सरकारले चालु आवमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० चार्जिङ स्टेसन बनाउने भएको छ । विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्य साथ चार्जिङ स्टेसन निर्माणमा विशेष जोड दिइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आवको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम समावेश छ । सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३ सय विद्युतीय बस खरिदका लागि ३ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ ।
यस्तै प्रदेश ३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । चार्जिङ स्टेसनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । त्यस्ता स्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बोलपत्रको काम पनि सुरु भएको छ ।
प्राधिकरणका अनुसार अहिले १३ चार्जिङ स्टेसन सञ्चालनमा छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने लक्ष्य साथ चार्जिङ स्टेसन निर्माणमा विशेष प्राथमिकता दिन लागिएको हो । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको आर्कषणसमेत बढ्दै गएको छ । निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणका तर्फबाट काम सुरु भइसकेको छ । त्यसो त प्राधिकरणमा यसअघि नै चार्जिङ स्टेसन निर्माण भई सञ्चालनमा आइसकेको छ ।