दैनिक १ करोडभन्दा बढी खेलाडी । अनुमान गर्न सक्नुहुन्छ कुन खेल होला यति धेरै खेलाडीले खेल्ने ?
यो हो अनलाइन गेम पबजी अर्थात् प्लेयर्स अन्नोन ब्याटलग्राउण्ड । सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम १ वर्षमै विश्वभर यति लोकप्रिय भइरहेको छ कि दैनिक यसका करोडौंका खेलाडी हुन्छन् । यो सन् २००० मा निर्मित जापानी चलचित्र ‘ब्याटल रोयल’ मा आधारित छ।
दक्षिण कोरियाको ब्लुहोल कम्पनीको सहायक पबजी कर्पोरेशनले बनाएको यो अनलाइन गेम सन् २०१८ को अगष्टसम्म मोबाइलमा १० करोड प्रति डाउनलोड भइसकेको छ । ब्लुहोल कम्पनीले पबजी गेमबाटमात्रै सन् २०१७ मा मात्रै ७१ करोड २० लाख डलर कमाएको थियो । पछिल्लो समय पबजी मोबाइलका दैनिक १ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।
के हो पबजी ?
यो गेम एकल वा समूहमा पनि खेल्न सकिन्छ । एक गेममा सयजना खेलाडी हुन्छन्। व्यक्तिगत प्रतिस्पर्धा हुन्छ भने समूहमा २ वा ४ जनाको टिमबीच प्रतिस्पर्धा हुन्छ ।
यो गेममा १०० जना खेलाडी एक आईल्यान्डमा प्यारासुटबाट झर्छन्। त्यसपछि अरुलाई मार्न र आफ्नै रक्षाका लागि हतियारहरु लिन्छन्। खेल सुरु भएको २ मिनेटपछि नक्सामा एउटा सुरक्षित क्षेत्र आउँछ त्यसपछि त्यो घेरा (क्षेत्र) बिस्तारै सानो–सानो हँुदै जान्छ । खेलाडीहरु अरुलाई मार्दै अगाडि बढ्दै जान्छन् र अन्तिममा जो खेलाडी वा टोली बाँकी रहन्छ, उसले जित्छ।
पहिलोपटक यो गेम २०१७ मार्चमा माइक्रोसफ्ट विन्डोजमा प्रकाशन गरिएको थियो। त्यसको केही महिनामा माइक्रोसफ्ट स्टुडियोले एक्स–बक्स वानमा पनि प्रकाशन ग¥यो। केही महिनापछि चीनको टिनसेन्ट गेम्स नामक कम्पनीले स्थानीयकरण गरी एन्ड्रोईड र आइओएस २ मोबाइल संस्करणमा निकालेको थियो।
कम्पनीले केही महिनाअघि चीनबाहिर आफ्नो दैनिक प्रयोगकर्ताको संख्या १ करोड नाघेको घोषणा गरेको थियो, जुन १ सयभन्दा बढी देशमा सबैभन्दा बढी डाउनलोड भएको गेममा पर्छ । यो गेम स्टीम र एक्स–बक्समा २९.९९ डलर लाग्छ भने एन्ड्रोईड र आइओएसमा सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। अन्य गेमको तुलनामा यो गेमको बिक्री धेरै भएको निर्माण कम्पनीको दाबी छ।
प्रबिधिको विकास र बिस्तारका कारण पछिल्लो समय नेपालमा पनि यो खेलप्रतिको आकर्षण बढेको छ। संख्या यकिन नभएपनि यसका प्रयोगकर्ता नेपालमा लाखौं भएको अनुमान गरिएको छ।
अनलाइन गेमको तथ्यांक विश्लेषण गर्ने साइट स्टीमका अनुसार विश्वभर बढी खेलिने गेमको सूचीमा पबजी शीर्ष स्थानमा छ भने दोस्रो नम्बरमा डोटा टु, तेस्रोमा मनस्टर हन्टर ः वल्र्ड छ । डोटा टुका खेलाडीको संख्या दैनिक ५ लाखभन्दा बढी छ ।
(विभिन्न एजेन्सीको सहयोगमा)