नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएपछि यसको गतिविधि निरन्तर बढ्दो क्रममा छन्। गत वर्ष पहिलोपटक अन्तर्राष्ट्रिय पदक जितेको नेपाली पुरुष भलिबल टिमले अहिले काठमाडौंमा हुने पाँचौं सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको छ। विदेशी प्रशिक्षक ल्याएर प्रशिक्षण गरिरहेको नेपाली टिमको छनोट गर्दा सिनियर खेलाडी नै नपरेको भन्दै आलोचना भयो। पुरुष टिमले एभीसी सेन्ट्रल जोनको तयारी गरिरहँदा महिला टिमले सागका लागि प्रशिक्षण सुरु गरेको छ। पुरुष टिममा मानबहादुर श्रेष्ठ अटाएनन् भने महिला टिमका कप्तान विनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ नै परेनन् । यसले नेपाली भलिबल खेलको माहोल तताएको छ । स्पेसखबरले नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दसँग आसन्न सेन्ट्रल जोनको तयारी र खेलाडी छनोटमा संघको भूमिकाका बारेमा कुराकानी गरेको छ । पढौं महासचिव चन्दसँग गरिएको कुराकानीको सम्पादित अंश ।
एभीसी सेन्ट्रल जोन भलिबलको तयारी कहाँ पुग्यो?
एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिताको तयारीमा हामी लागिपरेका छौं। सेन्ट्रल जोनमा रहेका ९ राष्ट्रमध्ये सातले सहभागिताका लागि निश्चित गरिसकेका छन्। त्यसको व्यवस्थापनका लागि भलिबल संघले काम गरिरहेको छ। विदेशी खेलाडी राख्न काठमाडौंमा होटेल बुक भइसकेका छन्। साउन ३२ देखि भदौ ८ सम्म आयोजना हुन लागेको यो प्रतियोगिता नेपाली भलिबल इतिहासकै सबैभन्दा ठूलो पनि हो । नेपालले मेडल जित्ने लक्ष्यका साथ खेलाडीलाई प्रशिक्षणमा पनि राखेको छ।
त्रिपुरेश्वरमा भलिबलका लागि कर्भड हल बन्ने क्रममा रहेकाले लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हल मुख्य भेन्युको रुपमा प्रयोग गर्ने तयारी गरेर त्यसैअनुसार लाइट, साउण्ड सिस्टम लगायतका कुरा मर्मत गर्ने तयारीमा छौं। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने नेट, एन्टेना लगायतका कुरा नेपाल भलिबल संघका पूर्व महासचिव जयनारायण चौधरीले करिब १२ लाख रुपैयाँ बराबरको भलिबल सामाग्री पनि हस्तान्तरण गर्नुभएको छ । खेलाडीका लागि आवश्यक पर्ने यातायातको व्यवस्था गरिसकेका छौं । प्रतियोगिता आयोजना गर्न आवश्यक पर्ने महत्वपूर्ण कुुरालाई हामीले तयारी अवस्थामा राखेका छौं।
तयारी गरेका छौं भन्नुहुन्छ, आफ्नै कभर्डहल छैन, भारतसँग तय भएको मैत्रीपूर्ण भलिबल पनि स्थगित भयो नि?
तयारी गर्ने क्रममा केही प्राविधिक समस्या आउँछन् । तपाईंले कुरा उठाउनु भयो हाम्रो कभर्डहल छैन भनेर, कभर्डहल पाँच छ महिना वा एक वर्षमा बन्न सम्भव पनि हुँदैन । यसका लागि ठूलो लगानी चाहिन्छ । तथापि हामीसँग नेपाली सेनाको अन्तर्राष्ट्रियस्तरको कभर्डहल भएकाले नेपाली सेनाले भलिबल संघलाई ठूलो सहयोग गरेको छ। यो प्रतियोगिता देशको प्रतिष्ठासँग पनि जोडिएकाले सेनाले हामीलाई ठूलो सहयोग गरेको छ।
नेपालले सेन्ट्रल जोनमा रहेका देशसँग प्रतिस्पर्धा गर्नुभन्दा अगाडि भारतको सशक्त टिमसँग प्रतिस्पर्धा गर्दा पक्कै पनि राम्रो हुन्छ भन्ने अपेक्षा हामीले गरेका थियौं । तर दुर्भाग्यबस भारतीय टिम आउने भनेर कन्फर्म गर्दा पनि टुर्नामेन्ट शुरु हुनुभन्दा १ हप्ताअगाडि भलिबल फेडरेशन अफ इन्डियाले विविध कारण देखाएर आउने सेडुयल रद्द ग¥यो। अहिले पनि भारतीय भलिबल टिम पनि क्याम्पमै छ । त्यहाँको खेलकुद मन्त्रालयले तत्काल प्रतियोगिता खेल्दा ट्रेनिङमा बाधा हुन्छ भनेर नपठाएको हो । तथापि सेन्ट्रल जोनमा खेल्ने टिमलाई अलि अगाडि बोलाएर एक्सपोजर गेम गराउने तयारी पनि भलिबल संघले गरिरहेको छ । यस विषयमा हामीले पहल पनि गरिरहेका छौं ।
नेपालको राष्ट्रिय खेल भलिबल भनेर घोषणा भएको १ वर्ष पुरा भइसकेको छ, यस्तोमा यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा पनि प्रायोजकहरु खोज्दै हिँड्नु भएको छ, सरकारले नपत्याएको हो ?
सरकारले भलिबल संघको बार्षिक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सीमित बजेट छुट्याएको हुन्छ । फेरि पुरै सरकारसँग निर्भर भएर कार्यक्रम गर्न पनि सकिँदैन । त्यसैले हामी निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेका छौं । तथापि नेपाल सरकारले हाम्रो यस प्रतियोगिताका लागि १० लाख रुपैयाँ छुट्याएको छ । यो प्रतियोगिताका लागि १० लाख भनेको धेरै सानो पैसा हो । यतिले पुग्दैन । त्यसैले प्रायोजकसँग कुरा गरिरहेका छौं। नेपाल सरकारले राष्ट्रिय खेल घोषणा भएपछि गर्नुपर्ने सहयोग पनि गरेको छैन् । आउँदा दिनमा गर्ला भन्ने अपेक्षा गरेका छौं ।
खेलाडी छनोटको विषयमा किन भलिबल संघ बीचमा आयो त?
खेलाडी छनोटको कुरामा कहिल्यै पनि भलिबल संघले हस्तक्षेप गरेको छैन। खेलाडी छनोट समिति छ उसैले हो छनोट गर्ने । खेलाडी छनोट गर्ने काम प्रशिक्षकहरुको हो । त्यसमा भलिबल संघका प्रतिनिधि मात्रै हुन्छन् । उसको प्रतिनिधि मात्रै भएकाले सबै भूमिका छनोट समितिकै हुन्छ ।
केही खेलाडीहरु मानबहादुर, विनीता र मञ्जुलाई छनोट नगरेको विषयमा भलिबल संघ आलोचित भयो नि ?
यो प्रश्न हामीलाई भन्दा खेलाडीहरुलाई नै गरेको भए राम्रो हुने थियो । राष्ट्रिय खेलाडी छनोटको मुख्य आधार भनेको हालै भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो । त्यसमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । मानबहादुर श्रेष्ठ नेपाली भलिबल खेलाडीमा राम्रो खेलाडी हुन्। उनको प्रदर्शन सन् २०१८ र २०१७ मा कस्तो थियो त्यो आफ्नो ठाउँमा थियो । तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नखेलेकै कारण उनी टिममा परेनन् । उनी त्यतिबेला नेपालको प्रतियोगिता छाडेर पैसा कमाउने उद्देश्यले जापान गएर प्रतियोगिता खेले । आठौंमा सहभागी नभएको खेलाडीलाई कसरी टिममा ल्याउने यसले त अरु खेलाडीलाई पनि अन्याय हुन्छ । नियम सबैले मान्नुपर्छ । चाहे जतिसुकै राम्रो खेलाडी किन नहोस् ।
अहिले धेरै खेलाडी प्रतिस्पर्धामा आइसकेका छन् । पहिला राम्रो खेलेको थिए अहिले पनि टिममा पर्नुपर्छ भन्ने छैन ।
विनिता बुढाथोकी नेपाली राष्ट्रिय महिला भबिल टिममा लामो समयदेखि खेलिरहेकी हुन्। एपीएफ र नेपाली महिला टिमको क्याप्टेन पनि हुन्। अहिले उहाँको पोजिसनमा खेल्ने हामीसँग तीन–चारजना खेलाडी छन् । उहाँले अहिले भनिरहनु भएको छ की म सिनियर भएकाले टिममा पर्नुपर्छ । त्यो होइन राष्ट्रिय टिममा पर्नका लागि प्रदर्शन गर्नुपर्छ । कुनै टिम प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो स्थानमा आयो भन्दैमा त्यसमा रहेका सबै खेलाडी राष्ट्रिय टिममा पर्न सक्दैनन् । अहिले महिला खेलाडीको छनोट हाइट, एज र प्रदर्शन हेरेर भएको छ । जसले गर्दा विनिता पर्न सकिनन् । नेपालमा हुन लागेको साग गेम्सका लागि आफू टिममा पर्नै पर्छ भन्ने विनिताको कुरा नयाँ खेलाडीका लागि अन्यायको कुरा हो । उहाँलाई अझै पनि खेल्ने इच्छा छ भने उहाँले अझै पनि आफूलाई उत्कृष्ट प्रदर्शन गरेर सिद्ध गर्नुपर्छ ।
मञ्जु गुरुङ किन टिममा नपरेको त ?
मञ्जु गुरुङले पनि अनुशासन उल्लंघन गरिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा एउटा खेलमा सहभागिता जनाएर हङकङ गइन् । जब कुनै खेलाडीले छनोट प्रक्रिया पुरा गर्नका लागि खेल नै खेल्दैन भने कसरी छनोटमा पास गराउने ? छनोट हुनलाई प्रतियोगिता त खेल्नु पर्यो नि। खेल नै नहेरेर म नेपालको क्याप्टेन, भाइस क्याप्टेन भन्दैमा राष्ट्रिय टिममा पर्ने भन्ने कुरा हुँदैन।