बेलायतमा हरेक वर्ष करिब ५० लाख मेट्रिक टन प्लास्टिकजन्य फोहोर निस्कन्छ। त्यसमध्ये एक तिहाईभन्दा पनि कम रिसाइकल हुँदैन। यसबीच, बेलायती कम्पनी पावर हाउस इनर्जीले ती फोहोरबाट इन्धन बनाउने घोषणा गरेको छ। यस्तो इन्धन हाइड्रोजन कारका लागि प्रयोग हुनेछ।
उक्त कम्पनीका अनुसार यस्ता फोहोरलाई स–साना टुक्रा पारेर करिब १८०० डिग्री तापमानमा पगालिन्छ। यसबाट सिन्थेटिक ग्यास उत्पादन हुन्छ। यस्तो ग्यास हाइड्रोजन, मिथेन र कार्बनमोनोअक्साइडको मिश्रण हो।
प्लास्टिकबाट निकालिएको सिन्थेटिक ग्यास बालेर बिजुली उत्पादन गर्न सकिन्छ अथवा यसबाट हाइड्रोजनलाई अलग गरेर सवारीसाधनको इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ।
ब्याट्रीबाट चल्ने कारको तुलनामा हाइड्रोजन इन्धनयुक्त कारका दुई फाइदा हुन्छन्। एउटा, कार लामो दूरी सम्म चलाउन सकिन्छ भने अर्को, इन्धन भर्न धेरै समय लाग्दैन। जबकि, ब्याट्री चार्ज गर्न घन्टौं लाग्छ।
बेलायतमा हाइड्रोजन इन्धनका स्टेशन २० भन्दा कम छन्। जापानले सन् २०२५ सम्ममा सडकमा २ लाख कार हुने र ३२० स्टेशन हुने अपेक्षा गरेको छ। वातावरणवादी संस्थाका अनुसार हाइड्रोजन सवारीसाधनले पारम्परिक सवारीसाधनले भन्दा ३० प्रतिशत कम कार्बन उत्सर्जन गर्छ। पावरहाउस इनर्जी कम्पनीले बेलायतका ११ स्थानमा प्लास्टिकबाट इन्धन बनाउने तयारी गर्दैछ।