जापानका वैज्ञानिकले निर्माण गरेको ‘अन्तरिक्ष लिफ्ट’ यसै महिना परीक्षण गरिने भएको छ। यो प्रविधिलाई परीक्षण गर्न सानो आकारको भूउपग्रह प्रक्षेपण गरिनेछ। जापानको सिजुओका विश्वविद्यालयका अनुसन्धानकर्ताले निर्माण गरेको अन्तरिक्ष लिफ्टलाई जापानको स्पेस एजेन्सीले दक्षिणी टापु तानेगासिमाबाट आगामी साता एच–टुबी रकेटबाट प्रक्षेपण गरिनेछ।
सानो खालको लिफ्ट एउटा ६ सेन्टिमिटर लामो, ३ सेमि चौडा र ३ सेमि अग्लो बाकसमा रहनेछ। सबै कुरा योजनाअनुसार अगाडि बढ्ने हो भने अन्तरिक्षमा दुई साना भूउपग्रहका बीच १० मिटरसम्म केबल लगाउन सकिनेछ। यसबाट लिफ्टले यात्रा गर्नेछ। यसका साथै दुवै साना भूउपग्रह एक अर्कासँग राम्ररी सम्पर्कमा रहन सक्नेछन्।
अन्तरिक्ष लिफ्टको सबै गतिविधि निगरानी गर्न एक स्याटेलाइटमा एउटा क्यामरा पनि जडान गरिनेछ । अन्तरिक्षमा लिफ्ट प्रयोग गर्नका लागि यसलाई सुरुवाती प्रयोग मानिएको छ। अन्तरिक्षमा लिफ्टको आइडिया भने सन् १८९५ मै रुसी वैज्ञानिक कन्स्टन्टान्टिन तासिल्कोभास्कीले दिएका थिए। फ्रान्सको आइफिल टावर देखेपछि यो विचार मनमा आएको उनले बताएका थिए। त्यसपछि लेखक आर्थर कोनान डायलले पनि यसबारे लेखेका थिए।
जापानको निर्माण कम्पनी ओबायाशीले मानिसलाई पनि अन्तरिक्षमा पठाउने लिफ्ट बनाउने तयारी गरेको छ। यो कम्पनीले सन् २०५० सम्ममा लिफ्टबाट अन्तरिक्षमा मानिस पठाउने लक्ष्य राखेको छ। अन्तरिक्ष लिफ्ट बनाउन कार्बन न्यानोट्युब प्रविधिको प्रयोग गरिनेछ। कार्बन निकै हल्का र स्टीलभन्दा २० गुणा मजबूत हुने बताइएको छ।