मानिसको मुटु र मष्तिष्क हरपल सक्रिय रहन्छन्। सुत्दासमेत दुवै अंग सक्रिय रहन्छन्। मानिसको मष्तिष्कमा प्रतिदिन ६० हजार विचार उत्पन्न हुने विश्वास गरिन्छ। मृत्युका बेला मष्तिष्कले के सोच्छ भनेर वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्।
मष्तिष्कले के सोच्छ भन्नेबारेमा अमेरिकन केमिकल सोसाइटीले एक भिडियो पनि सार्वजनिक गरेको छ। उक्त भिडियोमा आक्रमणका बेला शरीर, विशेषगरी मष्तिष्कमा हुने रासायनिक परिवर्तनका बारेमा जानकारी दिने प्रयास गरिएको छ, जसबाट शारीरिक र मनोवैज्ञानिक परिवर्तनलाई बुझ्न सकिन्छ। ज्यान लिने उद्देश्यले जब आक्रमण हुन्छ, त्यतिबेला मष्तिष्कले आफैं सजग भएर बच्ने प्रयास गर्ने सन्देश मानिसलाई दिन्छ। उदाहरणका लागि यदि बन्चरोजस्तो कुनै धारिलो हतियार लिएर आक्रमणकारीले आक्रमण गर्छ भने त्यतिबेला मष्तिष्कमा विभिन्न परिवर्तन हुन्छन् र मष्तिष्कका कयौं भाग एक साथ सतर्क हुन्छन्। दिमाग केही बेरका लागि खाली पनि हुन सक्छ। तर, फेरि गहिरो पीडा महसुस हुन्छ, मुटुको धड्कन बढ्छ र दिमाग तुरुन्त सक्रिय भएर मानिसलाई सचेत गराउछ र शारीरिक उर्जा एकजुट भएर बचाउको प्रयास गर्छ।