको उपसभापति, देशको उपप्रधानमन्त्री भइसकेको ऐतिहासिक व्यक्तित्व विमलजीले सभापतिमा उठ्छु भनेपछि किन भनेर कसैले पनि प्रश्न गर्ने ठाउँ छैन। अहिले देखिएकामध्ये उहाँ उपयुक्त उम्मेद्वार हो।
भोलि सामूहिक नेतृत्वमा कुरा मिलेन भने धेरै उम्मेद्वार होलान्। अथवा दुई ध्रवबाहेक तेस्रो समूहबाट पनि नेतृत्व चयन हुन सक्छ। त्यस्तो अबस्था आएमा किन पनि राम्रो हुन्छ भने त्यसले भोलिका दिनमा पार्टीका नेताहरुलाई संयोजन गर्न सजिलो हुन्छ।
त्यतिबेला तपाईको स्थान चाँही?
मेरो स्थानका बारेमा केही भनिरहेको छैन। नेपाली कांग्रेसले २०५१, २०६४ मा पनि चुनाब हारेकै हो, २०७४ को चुनाबमा पनि हारेकै हो। हरेक हारपछि पहिलो पार्टीका रुपमा जसरी स्थापित भएको छ। आगामी निर्बाचनमा पहिलो पार्टीका रुपमा स्थापित गरौं। त्यसमा हामी जस्ता जिम्मेवार साथीहरुले स्वार्थबिहिन संकल्प गरौं। त्यस्तो सोच्ने क्रममा कुन ठाउँ हुन्छ भनेर मैले धेरै खोजीनीति गरेको छैन। तर यो सबैको सामूहिकता सिर्जना गर्न सक्यो र एउटा टिम बनाएर लड्नुपर्ने स्थितिमा म महामन्त्रीमा लड्दिन। पहिला लडिसकें। अरु बाँकी पदमा सामूहिकतासाथ लड्नुपर्छ भने म तयार छु। सिनियर, जुनियर पनि हेर्दिन। पार्टीलाई जीवन्तता दिनुपर्ने अहिलेको आबश्यकता हो। होइन भने सामूहिक नेतृत्व स्वीकार्दा जहाँ बस्नुपर्छ म त्यसका लागि तयार छु। दुईवटा शसक्त उम्मेद्वार हुँदा पनि हिजो महामन्त्रीमा म जम्मा १५४ मतले पराजित भएको हुँ। कमजोर थिएँ भने त दोब्बर मतले हार्नुपर्ने हो। मलाई माया गर्नेहरुको समूह ठूलो रहेछ। तिनलाई चिनेर गुन कसरी गनु तिर्ने भनेर सम्झिरहेको छु।
१४ औं महाधिबेशनमा पहिलो पुस्ताले ससम्मानजनक पार्टीमा राखेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मत बलियो हुँदै गएको हो?
त्यो मत राख्नेहरुमध्ये एउटा म पनि हुँ । हाम्रो समूहभित्र मैले नै त्यसको प्रस्ताब राखेको हुँ। हामीबीच सहमति हुन्न भने प्रभाबकारी युवा समूह बनाऔं, हामी त्यसका लागि बाटो देखाऔं। मैले त्यो बेला समूहगत रुपले भनेको थिएँ। अहिले त्यस्तो परिस्थिति आएमा समग्र पार्टीभित्र गम्भीरतापूर्बक सोच्न सकिन्छ। म त्यसमा खुला छु।