मधेशकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व आलोपालो प्रणालीमा चल्दै आएको छ। गत वर्ष एकीकरण हुँदा २–२ महिना आलोपालो नेतृत्वमा सहमति बनेको थियो। एक वर्षभित्रै महाधिवेशन गर्ने सहमतिका साथ पार्टी एकीकरण गरिए पनि महाधिशेन भने पर सर्दै आएको छ। यसअघि अध्यक्ष रहेका शरतसिंह भण्डारी संयाेजक रहेकामा जेठ ६ देखि अनिल झा पार्टीको संयोजक भएका छन्। पार्टीले आगामी कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ। झासँग पार्टीका रणनणीति, संसदमा भूमिका र महाधिवेशनको सेरोफेरोमा रहेर गरेको कुराकानीको सम्पादित अंश :
अबको पार्टीको रणनीति के हो ?
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजक दुई–दुई महिनामा चक्रीय प्रणालीअनुसार हुने कुरा यअसघि नै स्थापित मान्यता र विधानमा लेखिएको कुरा हो। मैले २ महिनामा यसलाई कुशलतापूर्वक निर्वाह गरेर पार्टीको साख माथि उठाउन काम गर्छु। राजपाको मूल कार्यभार भनेकै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्ने हो। त्यसका लागि हामीले महन्थ ठाकुरजीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिसकेका छौं। उहाँलाई मैले सहयोग गर्छु।
दोस्रो कुरा पार्टीका नियमित काम छन्। सरकार अहिले संसदमा एकतन्त्रीय शासनको रुपमा अघि बढ्न खोजेको छ। त्यसलाई सच्याउन प्रतिपक्षी दलको हैसियतले संसदमा भूमिका खेल्नुपर्ने छ। तथापि अझै राजपाले संविधानलाई स्वीकार गरेको छैन। तर संघीयता, धर्मरिपेक्षता, सामाजिक न्याय, लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार रक्षा लगायतका विश्वव्यापी लोकतान्त्रिक मूल्य मान्यता छन्। तिनलाई कसरी रक्षा गर्ने भन्ने विषयमा राजपा नेपाल केन्द्रीत छ। समानताको अधिकारका लागि मधेस आन्दोलन भयो। ती आन्दोलनका उपलव्धी रक्षा गर्नुपर्छ भन्ने अभियानमा हामी छौं।
संसदमा सरकारको रवैयाप्रति राजपा नेपालको धारणा के हो ?
राजनीतिक मुद्दा लिएर अघि जानुपर्ने जिम्मेवारी राजपा नेपालको काँधमा छ। पार्टी महाधिवेशन पनि गराउनु पर्ने अर्को ठूलो जिम्मेवारी पनि छ। हामीले एक वर्षभित्र महाधिवेशन गर्नेगरी एकता गरेका थियौं। २ वर्ष पुग्दा पनि महाधिवेशन गर्न सकेका छैनौं। हामीले सडकमा गर्नुपर्ने कार्यक्रमलाई समन्वय गर्दै सदनमा पनि आन्दोलन गर्ने तयारीमा छौं। अहिले पार्टीको महाधिवेशन र सडक आन्दोलनलाई कसरी समायोजन गर्ने भन्ने विषयमा हामीबीचमा बहस भइरहेका छन्। अब बस्ने अध्यक्ष मण्डलको बैठकमा यस विषयमा छलफल हुन्छ।
संविधान संशोधन र रेशम चौधरी प्रकरणमा राजपाको अबको धारणा के हो ?
रेशम चौधरी राजपा नेपालका निर्वाचित सांसद् हुनुहुन्छ। उहाँलाई राज्यले मुक्ति दिनुपर्छ भन्ने हाम्रो मान्यता छ। मधेस आन्दोलनका कारण रेशमजी सहित अरु पनि साथीहरु थुनामा हुनुहुन्छ, केही घरमा बस्न नसक्ने अवस्थामा हुनुहुन्छ उहाँहरु सबैको समस्या समाधान होस भन्ने लक्ष्यमा छौं। हामीले यसका लागि सरकारलाई ‘प्रेसर’ दिने काम गरिरहेका छौं। लोकतन्त्रमा सरकारलाई प्रेसर दिने हाम्रा माग सम्बोधन गराउन बाध्यपार्ने बाहेक अरु विकल्प त हुँदैन।
संविधान संशोधन दुई तरिकाबाट हुन्छ। आन्दोलनबाट नयाँ संविधान बन्छ या संसदमा दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन हुन्छ। दुई तिहाई बहुमत हामी आफैसँग छैन। त्यति संख्या पुर्याउने संसदीय गणित भएको दलले संशोधन गर्ने इच्छा नै देखाएको छैन। संविधान संशोधनका लागि कि त हामीले दुई तिहाई पुग्ने दललाई मनाउन सक्नु पर्यो या आन्दोलन गर्न। मनाउन असफल जस्तो देखिएकाले अर्को विकल्प भनेको दबाब नै हो। त्यसका लागि पहिला हामीले व्यापक छलफल आवश्यक छ।
संसदमा सरकारले पेल्दै लगेको छ, प्रतिपक्षी दलको नाताले कांग्रेससँग सहकार्य हुन्छ ?
संसदमा सहकार्य विषयमा कांग्रेसले प्रष्ट पार्नु पर्ने हुन्छ। केही कुराहरु हामीले पनि कांग्रेसलाई प्रष्ट पारेर अघि बढ्नुपर्ने हुन सक्छ। तर अहिलेसम्म कांग्रेससँग संसदीय अभ्यासमा सहकार्य गर्ने विषयमा कुनै पनि गृहकार्य वा वैठकसम्म पनि भएको छैन। तर समय सन्दर्भले अत्यन्तै कहिल्यै पनि नमिल्ने पार्टीहरुलाई एक ठाउँमा ल्याउँदो रहेछ। त्यसैले राजपा नेपालले कांग्रेससँग सहकार्य गर्ने विषयमा सोच्ने काम शुरु भएको छ।
संसदमा आउँदै गरेका तीन वटा विधेयक प्रति राजपा नेपालको धारणा के हो ?
राजपाले संसदमा आउन लागेका तीन वटा विधेयकका बारेमा विज्ञप्ति जारी गरेर नै विरोध जनाइसकेको छ। राष्ट्रिय सुरक्षा परिषद्मा सेना परिचालन गर्ने सन्दर्भ, राष्ट्रिय मानवअधिकार आयोग र प्रेससम्बन्धी आएको विधेयक अहिलेकै अवस्थामा पारित हुन दिन्नौं। लोकतान्त्रिक मूल्यमान्यता बोकेका देशहरुले यस्ता विधेयक पारित गर्न सक्दैनन्।
अब तोकिएको कार्तिक २८–३० मा महाधिवेशन हुन्छ भन्ने आधार के हो ?
राजनीतिक पार्टीहरुले एउटा योजना बनाउँछन्। तर आफूले बनाएको योजना अनुसार चल्न पाउँछ, पाउँदैन भन्ने कुरा उसको आफ्नै हातमा हुँदैन। किनभने यो एउटा ट्राफिकजस्तै हो। जस्तो हामीले घरबाट कतै हिँडदा यति समयमा त्यहाँ पुग्छौं भनेर टाइम सेट गरेर हिँड्दा त्यहाँ ट्राफिक जाम छ भने समय त लाग्छ नि। त्यसैले राजपा गठन गर्ने बेलामा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्छौं भन्ने समय तय गरिएको थियो। त्यसपछि स्थानीय तहको निर्वाचन भयो। त्यसमा जाने कि बहिष्कार गर्ने भन्ने कुरा भयो। त्यसपछि संघीय संसदको निर्वाचन भयो, समानुपातिक सांसदहरु चयन गर्नुपर्ने भयो, यी विविध कारणले हाम्रो महाधिवेशन तोकिएको समयमा हुन नसकेको हो। राजनीतिक दलले समाजभित्र काम गर्नुपर्ने भएकाले प्रकृति, देश समाज सबैलाई मिलाएर अघि बढ्दा ढिला भए पनि अब कुनै भवितव्य नपरे कात्तिकमा महाधिवेशन हुन्छ। त्यसका लागि जेठ १० भित्र साधारण सदस्यको नामावली टुंग्याउने गरि काम गरिरहेका छौं।
तपाईंहरु र समाजवादी पार्टीबीच एकताको कुरो पनि छ, कहाँ पुग्यो यसको प्रक्रिया ?
यसको पहल राजपाले गरेको होइन। तत्कालिन संघीय समाजवादी फोरम र अहिलेको समाजवादी पार्टीले गरेको हो। उसले पत्राचार गरेर राजपालाई एकीकरणका लागि पहल गरेको हो। त्यस्तो पत्राचार दुई चरणमा भयो र वार्तामा बस्ने कुरा भएको थियो। त्यसबीचमा समाजवादी पार्टीले नयाँ शक्तिसँग एकीकरण गरेपछि नयाँ परिस्थिति सृजना भयो। त्यसपछि वार्ता अगाडि बढेको छैन। राजपाले वार्ताका लागि राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरिसकेको छ। हाम्रो लक्ष्य भनेको समाजवादी पार्टीसँग मात्रै होइन विचार मिल्ने वा एकता चाहने जोसुकैसँग एकता तथा मोर्चावन्दी गर्ने हो। त्यसका लागि समितिले काम गरिरहेको छ। मलाई विश्वास छ समितिले यसमा सफलता पाउला।