जापान अर्बपति योसाकू मेजावा चन्द्रमामा जाने पहिलो पर्यटक हुने भएका छन्। यसका लागि उनले गत सोमबार रकेट निर्माता कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी एलेन मस्कका साथ सम्झौता गरेका छन्।
क्यालिफोर्नियामा आयोजित कार्यक्रममा मस्कले सन् २०२३ सम्म पर्यटक बोकेर स्पेसएक्सको यान चन्द्रमामा प्रस्थान गर्ने बताए। यसअघि सन् १९७२ मा अपोलो मिसनमा मानिस चन्द्रमामा पुगेका थिए।
चन्द्रमामा पर्यटक बनेर जाने घोषणा गरेका मेजावा जापानका प्रख्यात आर्ट कलेक्टर हुन्। उनले आफू बच्चा हुँदादेखि नै चन्द्रमामा जाने सपना पालेकोमा अब त्यो पूरा हुन लागेको बताए । तर चन्द्रमामा जान मेजावाले कति रकम तिर्ने हुन् भन्नेबारे भने सार्वजनिक गरिने छैन।
मानव यान पठाउनुअघि थुप्रै परीक्षण उडान गरिने स्पेसएक्सले जनाएको छ।
मेजावाले आफूसँगै अन्य ८ जना व्यक्ति पनि चन्द्रमामा लैजाने र ती सबै कलाकार हुने बताएका छन्।