प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हक्की स्वभावका मानिन्छन् । २०७४ चैत २७ गते प्रहरी महानिरीक्षकमा बढुवा पाएसँगै उनले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्छन् । यो अवधिमा उनी विभिन्न घटनामा विवादित बने, विभिन्न कामले प्रशंसा पनि पाए, केहीमा भने पुरस्कृत पनि भए । महानिरीक्षक खनालसँग स्पेसखबरले विभिन्न विषयमा कुराकानी गरेको छ । सोही कुराकानीको अंश ।
- तपाईं महानिरीक्षक भएर आइसकेपछि प्रहरी संगठनमा के–के काम गर्नुभयो ?
प्रहरीमा अहिले आन्तरिक शुद्धीकरण गरिएको छ । जुन सफल पनि भएको छ । संगठनलाई राम्रो बनाउनेमा कुनै सम्झौता हुँदैन । मैले भन्ने गरेको छु– ‘बदनियतमा सहुलियत हुँदैन’ । त्यसकारण कहीं पनि बदनियत गर्ने काम पाइँदैन, त्यो क्षम्य हुँदैन । यो गर्नका लागि प्रहरी संगठनमा आबद्ध भइसकेपछि यसलाई मूलभूत आधार स्तम्भ मानिएको हो । म आएपछि प्रहरीमा नराम्रो मान्छे पनि छन् है भन्ने कुरा सुन्नुपर्दैन जसलाई सकारात्मक मान्न सकिन्छ । हाम्रो प्राथमिक दायित्व भनेकै अपराध रोकथाम नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा हो । यसमा हाम्रो अहम् भूमिका छ र रहन्छ पनि अपराधीको सञ्जाल पहिचान गर्ने र त्यसको जरैदेखि उखेल्ने काम भएका छन् ।
विभिन्न क्षेत्रमा हुने अपराधलाई निस्तेज पार्न सफल बनेका छौं । हाम्रो पहुँच नभएका क्षेत्रमा पनि प्रहरी पठाउने काम भएका छन् । हरेक युनिटमा एक चौकी एक मोटरसाइकल भन्ने अवधारणा ल्याइएको छ । यसरी सबै ठाउँमा साधन, स्रोत पु¥याउने काम गरिएको छ । यीसँगै जनचेतनाका माध्ययमबाट समुदायमा घुलमिल हुने अवसर सिर्जना गरिएको छ । यसका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अघि बढाइएको छ । यो अवधारणाले चौतर्फी सकारात्मक प्रभाव पारिरहेको छ ।
महिला हिंसा, बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन, साइबर अपराधका कुराहरूमा विशेष ध्यान केन्द्रित गरी कार्यक्रम अघि बढाइएको छ । सुरक्षाका लागि सीसीटीभीको प्रयोग बढाएका छौं । यसले समाजलाई सुरक्षित बनाउने र अपराध नियन्त्रण, अनुसन्धानमा सहज हुने विश्वास लिइएको छ ।
आईटीलाई सक्दो धेरै प्रयोगमैत्री बनाएर सेवा प्रवाह गरिरहेको अवस्था छ । आईटीमा त नेपालमा सँगै विदेशमा समेत प्रहरी पुरस्कृत भएको अवस्था छ ।
जसले गर्दा गैरसंवैधानिक क्रियाकलाप गर्ने समूहहरू, चाहे जुनसुकै नाममा किन नहोस् ती निष्क्रिय हुँदै गएका छन् । त्यसलाई प्रहरीले निष्क्रियसमेत पार्छ । समग्रमा अपराध जुन अवस्थामा आउँथ्यो अहिले त्यो स्थिति छैन ।
- सरकारले हालै संसदबाट पारित गरेको प्रहरी ऐनका विषयमा यहाँको धारणा के छ ?
अहिले समय सुहाउँदो किसिमको र नागरिकको अधिकार रक्षा गर्ने खालको ऐन कानुन बन्दै जानुपर्ने हो । त्यही खालको परिस्कृत ऐन नियम आएको छ । यसलाई सुरुका दिनमा केही अफ्ठ्यारापन हुन्थे भन्ने अलि बढी गुनासा थिए । किन भने त्यो चुनौती हामी सबैले स्वीकार्यौं, सबैले ग¥यौं र हामी दृढ भयौं जसले कानुनी प्रावधानहरू केही परिस्कृत भएका छन् । वास्तवमा नागरिकको पहिला थुन र सुन भन्ने थियो भने अहिले सुन र थुन भन्ने छ । मलाई के लाग्छ भने यो कानुन आइराख्दा पनि केही अफ्ठ्यारा प्रावधानहरू छन् हामीबीच । यी कुराहरू हुँदा–हुँदै पनि नागरिकका अधिकारहरू भनेको सर्वोच्चता हो । त्यसलाई चाहिँ व्यवस्थापन गर्ने काम गर्नुपर्छ र मानवअधिकार संरक्षण गर्ने काम पनि हाम्रो हो । झन् नेपाल प्रहरीले त अग्रणी भूमिका निभाउनैपर्छ । यस (ऐनका विषय) मा राम्रो नै आइरहेको छ ।
पहिले कहाँनेर अपराध हुन्छ भन्ने कुराका अध्ययन विश्लेषण हुनुप¥यो । अनि त्यो ठाउँ पहिचान गर्नुप¥यो र निश्चित अपराधीको पहिचान गरी अघि बढ्नुप¥यो । अनुमानका भरमा अघि बढ्नु भएन । यदि यस्तो भए यो सबैका लागि घातक बन्न जान्छ । ऐनको मनसाय पनि यही हो । नेपाल प्रहरी सरकारले ल्याएको ऐन कार्यान्वयनमा कटिबद्ध छ ।
अहिले हामीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै लोकप्रिय भइरहेको छ । वास्तवमा कुनै पनि मुलुकले यो सिद्धान्त हेर्दा पनि हुन्छ । म यति दाबी साथ भन्नसक्छु । यसले नै प्रहरीको पहुँच समुदायबीच हुन र अपराध नियन्त्रणमा सहज हुनेमा ढुक्क छु । हामीले हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको छ । यो जुन फौजदारी संहितासँगको छ, फौजदारी संहिता ऐनले कानुन बुझेको हुनुपर्छ । हिजो भएका कतिपय कसुर (नजिर) कानुनमा परिणत भएका छन् । यो पनि नागरिकले बुझ्न आवश्यक छ । हामीले नागरिकलाई दुःख दिने होइन, सजग भने गराउने हो । जसले बदनियत गर्छ त्यसलाई भने कदापि क्षमा हुँदैन ।
- प्रहरीमा हुने सरुवा-बढुवामा असन्तुष्ट बढिरहेको छ । भरखर मात्र भएको डीआईजी बढुवामा पनि असन्तोष देखियो, कनिष्ठलाई बढुवा, वरिष्ठलाई पाखा लगाइयो भन्ने विषयमा यहाँको धारणा के छ ?
यो असन्तुष्टि देखाउने बहाना मात्र हो । हामी सबै कानुन र नियमावली मातहत रहनैपर्छ । कनिष्ठलाई बढुवा भएको भन्ने कुरा गलत हो । वरिष्ठलाई नै बढुवा गरिएको हो । हल्ला मात्र धेरै गरिएको हो । सर्वोच्चको आदेशअनुसार खाली दरबन्दी ३ महिनामा पूर्ति गर्नुपर्ने भएकाले पनि हामी अघि बढेको हो । अर्को कुरा नियमावलीमा जसले जसको मूल्यांकनअनुसार अघि छ उसकै नम्बर अगाडि रहन्छ नै । कार्यक्षमता मूल्यांकनका आधारमा नियमावलीमा राखिसकेपछि त्यो कार्य क्षमतालाई मान्न हुँदैन भन्ने कुरा त रहेन । भएको दरबन्दी संख्या त एउटा मात्रै हो, एउटामा दुईवटा गर्न त सकिँदैन त्यसमा स्वभाविक बढुवा भएको हो । प्रहरीमा नीति, नियमसंगत नै सरुवा–बढुवाको प्रक्रिया अघि बढाइन्छ । यसमा कसैले शंका नगर्दा हुन्छ ।
- विभिन्न दुर्गम जिल्लाहरूमा प्रहरीको खाना, बस्नको समस्या आइरहेका छन् । विनाभवन कार्यालाय सञ्चालन भइरहेका छन् । ड्युटीमा रहेका प्रहरीहरूले आधारभूत आवश्यकता पनि पाएका छैनन् यसको सम्बोधन कसरी भइरहेको छ ?
यसमा हामी निकै चिन्तित पनि छौं । अर्को कुरा यसमा सबैभन्दा ठूलो पहल पनि भइरहेको जानकारी गराउन चाहन्छु । म आएको दिनदेखि नै पहिलो प्राथमिकतामा उनीहरूको ब्यारेक, उनीहरूको शौचालयमा मेरो ध्यान गएको छ । पहिलेको तुलनामा अहिले हामी बस्ने अफिस, शौचालयहरू सफा भएका छन् । भवन नभएका सबै ठाउँमा बजेट पठाउने काम भएका छन् । एकैचोटि काम अघि बढाइएका छौं । पछि गरौंला भनेका छैनौं । प्राथमिकताका आधारमा तत्काल पहल गरेका छौं । चाँडै समस्या समाधान होला भन्ने अपेक्षा राख्न सकिन्छ । अहिले धेरै ठाउँमा कार्यालयहरू बनाइसकेका छौं । भवनसँगै शौचालय निर्माणमा पनि विशेष जोड दिएका छौं । हामीले १ वर्षको अवधिमा धेरै निर्माणका काम पनि गरिसकेका छौं ।
- पछिल्लो समय हत्या शृंखला बढिरहेका छन् । बाजुरा, पाँचथरलगायत जिल्लामा त्रास छ । निर्मला हत्याकाण्ड यत्तिकै सेलायो । हत्या घटनाका दर पनि बढिरहेको छ । प्रहरीले के गरिरहेको छ ?
हत्या कस्तो भन्ने हुन्छ । अपराध भएपछि धेरै अपराधी समातिएका छन् केही अनुसन्धानकै क्रममा छन् । पाँचथरकै कुरा भन्ने हो भने हत्यारा उही हो । जसले आफैं आत्महत्या ग¥यो । अब अर्को अपराधी कहाँ खोज्ने ? अपराधी नै मरिसकेपछि उसलाई जिउँदो बनाउन त सकिँदैन । यसमा के गर्ने भन्ने नै भयो । प्रमाण संकलन गरी जाँदा भेटिएको मान्छे उही हो तर आत्महत्या गरिसकेपछि हामीले थप गर्ने त केही हुँदैन । तर, समाजमा अमनचयन कायमका लागि भने निरन्तर गस्ती तथा प्रत्यक्ष उपस्थिति पनि जनाइरहेको अवस्था छ । अरु घटनाका सन्दर्भमा पनि नेपाल प्रहरी ९६ प्रतिशत अपराधी पत्ता लगाउन सफल भएकै हो । एकाध घटना छन् त्यसमा पनि विशेष किसिमका परिस्थिति निर्माण भए, त्यसमा गलत कुराहरू पनि भए हामीले एक्सन लिएका छौं । मुख्य कुरा निष्ठा हो प्रहरीले निष्ठापूर्वक काम गरिरहेको अवस्था छ । काम गर्ने क्रममा विश्वासको वातावरणमा काम गर्नुपर्छ । मलाई लाग्छ अहिले सबैमा विश्वास पनि छ ।
- नेत्रविक्रम चन्द (विप्लव) का विषयमा प्रहरीले के सोचिरहेको छ ?
काम असंवैधानिक, गैरकानुनी क्रियाकलाप भइरहेका छन् । नेपाल सरकारले अहिले प्रतिबन्धसमेत लगाएको अवस्था छ । सञ्चालन भइरहेको विध्वंशात्मक क्रियाकलाप पूर्ण रुपमा रोकिनुपर्छ । हामी यसमै दृढ छौं, रोक्छौं । धेरै कुराहरू रोकिएको पनि छ अस्तिको विस्फोटमा पनि केही आइसकेको कुरा हो । बाहिर आउन सकेको अवस्था पनि छैन नि । विप्लवका विषयमा धेरै सोचेर बस्नुपर्ने, भयावहको अवस्था पनि होइन । उनीहरूको मनस्थितिको विषय हेर्दा पनि बम बनाउँदा–बनाउँदै ज्यान गुमाउनुप¥यो । तर, हामी सुरक्षाका विषयमा पूर्ण प्रभावकारी रुपमा अघि बढेको अवस्थामा छौं ।
- कारागारमा पुस्तकालय अभियान कहाँ पुगेको छ ?
यो समुदाय–प्रहरी साझेदारी कार्यक्रमअनुसारै सञ्चालन भएको हो । कतिपय ठाउँमा सबैलाई हामीले राखेका छौं । कारागार सुधारका कार्यक्रम पनि राखेका छौं । कारागार सुधारका लागि के गर्ने भन्ने विषय पनि छ । कहीं योग होला, कहीं पुस्तकालय, कहीं सीपमूलक काम, चलाएका छौं । सजाय भुक्तान गरी कारागारबाट समाजमा बस्न आउँदा सज्जन भएर आओस् भन्ने अभिप्राय हो । कारागार बसेको व्यक्ति झन् बढी अपराधी भएर आउनु भएन, सम्पूर्ण रूपमा सज्जन होस्, अब अपराध गर्नु हुँदैन है भन्ने मनसाय होस् भनेर विभिन्न कार्यक्रम बनाइएको हो । यो त सरकारसँगै नागरिक समाजको सहकार्यमै काम गरिरहेको अवस्था हो ।