चुनाव आउन अब १० दिनमात्रै बाँकी छ। प्रचारप्रसारमा व्यस्त रहेका बेला आमा गुमाउनु परेको छ तपाईले । यो अबस्थामा प्रचारप्रसारको काम कस्तो भइरहको छ ?
आमाको देहावसान भएकाले घरमै बसिरहेको छु। साथी र शुभचिन्तकहरु चुनावी अभियानमा लागिरहनु भएको छ। प्रचारप्रसराको काम राम्रो भइरहेको छ ।
चुनावमा तपाईको मुल एजेण्डा के हो ?
मैले ‘वर्तमान सरकारको भ्रष्टाचार, महँगी, मूल्यवृद्धि, अचाक्ली कर तपाईंलाई राम्रो लाग्छ भने उहाँहरूलाई मत दिनुस्, त्यसको विरुद्ध हुनुहुन्छ भने म नेपाली कांग्रेसको उम्मेदवारलाई भोट दिनुस्’ भन्ने गरेको छु। अर्को कुरा, यहाँको नगरकोट सडक २ वर्षमा पुरा हुनुपर्नेमा ६ वर्ष बितिसक्दा पनि सकिएको छैन। स्थानीय सरकार त्यही बाटोमा पर्छ। वडा नम्बर ७ को कार्यालयले त्यसमा दृष्टि पु¥याएन ।
मैले प्रदेश सभामा जितेर गएँ भने १ वर्षभित्र पूर्ण रुपमा कालोपत्रे गराउने छु। यो मेरो मेरा मतदातासँगको वाचा पनि हो। अर्को कुरा दुई तिहाईको दम्भ बोकेको सरकारले प्रदेशको नामकरण पनि गर्न नसकेको र प्रदेशको राजधानी पनि यही भनेर तोक्न नसकेको अवस्थामा मैले जितेमा ‘प्रदेशको नाम चाँगुनारायण र राजधानी भक्तपुर’ भन्ने बुलन्द आवाज उठ्ने छ।
नेकपालाई पराजित गर्न सक्ने आधार देख्नुहुन्छ?
मैले राजनीति सुरु गरेकै ४० वर्ष भयो। मेरो रगत–पसिना यही क्षेत्रमा बगेको छ । यहाँका मतदाता अर्थात् दाजुभाइ सबैसँग घुलमिल छ। योभन्दा अगाडि पनि म यहाँका दाजुभाइको दुःख सुखमा सधैं साथमा छु। कहिलेकाँही मलाई अप्ठेरो पर्दा उहाँहरूले पनि सहयोग गर्दै आउनु भएको छ। त्यसकारण मैले चुनाव जित्छु भन्नेमा ढुक्क छु। म यहीँ क्षेत्रमा पसिना बगाएर हिँडे। अरु साथीहरू यहाँ नौलो हुनुहुन्छ।
नेकपाका उम्मेदवार त यहाँका होइनन्, के भन्छन् मतदाता?
यहाँका मतदाताहरु भँडेललाई चिन्दछौं, नेकपाका उम्मेद्वारलाई हामी चिन्दैनौं भनिरहेका छन्। नेकपाका उम्मेद्वार जनताको घरदैलोमा जँदा तपार्इंको घर कहाँ हो भनेर सोध्ने गर्छन्। तर म जाँदाखेरि दाजु जय नेपाल भन्छन्, हालखबर सोध्छन्, भोट दिन्छौं भन्छन्। बाहिरको र स्थानीय उम्मेदवारमा यहीनेर फरक देखिन्छ। म यहाँका लागि कुनै नौलो मान्छे होइन।
अरु साना दलसँग कांग्रेसले सहकार्यको कुरा अघि बढाएको छ कि छैन?
सबैसँग सहकार्य गर्ने कुरामा कांग्रेस अगाडि बढेको छ। मैले पनि सवै साथीलाई राम्रोसँग प्रस्तुत हुनु, सकेसम्म सबैलाई हाम्रै बाटोमा डोहो¥याउनु भनेको छु।
यहाँ राप्रपाको उम्मेदवारी रद्द भएको छ, राप्रपासँग सहकार्यका लागि कुरा गर्नुभएको छ?
उहाँहरूसँग छलफल गर्नका लागि हाम्रो एउटा टिम नै बनेको छ। हाम्रा नेताहरू नै उहाँहरूसँग वार्ता गर्दै हुनुुहुन्छ।
जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
मैले हिजो काम गरेका आधारमा आदरणीय मतदाताले मेरो मुल्याङ्कन गर्नुहुनेछ भन्ने ठानेको छु। त्यसैले म जित्नेमा ढुक्क छु।