तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन् ।
५० अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो । रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई 'खतरनाक' भनेका थिए ।
निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकालेका छन् । एक जना निर्माताले ट्विटरमा लेखेका छन्, "यसको दुरुपयोगको सम्भावना धेरै बढी छ। हामी यसरी पैसा कमाउन चाहदैनौँ।"
एप किनेकाहरूले पैसा फिर्ता पाउने र अब यसपश्चात् सो एपको कुनै नयाँ प्रारूप नबनाउने उनीहरूले बताएका छन् । उनीहरूले यो एप भएका मानिसहरूलाई त्यो सेयर नगर्न अनुरोध गरेका छन् ।
प्रतिशोध
निर्माता समूहले सो एप मनोरञ्जनका लागि केही महिना अगाडि बनाएको बताएका थिए । त्यसका लागि आर्टफिसल इन्टेलिजन्स अर्थात् यान्त्रिक चातुर्य प्रयोग गरिएको थियो । सफ्टवेअर वेबसाइटमार्फत् दुई भर्जनमा उपलब्ध थिए। नि:शुल्क उपलब्ध भर्जनमा निर्माण गरिएको तस्बिरमाथि ठूलो वाटरमार्क हुन्थ्यो भने किनिएको भर्जनमा एउटा कुनामा 'फेक' लेखिएको सानो छाप हुन्थ्यो ।
आफ्नो विज्ञप्तिमा निर्माताहरूले भनेका छन्, "साँच्चै भन्नुपर्दा त्यसको काम गज्जब थिएन र निश्चित प्रकारको तस्बिरमा मात्रै काम गर्थ्यो ।" मदरबोर्डमा लेख छापिएपछि एपको वेबसाइटमा आउने मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको बीबीसीले उल्लेख गरेको छ ।
मदरबोर्डसँग कुरा गर्दै रिभेन्ज पोर्नविरुद्धको अभियान ब्याडयासका संस्थापक क्याटलिन बाउडेनले सो एपलाई 'डरलाग्दो' भनेकी थिइन् । "अब कहिल्यै नग्न तस्बिर नखिचेका जो कोही पनि रिभेन्ज पोर्नबाट पीडित हुनसक्छ । यस्तो प्रविधि सार्वजनिक रूपमा उपलब्ध हुनुहुँदैन ।"