नेपाली कांगेसका केन्द्रीय सदस्य प्रदीप गिरी पार्टीभित्र र बाहिर बौद्धिक र अध्ययनशिल नेताका रुपमा परिचित छन्। पार्टीका जागरण अभियानका क्रममा जनकपुरमा रहेका नेता गिरीसँग देशका राजनीति, सरकारका क्रियाकलाप, जागरण अभियानलगायत समसामयिक विषयमा स्पेसखबकर्मी रोहित महतोले गरेको कुराकानीको सम्पादित अंश :
देशको राजनीति कतातिर गइराखेको देख्नुहुन्छ ?
गणतन्त्र घोषणा र संविधान सभामार्फत् संविधान जारी भएपछि सबैले देश सही दिशामा जाने आशा गरेका थिए। जनताले सरकारबाट विगतदेखि नै भोग्दै गरेका समस्या समाधान हुने आशा गरेका थिए। एकआपसमा झगडा, लडाइँ, जनयुद्ध, संविधान लेख्ने जुन विवाद थिए ती सबै टुङ्गो लागिसकेको अवस्थामा सरकार कांग्रेसले सुरु गरेको जागरण अभियानझैँ जनताका पीरमर्का बुझ्न गाउँ–गाउँमा जानुपथ्र्यो। तर सरकारले अहिले जमिन नै छोडिसकेको छ। पानीजहाज ल्याउने, मोनो रेल ल्याउने, वाइडबडीका काल्पनिक कुरामा जनतालाई भुलाउन खोजिरहेको छ। यी नेपालका लागि उपयुक्त जनमुखी कार्यक्रम होइनन्। त्यसैले जनता निराश भएका छन्। जनता निराश भएपछि सिके राउत, विप्लव लगायतका शक्तिहरूको बहकावमा लाग्छन्। यसले के देखाउँछ भने गण्तन्त्र कमजोर हुने अवस्थामा छ।
दुई तिहाईको कम्युनिष्ट सरकारलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
दुई तिहाइको सरकार भएपछि तुरन्तै जे चाह्यो त्यहीँ गर्न सक्दैन। जुनसुकै सरकारले संविधानअनुकुल काम गर्ने हो। दुई तिहाइको सरकारले दुनिया बदलिदिने भन्ने पनि होइन। तर सरकारले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा ढुक्क भएर जसरी काम गर्नुपथ्र्यो त्यो गरिरहेको छैन। यिनीहरू झुटमुठका अनावश्यक विवादमा फसेका छन्। अस्ति प्रचण्डले भनेका थिए– सरकार १५ दिनमा ढल्छ, ओलीले मजाक गरे ७ दिनमै ढल्छ। यसको मतलब यिनीहरू आपसमा लड्दैछन्। जनताका समस्याप्रति वास्ता गरिराखेका छैनन्।
सरकारले ल्याएको बजेटचाहिँ कस्तो लाग्यो तपाईंलाई?
सबैभन्दा पहिला यो सरकार नेता, मन्त्री र प्रधानमन्त्रीको मात्र रहेको देखिन्छ। जनतालाई खास के चाहियो, के आवश्यकता छ बुझ्नुपर्ने हो। नेपाली जनता निकै सरल छन्। गाउँ गाउँमा प्राथमिक उपचारको राम्रो व्यवस्था, सरकारी विद्यालयमा राम्रो पढाई, कम्प्युटर शिक्षा, अंग्रेजीको स्तर उन्नती, विज्ञान तथा प्रावधिक पढाइमा जोड दिनुपर्ने उनीहरूको चाहना छ। अहिले दैनिक हजारौं व्यक्ति विदेश गइराखेका छन्। उनीहरू विदेशमा खराबभन्दा खराब काम गर्न बाध्य छन्। अहिले तिनीहरूलाई विदेश जानबाट रोक्न नसके पनि कम्तीमा प्राविधिक शिक्षा दिन सके केही सीप हातमा लिएर विदेश जान्छन्। त्यसकारण आजको दिनको पहिलो काम भनेकोे विदेश गएकालाई स्वदेश फर्काउनु पर्छ। त्यसका लागि वृहत रोजगार योजना ल्याउनुपर्छ। यी विषयमा सरकारको ध्यान गएको छैन। अनाबश्यक कुरामा समय बिताइरहेको छ।
तपाई मधेशबाटै प्रतिनिधित्व गर्नुहुन्छ। मधेसको राजनीतिलाई कसरी नियाली राख्नुभएको छ?
मधेसबाट जनताले धेरै आशा राखेका छन्। मधेसका समस्या मधेसकै समस्या मात्र होइन। मधेसका नेताहरूले मधेशका हकहितका कुरा बुझ्नुपर्छ। मधेस रहेमात्र नेपाल रहन सक्छ। शरीरको एउटा अंगमा क्यान्सर लागे मानिस बाँच्न सक्दैन। त्यसकारण नेपाली राष्ट्रियता रक्षाका लागि मधेसलाई न्याय दिनुु जरुरी छ। यसो गर्न सकिएन भने देश अपांग हुन्छ। अहिले मधेसलाई गणतन्त्र रक्षाको साँचोको रुपमा मैले बुझ्छु। मधेस ठीक रहे देश ठीक रहने हो।
तर कांग्रेसको सरकार भएको बेला पनि मधेस ठीक थिएन नि? काँग्रेस सरकारले पनि मधेसलाई उपेक्षा गरेका होइन?
मधेस आन्दोलनमा कांग्रेसको पनि उत्तिकै योगदान रहेको छ। त्यसकारण मधेसप्रति काँग्रेसले सहानुभूती नराखेको होइन। तर आजको दिनमा जति मधेसवादी भए पनि शासनको जुन संयन्त्र हो त्यसमा पुरा निजामती, न्यायीक सेवा, सेना, गुप्तचरमा गैरमधेसी हावी छन्। उनीहरू ‘तैँ बाहुन मै बाहुन, घरको जागिर कहीँ नजाउन्’ भन्ने सोेच राख्छन्। त्यसका लागि मधेसवादी नेता मन्त्री बने पनि उनीहरूले चाहेजति काम हुन नसकेको हो। मधेसप्रति इन्साफको सबैभन्दा ठूलो कुरो हो, मधेसको स्थापना।
प्रदेश २ को सीमांकन ठीक होइन यसमा थपघट गर्नुपर्छ। संघीय राज्यको जुन मुद्दा छन् यसका लागि गजेन्द्रनारायण सिंहले धेरै पहल गरेका थिए। तर ठूला पार्टीमध्ये काँग्रेस पहिलो पार्टी हो जसले मधेसका मुद्दा उठायो। उपसभापति बिमलेन्द्र निधिले संशोधन प्रस्ताव राखेका थिए भने रामसरोज यादवले समर्थन गरेका थिए। कांग्रेस विशाल पार्टी भएकाले म यो पनि स्वीकार गर्छु केही मधेसविरोधी व्यक्ति छन्। म पूर्ण धर्मनिरपेक्षताको कट्टर समर्थक छु। तापनि काँग्रेसभित्र पनि हिन्दु राष्ट्र हुनुपर्ने कुरा उठाउँछन्। तर काँग्रेसको जनाधार अहिले पनि मधेसमै छ।
समाजवादी पार्टी संविधान संशोधनको मुख्य एजेन्डा लिएर सरकारमा छ। तर यतिका दिनसम्म संशोधन नभएपछि उसको पनि अब आलोचना हुन थालेको छ। के लाग्छ तपाईंलाई सरकारले संविधान संशोधन गर्ला?
ओली नेतृत्वको सरकारले कुनै हालतमा संविधान संशोधन गर्दैन यसमा निश्चिन्त रहनुस्। तर मलाई यो लाग्दैन कि उपेन्द्र यादव यो कुरा बुभmदैनन्। तर जबसम्म चल्छ, चल्छ। भारतमा एउटा मन्त्रीले पुरा ‘इमरजेन्सी’ सम्म इन्दिरा गान्धीलाई समर्थन गरे तर अन्तिममा गान्धी हार्ने भएपछि उनको साथ छोडिदिएका थिए। मलाई लाग्छ, उपेन्द्रजी पनि कुनै केही अप्ठेरो पर्नासाथ बहानामा सरकार छाडिदिनुहुन्छ। संघीय राज्यलाई त छाडदैनन् तर कम्युनिष्ट सरकारलाई छाडिदिन्छन् भन्ने मलाई लाग्छ । अहिले मन्त्री छन् आनन्द उठाइराखेका छन्।
प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणका बेला नेकपाका अर्का अध्यक्ष प्रचण्डले सरकारसँग भएको सहमति अनुसार सरकार फेरिन सक्ने बताएका थिए। यसलाई कुन अर्थमा लिनुहुन्छ?
मैथिलीमा भनिन्छ ‘ई फुसियाही बात छैक’ यो कुनै कुरा होइन। उनीहरू बोलिरहन्छन् प्रचण्ड र ओलीले बोलेको कुनै मतलब नै छैन। यो जनताको चासोको विषय होइन। यो बेमतलबको कुरो हो। सरकारलाई विकास, उन्नती, प्रगती र गाउँमा ध्यान छैन। यी ठूला मान्छेहरू जनताका मन भड्काउन खोज्छन्।
काँग्रेसको पहिलो चरणको जागरण अभियान कस्तो रह्यो?
धेरै प्रभावकारी भयो। यसले काँग्रेस आफैँमा पनि जागरण ल्याएको छ। विस्तारै–विस्तारै काँग्रेस जाग्दैछ
भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बनेका छन्। यसले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ?
कुनै प्रभाव पर्दैन पहिला जस्तो नीति थिए त्यस्तै रहिरहने हो। नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा हावा मात्र हो। कुनै १९/२० को फरक पर्न सक्छ तर धेरै फरक पर्दैन।