नेपाली कांग्रेस मनाङका क्षेत्रीय सभापति साङ्दो लामा २०२८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन्। नेता कोमल घलेबाट प्रभावित भएर राजनीतिमा लागेका लामा कांग्रेसको गढ मानिने मनाङमा गत निर्वाचनमा कांग्रेस हार्नुमा स्वतन्त्र उम्मेद्वार दीपक मनाङेको उम्मेदवारीमा दाबी विरोध नगर्नु नै मुख्य कारण ठान्छन्। प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंशः
मनाङजस्तो विकट हिमाली जिल्लामा बसेर राजनीति गरिरहनु भएको छ। त्यहाँ बसेर राजनीति गर्दाका मुख्य समस्या के हुन्?
मनाङको मुख्य समस्या भनेकै अशिक्षा हो। अशिक्षाका कारण यहाँका जनताले राजनीतिको गुदी राम्ररी बुझ्न सकेका छैनन्। हामी त पञ्चायतकालदेखि नै राजनीतिमा लागेका हौं। जतिबेला आजको दिनमा जस्तो खुला भएर काम गर्न पाउने अवस्था थिएन। पार्टीगतभन्दा पनि व्यक्तिगत रुपमा काम गरेर जनतालाई प्रभावित पार्नुपर्ने अबस्था थियो। २०४६ को परिवर्तनपछि नै राजनीतिमा सहज परिस्थिति निर्माण भएको हो।
नेपाली कांग्रेसको गढ मनाङमा गत निर्वाचनमा कांग्रेसले हार्नुको मुख्य कारण के ठान्नुहुन्छ?
गत चुनावमा एमाले र माओवादी मिलेर नेकपाका पक्षमा नयाँ ह्वीम आएकै हो। त्यसले पनि कांग्रेसलाई छुन सकेको थिएन। गत चुनावमा कांग्रेसको कमजोरी के देखियो भने स्वतन्त्र उम्मेद्वार दीपक मनाङेको उम्मेदवारी दर्ताकै बेला दाबी विरोध गर्नुपथ्र्यो। त्यसमा कांग्रेस नराम्ररी चुकेकै हो। यसले केही फरक पर्दैन भनेर हामी चुप लागेर बस्यौं। त्यो हाम्रो कमजोरी हो।
अर्को कुरा, सानो ठाउँमा एउटाले यस्तो हो भनेपछि कतिपय मानिस कुरै नबुझी त्यसको पछाडि लाग्ने गर्छन्। मनाङमा पनि त्यही भयो। अशिक्षाका कारण जनताले ठीक बेठीक छुट्याउन सकेनन्।
कांग्रेसबाट जितेका टेकबहादुर गुरुङ, पाल्तेन गुरुङ मन्त्री भएर मनाङको विकासमा कस्तो योगदान गर्नुभयो त?
मनाङमा आजको दिनमा जे–जति विकास भएको छ त्यो सबै कांग्रेसका कारण हो। टेकबहादुर, पाल्तेनले मन्त्री भएर मात्र होइन, मन्त्री नहुँदा पनि मनाङको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको छ। अन्य हिमाली जिल्लाको तुलनामा मनाङ विकासका हिसाबले धेरै अगाडि छ। मनाङ विकास भएको जिल्लामै गनिन्छ। कांग्रेसकै नेतृत्वमा खानेपानी, सडक, बिजुलीलगायत पूर्वाधारका क्षेत्रमा धेरै काम भएको छ।
जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्बाह गरेको पार्टीलाई जनताले किन भोट दिएनन्ु त?
कांग्रेसलाई भोट नदिएकै कारण अहिले मनाङका जनता पछुताएका छन्। उनीहरू कांग्रेसलाई भोट नदिएर हामीले ठूलो गल्ती ग¥यौं भनेर पछुतो मानिरहेका छन्। ह्वीमको पछाडि लाग्नेको कुरा मात्र होइन, जिल्लाका पढालेखा मानिस पनि अहिले आएर गल्ती भयो भनेर महसुस गरेका छन्। यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं। तर पनि प्रजातान्त्रिक प्रणालीमा हामीले ५ वर्ष पर्खनै पर्छ। त्यसको विकल्प छैन।
चुनावमा पराजित भए पनि कसैसँग किन भोट दिइनस् भनेर झगडा गर्ने, निहुँ खोज्नेजस्ता कुनै किसिमको काम हामीले गरेका छैनौं। मानिसले नबुझेर कहिलेकाँही यस्तो गल्ती गर्छन्। गल्ती काम भयो भनेर महसुस गर्नु नै ठूलो कुरा हो।
मनाङ कांग्रेस अहिले चाहिँ के गर्दैछ?
नेपाली कांग्रेस केन्द्रले सञ्चालन गरेको जनजागरण अभियानका क्रममा छौं हामी। अभियानका क्रममा गाउँ–गाउँमा पुगेर सरकारले जथाभावी गरेका जथाभाबी कामका बारेमा खबरदारी अभियान सञ्चालन गरेका छौं। मनाङको सन्दर्भमा कुरा गर्दा यो अभियानले जनतामा धेरै सकारात्मक सन्देश प्रबाह गरेको छ।
आउने चुनाव जित्न कांग्रेसले कुन पक्षमा ध्यान दिनुपर्ला?
जनता नै सर्वशक्तिमान् हुन्। त्यसकारण जनताको पीरमर्का बुझेर समाधानका लागि पहल गर्नु हाम्रो मूल दायित्व हो। चुनाबपछिको यो छोटो अवधिमै जनताले भन्न थालेका छन् नेकपालाई जिताएर हामीले के पायौं त? हुन पनि नेकपाको नेतृत्वमा सरकार गठन भएको पहिलो दिनदेखि नै जनता निराश छन्। आमजनताका पक्षका सरकारले केही पनि गर्न सकेको छैन। एउटा ह्वीममा आएर सधैं कांग्रेसलाई जिताएर भएन एक पटक नेकपालाई जिताएर हेरौं न त भनेर भोट दिएका जनता केही पनि भएन भनेर अहिले निराशखछन्। जबकि उनीहरूले यो सरकारबाट ठूलो आशा गरेका थिए।
त्यसो भए हिजोका दिनमा नेकपालाई भोट दिएकोमा मनाङका जनता पछुताएका छन् हैन त?
हो पछुताएका छन्। जसको परिणाम आगामी चुनावमा प्रष्ट देखिनेछ।