स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ वर्ष बितिसके पनि कतिपय स्थानीय तहमा विकास निर्माणका कामै हुन सकेका छैनन्। संघीयता सिक्ने क्रममा अलमलमै बितेको छ। यसले गर्दा नागरिकमा निरासा पनि उत्पन्न भएका छन्। तर सबै ठाउँमा त्यस्तो अवस्था छैन। विकास निर्माणमा काम पनि सँगै अघि बढेका छन्। दैलेखको दुल्लु नगरपालिकामा पनि उल्लेखनीय रुपका भौतिक पूर्वाधारका काम भएका छन्। नगरपालिकाले अब के गर्दैछ, सर्वसाधारणका अपेक्षालाई कसरी पूरा गर्ने सोच बनाएको छ? यसै सेरोफेरोमा रहेर नगरपालिकाका मेयर घनश्याम भण्डारीसँग स्पेसखबरले गरेको कुराकानीको संक्षेपः
२ वर्षबीचमा के–के काम गर्नुभयो ?
पहिलो वर्ष निर्वाचन वर्षका रूपमा रह्यो। पहिला स्थानीय तह र त्यसपछि प्रदेश तथा संघको निर्वाचन भयो। सुरुमा साबिकको नगरपालिकाबाटै काम चलिरहेको थियो। त्यसलाई जनताको घरदैलोमा पु¥याउने लक्ष्यसहित हामीले १३ वटै वडामा कार्यालय स्थापना गरी सेवा विस्तार गर्ने काम अघि बढायौं। दुल्लु नगरपालिकाकामा साबिकका कालभैरव, गौरी र मालिका साथै वडा ६ मा बाहेक अन्यत्र वडा कार्यालय थिएनन्। अहिले ८ र ७ बाहेक बाँकी ११ वडामा कार्यालय स्थापना भएका छन् । वडाबाटै जनताको घरदैलोमा सेवा पुग्ने कुरा सुनिश्चित भयो। नगरपालिकाले तला थपेर पूर्वाधार विकासमा अघि बढ्दै सेवा सुविधा पु¥याउन थप पहल ग¥यो। साथै नगरपालिकाले नेपाली भाषा साहित्यको उदगमस्थलका रूपमा रहेको सिँजा र विशेषगरी दुल्लु क्षेत्रमा भएका पुराना तथा ऐतिहासिक सम्पदा संरक्षण गर्ने अभियानअन्तर्गत दुल्लु नगरपालिकाले पहिलो वर्षमै दुल्लु सांस्कृतिक संग्रहालय ऐन पास गरी त्यसैका आधारमा हामी निर्वाचित भएको १ वर्षको अवसर पारेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट गत वैशाख ३१ गते सांस्कृतिक संग्रहालय उद्घाटन गरायौं। त्यहाँ करिब २ सय प्रकारका विभिन्न खसहरूले प्रयोग गर्ने सामग्री राखेका छौं।
भौतिक पूर्वाधारका काम के–के भए नि?
हामी आदिवासी हौं भन्ने प्रमाणका रूपमा रहेको दामोपालको शिलालेख (१०३८ भाषाको प्राचिन अभिलेख मानिन्छ) साथै मल्ल, चल्ल, नागराजदेखि अशोक चल्लसम्मको वंशावली भएको आदिवासी भनेको बाहुन, क्षत्री खस हौं भन्ने प्रमाणका रूपमा रहेको कृति स्तम्भलाई संरक्षण गरेका छौं। पञ्चकोसी क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण गर्ने र पञ्चकोसीको डीपीआर निर्माणको काम पूरा गरेका छौं। दुल्लु नगरपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थामा इन्टरनेटको सुविधा पुर्याएका छौं । त्यसका लागि दुल्लु नगरपालिकाले आफैं अप्टिकल फाइबर बिच्छ्याएर आफ्नै एउटा नेटवर्क बनाएका छौं। त्यो सञ्चारका लागि महत्वपूर्ण कामका रूपमा लिएका छौं । २ सहरी स्वास्थ्य केन्द्र थप गरी कालभैरव, गौरी र मालिकामा भवन निर्माणको काम पूरा भएको छ । दुल्लु नगरपालिकाले सनातन हिन्दू धर्म र संस्कृत भाषाको संरक्षण गर्ने उद्देश्य साथ ज्वालास्थलमा पञ्चकोसी वेद विद्याश्रम स्थापना गरी भवन निर्माणको काम सम्पन्न भएको छ।
खानेपानीका लागि २ ठूला आयोजना साङ्टा–दुल्लु खानेपानी आयोजना र गाईखोरे लिफ्टिङ खानेपानी आयोजनाका लागि ठेकेदारसँग निर्माण सम्झौता गरेका छौं। ठूलो आयोजनाका रूपमा नेपाल सरकारसँगको समन्वयमा जलवायुअनुकूलन आयोजना भनेर लोहोरे, मालिका, दुल्लु बृहत् खानेपानी आयोजनाका लागि झन्डै ८४ करोड लगानीमा बनाउन डीपीआर अन्तिम चरणमा पुगेको छ । खानेपानीको ७० जति अरू साना योजना पनि अघि बढेका छन्। नयाँ सहर आयोजनाअन्तर्गत करिब कर्णाली राजमार्गदेखि मध्यपहाडी लोकमार्ग जोड्ने १४ दशमलब ५ किलोमिटर सडकको डीपीएआरको काम सकिएको छ । त्यो कार्यान्वयन भएर अगाडि बढेको छ।
यसैगरी सय किमि सडकको स्तरोन्नतिको काम अघि बढेको छ। दुल्लु नगरपालिकामा रहेको विजय माविसहित नेपालमै एउटा निर्वाचन क्षेत्रमा २ वटा नमुना विद्यालय परेको छ । त्यो भनेको दैलेखमा हो । दैलेखको हिमालय मावि पहिलो चरणमा र विजय माविलाई दोस्रो चरणमा नमुना विद्यालय घोषणा गरिएको थियो । त्यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । कक्षा ११ र १२ मा कृषि विज्ञान विद्यालयका रूपमा अघि बढाउने काम भएको छ ।
धेरै पो काम गर्नुभएको रहेछ, तर सडक निर्माण गर्दा विकासको सट्टा विनाश भयो भन्ने गरिन्छ नि ?
अहिले हामीले नयाँ सडक बनाउने काममा करिब–करिब प्रतिबन्धजस्तै लगाएका छौं। नयाँ सडक खनेका छैनौं। भएका सडक स्तरोन्नतिका लागि हाम्रोमा पनि डोजर प्रयोग भएको छ । हाम्रो बजेट वितरण प्रणाली नै के छ भने भूगोल, जनसंख्या र लागतका आधारमा वडालाई नै बजेटको सिलिङ दिएका छौं । हामीले अहिले साना वडामा ७० लाख र ठूलो वडामा १ करोड २२ लाखसम्म वडाले नै सिधै अख्तियारी पाउँछन् । त्योबाहेक दुल्लु अस्पताललाई ५० लाख र अरू विषयगत कृषि र पशु, शिक्षा, सहकारीलगायत सबैलाई केही न केही बजेट दिएका छौं । प्रशासनिक खर्च न्यून तथा विकास खर्च अधिकतम हुने गरी हामीले काम गरेका छौं । छिमेकी नगरपालिकाले वडालाई प्रशासनिक खर्च भनेर २५ लाख दिएको छ भने हामीले वडाको प्रशासनिक खर्च १ लाख मात्रै राखेका छौं । नगरपालिकाले ५ लाख मात्रै खर्च गर्ने गरी वित्तीय अनुशासन कायम गर्ने गरी काम गरिरहेका छौं । हामी दाबीसाथ भन्न सक्छौं कि गत आवदेखि नै दुल्लु नगरपाकिालमा वित्तीय अनुशासन कायम गरेका छौं । एउटा पनि योजनामा रकमान्तर गरेका छैनौं।
काम गर्दा विपक्षीहरूको सहयोग छ त ?
राजनीतिक समीकरण हेर्ने हो भने नगरपालिकाभित्र ५ कांग्रेस समर्थक र १७ एमाले (अहिले नेकपा) समर्थक साथी छन्। राजनीतिमा केही उतार–चढाव हुनेबाहेक असहयोग भएको छैन। हामी मिलेरै अहिलेसम्म बैठकमा नोट अफ डिसेन्ट लेख्नुपरेको छैन। पहिलो बैठकमै निर्णय नभएर अरू बैठकबाट निर्णय गर्नुपर्ने अवस्था आयो होला तर अहिलेसम्म सबै निर्णय सहमतिमै गरेका छौं।
प्रदेश र केन्द्रसँगको सम्बन्ध कस्तो छ ?
केन्द्र सरकारबाट २०५१ सालमा गिरिजाप्रसाद कोइरालाद्वारा शिलान्यास गरिएको तल्लो डुंगेश्वर–पिपलकोट–दुल्लु सडक जुन थियो अहिले पनि ५ स्थानीय सहर छोएर कालीकोट जिल्ला छुन्छ। त्यो पनि हाम्रो प्रदेशमा परेको छ । केन्द्रसँग हाम्रो एक्सेस नभएकाले गुनासो छैन। अहिले पनि केन्द्रबाट शिक्षा र स्वास्थ्यमा अपुग बजेट जान्छ । फेरि थप बजेट माग गर्नुपर्ने अवस्था छ। प्रदेशको कुरा गर्दाखेरि ९० प्रतिशत योजना असफल भए। हाम्रोमा प्रदेश सरकारले दुल्लु सांस्कृतिक संग्रहालयलाई बजेट राखेको थियो, बजेट दिने भनेर मन्त्रीबाट भाषणबाजी पनि भयो तर राजनीतिक आस्थाका रूपमा पछि बजेट नपारिएको त्यहींका सचिवबाट थाहा भयो । प्रदेशले अहिले अलि निषेधको राजनीति गरेजस्तो देख्छु। प्रदेशको विकास बजेट खर्च गर्ने अवस्था पनि छैन । उसको खर्च गर्ने संयन्त्रै छैन । केन्द्रले अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेकाले हाम्रो केन्द्रसँग एक्सेस कम भयो भने प्रदेशको संयन्त्रै नभएकाले काम गर्न सकेन।
काम गर्दा तपाईंले भोगेका समस्याहरू ?
अहिलेको सबैभन्दा ठूलो चुनौती कर्मचारी व्यवस्थापन हो। समायोजनपछि कर्मचारी पुग्छन् भन्ने थियो । हामीले पहिला सिंगल–सिंगल वडा चलाएका थियौं । अहिले वडा ३ र ४ तथा ८ र ९ मा एउटै सचिवले दुईवटा वडा हेर्नुपर्ने अवस्था छ । आजको दिनमा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती भएको छ । पञ्जीकरणको काम गर्ने कर्मचारीको समस्या छ । जुन ऊर्जाका साथ हामीले काम गर्न खोजेका छौं त्यो जनशक्ति प्रदेश र संघमा मैले पाइनँ । अर्को समस्या भनेको आन्तरिक आयको छ । दुल्लु नगरपालिकाको ८० प्रतिशत भूभाग अहिले पनि गुठीमा छ । गुठीबाट राजस्व नहुने भएकाले २० प्रतिशत जमिनबाट उठेको राजस्वबाटै सय प्रतिशत भूगोलमा विकास गर्नुपर्ने भएकाले आन्तरिक आयका हिसाबले हामी कमजोर छौं।
साथै पहाडी इलाका र कर्णाली प्रदेशकै ठूलो नगरपालिका (साबिकका १० गाविस मिलाएर बनाएको) भएकाले तुलनात्मक रूपमा हामीले चाहेजस्तो विकास गर्न सकेका छैनौं । अहिले हामीले विकास बजेट भनेर पाउने भनेको १४ करोड हो । सामाजिक सुरक्षा, शिक्षकको तलब–भत्ता अरू छोडेर १४ करोड हुन्छ । २ सय ५० किलोमिटर सडकको ट्र्याक खनिएको छ । त्योमध्ये दुल्लु नगरपालिकामा ३ किलोमिटर मात्रै पिच छ । कर्णाली प्रदेशमा भएका अन्य अस्पताल प्रदेश मातहतमा भए तर दुल्लुमा भएको अस्पताल राजनीतिक आस्थाका कारण हो या अरू नै कारण छ त्यो त थाहा भएन यो भने स्थानीय तह मातहत छ । जसले गर्दा अस्पताल सञ्चालन पनि हामीलाई चुनौतीका रूपमा छ।
कर्मचारीको समस्या समाधानको उपाय के त ?
लोकसेवा आयोगले अहिले परीक्षा लिएको छ । त्यसबाट पास हुने कर्मचारीहरू पुगे भने कही हदसम्म सेवा सुरु गर्न सहज हुन्छ । संघीयताको मर्मअनुसार जनतालाई सेवा घरदैलोमै दिनुपर्छ । अहिले पनि सिफारिस गर्ने काम वडा कार्यालयबाट गर्नुभएको छ तर पञ्जीकरणको काम गर्न वडा ३ र ९ मा कर्मचारी अभाव छ ।
नयाँ आर्थिक वर्षमा के काम गर्दै हुनुहुन्छ ?
नयाँ आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं । प्राकृतिक स्रोत व्यवस्थापन कलेज भनेर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको छैटौं सिनेटबाट दैलेखको दुल्लुमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापना गर्ने निर्णय भएको र हाल संरचना नभइरहेका बेला २ करोड रुपैयाँ भौतिक पूर्वाधारका लागि छुट्याएका छौं । प्राविधिक तथा व्यावसायिक कलेजका रूपमा पञ्चकोसी बहु–प्राविधिक शिक्षालय खोल्न सीटीईभीटीबाट स्वीकृतिका लागि अन्तिम चरणमा पुगेको छ । त्यसका लागि १ करोड विनियोजन गरेका छौं । गाईखुरे खानेपानी आयोजनका लागि २ करोड विनियोजन गरेका छौं।
स्वास्थ्यका लागि दुल्लु अस्पताल सञ्चालनार्थ ५० लाख र आधारभूत शिक्षाका लागि ३० लाख रुपैयाँ विनियोजन गरेका छौं । वातावरण संरक्षणका लागि १ करोड छुट्याएका छौं। आफ्नै स्थानीय पाठ्यक्रम पनि लागू गरेका छौं । विद्यालयहरूलाई ५–५ लाखका दर सुधारका लागि काम गर्ने भनेर विनियोजन गरेका छौं । यो वर्ष वडा ७ को भवन बनाउने काम सुरु हुन्छ । दुल्लु अस्पतालमा धुलिखेल अस्पातलसँग सम्झौता गरी टेलिमेडिसिन सेवा आरम्भ गरेका छौं । यो सेवालाई थप स्वास्थ्य चौकीहरूमा सेवा विस्तार गर्ने भन्ने कार्यक्रम छ ।