२०४८ सालदेखि ‘कम्युनिष्ट गढ’ का रुपमा चिनिएको धरान उपमहानगरपालिकाको मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्। २८ वर्षपछि कांग्रेसले धरानमा चारतारे झण्डा फहराउन सफल भएको हो। यो जितलाई कांग्रेसले कम्युनिष्टको ‘लालकिल्ला ढालेको’ भनी व्याख्या गरेको छ। विजयी भएपछि अनुभूति, आगामी योजना र रणनीतिका विषयमा राईसँग स्पेसखबरले गरेको कुराकानीः
कांग्रेसले धरानमा पाएको सफलतालाई ऐतिहासिक भनेको छ। तपाईलाई चाहिँ कस्तो लागिरहेको छ?
धरानका जनताले विश्वास गरेर मलाई जसरी मत दिएका छन् त्यसबाट म त खुसी भएको छु नै। म धरानमै जन्मेर हुर्केको हुँ। मैले ३० वर्षदेखि धरानका दाजुभाइको सुख–दुःखमा साथ दिँदै आएको छु। मेरो व्यवहारलाई उहाँहरूले नजिकबाट हेरिरहनु भएको छ। उहाँहरू के कुरामा विश्वस्त हुनुहुन्छ भने म जे बोल्छु त्यो गर्छु। मैले यहाँका जनताका लागि केही गर्न सक्छु भन्ने कुरामा विश्वस्त भएर नै मलाई मत दिनुभएको हो। उहाँहरूको त्यो मतलाई म कुनै पनि हालतमा डग्मगाउन दिने छैन।
धरानका जनताले गरेको यो विश्वास नेपाली कांग्रेसमाथिको विश्वास हो। यसबाट मैले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरेको छु। त्यो जिम्मेवारी पूरा गर्ने मेरो मूल दायित्व हो।
अघिल्लो चुनावमा पराजित हुनु भएको तपाईंलाई यसपटक चाहिँ कसरी विश्वास गरेर मत दिए त?
हो, अघिल्लो चुनावमा म पराजित भएको थिएँ। हिजो नेकपाले जितेर पनि धरानको विकास निर्माणको काम अघि बढ्न सकेन। नेकपाको नेतृत्वबाट त्यो सम्भव नभएपछि धरानको विकासलाई अघि बढाउन कांग्रेसको तिलक राईले सक्छ भन्ने विश्वासका साथ जनताले जिताएका हुन्। किनभने जनताले विकास चाहेका छन्।
अर्को कुरा, हिजोका दिनमा हाम्रो पार्टी नेपाली कांग्रेसका साथीहरूबीच केही प्राविधिक समस्या पनि थिए। अहिले कांग्रेस एक ढिक्का भएको छ। हामीबीच कुनै समस्या छैन। त्यसकारण सिंगो पार्टी एक भएर अघि बढ्दा जनताले विश्वास गरेर कांग्रेसलाई मत दिएका हुन्।
स्थानीय करबाट सर्वसाधारण हैरान भएको तपाईंको चुनावी एजेण्डा थियो। अब त्यो एजेण्डा कसरी कार्यान्वयन गर्नुहुन्छ?
नगरपालिकाले लगाएको कर वैज्ञानिक छैन, यसलाई वैज्ञानिक र व्यवहारिक बनाउन मैले प्रतिबद्धता जनाएकै हो। मनपरी ढंगले कर लगाएर जनतालाई अनावश्यक दुःख दिनु हुँदैन भन्ने मेरो मान्यता हिजो थियो, आज छ र भोलि पनि हुनेछ। त्यसकारण करका बारेमा अन्यत्रको पनि अभ्यास हेरेर पुनरावलोकन गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यो काम म पूरा गरेरै छाड्छु।
त्यसो भए धरानका जनताले हिजोका दिनमा तिरेको कर घटाउनुहुन्छ हैन?
हो, हिजोको कर प्रणाली अवैज्ञानिक छ। करका बारेमा विज्ञसँगमात्र होइन, प्रतिस्पर्धी दलका साथीहरुसँग पनि बसेर छलफल गरी उहाँहरूको सुझावका आधारमा हामी अघि बढ्छौं। यति कुरा पक्का हो जनतालाई मर्का पर्ने गरी कुनै पनि काम गर्नेछैन।
तपाईका अरु योजनाचाहिँ के–के छन्?
चुनाव अघि जनतामाझ जे कुराको प्रतिबद्धता जनाएको थिएँ, त्यसको कार्यान्वयन गर्नु मेरो मूल दायित्व हुनेछ। यसका साथै अलपत्र अवस्थामा रहेका विकास योजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्नमै मेरो ध्यान बढी केन्द्रित हुनेछ। अर्थात् मेरो मूल उद्धेश्य धरानलाई कसरी समृद्ध बनाउने भन्ने नै हुनेछ।
अर्को कुरा, सकुम्बासी समस्या धरानको ठूलो समस्या हो। यसलाई पनि म वैज्ञानिक ढंगबाट नै समाधान गर्नेछु। त्यस्तै खानेपानीको समस्या छ। म धरानका दाजुुभाई दिदीबहिनीलाई के कुरामा विश्वास दिलाउन चाहन्छु भने मेरो कार्यकालमा तपाईंका घरका धारामा पानी ल्याएरै छाड्छु।