नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन्। उनले नेपालमा रहँदा समकक्षी प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नेछन्। बीबीसी हिन्दी रेडियोले एस जयशंकरको भ्रमण, भारत र पाकिस्तानबीचको सम्बन्ध, कश्मीरमा हटाइएको धारा ३७०, चीन–नेपाल तथा भारत–नेपालसम्बन्धका विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग कुरा गरेको छ। प्रस्तुत छ सोही वार्ताको अनुवादः
भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन्। एक छिमेकीका नाताले नेपाल यस भ्रमणबाट के अपेक्षा गर्छ?
सबैलाई थाहा छ नेपाल र भारतबीच निकै नजिकको सम्बन्ध छ, यो सम्बन्ध राजनीतिक स्तरमा मात्रै होइन, निकै व्यापक छ। नागरिक, व्यापारिक, आर्थिक तथा सांस्कृतिक स्तरमा हाम्रो सम्बन्ध निकै बलियो छ र यसलाई अझ बलियो बनाउन दुवै देशबीच कैयौं प्रकारका प्रक्रिया छन्।
तिनैमध्ये यो संयुक्त आयोगको बैठक पनि हो, जसमा दुवै देशका समकक्षीबीच भेट हुनेछ। विगतमा हाम्रो सम्बन्ध जसरी राम्रो रह्यो, यो बैठकले त्यसलाई अझ राम्रो र बलियो बनाउनेछ भन्नेमा हामी विश्वस्त छौ।
भारत र पाकिस्तानबीच कश्मीर मुद्दालाई लिएर तनाव छ र यसमा तपाईं अनभिज्ञ हुनुहुन्न। नेपाल यस विषयमा कत्तिको चिन्तित छ?
तपाईंलाई थाहै छ, नेपाल अझै सार्कको अध्यक्ष पनि हो। त्यहाँ विकसित भइरहेका घटनाक्रम सही दिशामा अघि बढ्नेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। यसैको कारण क्षेत्रीय शान्ति र स्थायित्वमा कुनै प्रतिकूल प्रभाव पर्नेछैन। हाम्रो के पनि विश्वास छ भने जति पनि समस्या छन्, तिनको शान्तिपूर्ण समाधान सम्भव छ। यसैले कुनै पनि पक्षबाट शान्ति स्थायित्व र देश–देशबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने कुनै कदम उठाउन हुँदैन भन्ने हाम्रो आग्रह हो। सबैले क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान गर्नुपर्छ। भारतको सक्षम नेतृत्व यो समस्यालाई सही ढंगले समाधान गर्न सफल हुनेछ भन्ने हाम्रो विश्वास छ।
नेपालको भूमिकालाई तपार्इं कसरी हेर्नुहुन्छ?
नेपाल शुभकामना दिन्छ। धेरै नेपाली त्यहाँ काम गर्छन् र हामी भारत सरकारसँग नजिक रहेर त्यहाँको स्थितिका बारेमा जानकारी लिइरहेका छौं। हाम्रो लागि सन्तोषको कुरा के हो भने त्यहाँ सबै नेपाली सुरक्षित छन् र उनीहरुलाई समस्या हुने कुनै पनि काम हुनेछैन भन्नेमा हामी विश्वस्त छौं। यसका अलावा जुन दिशामा भारत अघि बढिरहेको छ, उसको विकासको कदममा हाम्रोतर्फबाट शुभकामना छ। र, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका जति पनि योजना छन्, सफलतापूर्वक अघि बढोस्, यो हाम्रो शुभकामना हो र विश्वास पनि।
केही वर्षअघि नेपालमा लगाइएको कथित नाकाबन्दीको पीडामा जयशंकर मल्हम लगाउन सफल होलान्?
मलाई के लाग्छ भने दुवै देशले अगाडि हेनुपर्छ, भविष्यमा हेर्नुपर्छ। बितेको समयमा जे भयो, त्यो इतिहास भइसक्यो, हामीले अब भविष्यतर्फ हेर्दै अगाडि बढ्नुपर्छ। किनभने भारत र नेपालबीचको सम्बन्ध यति बहुआयामी छ, यति निर्भरता छ कि हामीले संयुक्त रुपमा अघि बढ्नुपर्छ। यसको विकल्प छैन। दुवै देशको भविष्य र हित यसैमा छ कि, हामी नयाँ दृष्टिका साथ अघि बढ्नुपर्छ। मलाई के लाग्छ भने विगतमा जे भयो, त्यसको छाया पनि अब पर्नेछैन। तर त्यसको सबक पनि सिक्नु जरुरी छ। अब विगततर्फ फर्किएर होइन, अगाडि हेर्नुपर्छ भन्ने कुरा दुवै देशलाई महसुस भएको छ।
अनुच्छेद ३७० का विषयमा भारतले अन्तर्राष्ट्रिय आलोचनाको सामना त्यति गर्नुपरेको छैन, के तपाईं यो मुद्दामा भारतको समर्थन गर्नुहुन्छ?
हामी भारतको यो स्थिति थाहा छ। हामी यहाँस्थित भारतीय दूतावासको सम्पर्कमा छौं र भारतमा नेपालको दूतावास पनि भारत सरकारको सम्पर्कमा छौ। हाम्रो शुभेच्छा पनि हामीले भारतसँग व्यक्त गरिसकेका छौ.।
भारत सधैं नेपालसँग साँस्कृतिक र कैयौं अन्य विषयमा नजिक छ। तर यदि नेपाल चीनसँग नजिक भयो भने ब्यालेन्स अफ पावर बिग्रन्छ भन्ने भारतको चिन्ता छ नि?
मलाई लाग्छ, यसमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन। भारत र चीन नेपालका दुइ छिमेकी हुन् र हामी छिमेकीको तुलना गर्दैनौं। तर भारतसँग जुन खालको हाम्रो बहुआयामिक सम्बन्ध छ त्यसको तुलना केहीसँग हुुँदैन र गर्न पनि चाहँदैनौ। यसैले नेपाल यदि अर्को देशसँग सम्बन्ध अघि बढाउँछ भने भारतले बुझ्नुपर्छ र बुझ्छ भने त्यो सम्बन्ध भारतको हितविपरित छैन। नेपाल आफ्नो छिमेकी देशविरुद्ध कुनै पनि कदम उठाउँदैन र यस्ता गतिविधि हुन दिनेछैन। यसैले हाम्रो र अर्को देशबीचको सम्बन्धका कारण कुनै पनि चिन्ता गर्नुपर्न आवश्यकता छैन र मलाई लाग्छ भारतीय नेतृत्व यसलाई राम्रोसँग बुभ्mनेछ।
जयशंकरको यो यात्राका क्रममा कुन विषयमा सम्झौता हुनेछ?
हामी पारस्परिक सहयोगका सबै मुद्दामा छलफल गर्नेछौं। खासगरी आर्थिक साझेदारीका विषयमा कुरा हुनेछ। यस बैठकले दुवै देशको सम्बन्ध अझ सुदृढ बनाउनेछ भन्ने हामी आशा गर्छौं।